उपचारका लागि सहयोग माग्न नगरप्रमुखकोमा पुगेकी ललकुदेवीलाई मेयरले भने, गरिबलाई दिने कुनै बजेट छैन

 कात्तिक २१, २०७५ बुधबार ११:५८:१ | शुभनारायण यादव
unn.prixa.net

सहयाेग माग्दै ललकुकाे परिवार

सप्तरी – आर्थिक अवस्था कमजोर भएका कारणले सप्तरीको बोदे बर्साइन नगरपालिका–२, कि ललकुदेवी पासवान अहिले उपचारमा सहयोगको लागि हात फैलाउँदै हिँड्नुभएको छ ।

केही वर्षदेखि अल्सर, जण्डिस तथा बबासिर रोगले ग्रसित उहाँ आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसक्ने हुनुभएको हो । रोगी ललकुदेवीको मुख तथा मलद्धारबाट दैनिक रुपमा रगत बग्ने गर्छ । उहाँ छिनछिनमा बेहोस हुनुहुन्छ । उहाँ गएको ३ वर्षदेखि लहान, दरभंगा तथा विराटनगर लगायतका ठाउँहरुमा उपचार गराउँदै आउनुभएको छ ।

आफूसँग केही नभएको कारण समाज तथा नातेदारहरुसँग ऋण तथा सहयोग लिएर उपचार गराउँदै आउनुभएकी ललकुदेवीको रोग नियमित उपचार नगराएका कारण बढ्दै गएको छ । आयश्रोतको रुपमा ज्याला मजदुरी गर्दै दैनिक गजारा गर्दै आइरहनुभएकी ललकुदेवीको ४० वर्षका श्रीमान धर्मलाल पासवान पनि चारवर्षदेखि मानसिक रोगी भएका छन् । श्रीमानले मानसिक सन्तुलन गुमाएपछि उहाँ दोब्बर पीडामा पर्नुभएको छ ।

उहाँको पाँच जनाको परिवार छ । उहाँको जेठो छोरा १९ वर्षका बिक्रम आर्थिक अभावकै कारण १० कक्षामा पुगेर पढाई छाड्न बाध्य भएको उहाँ सुनाउनुहुन्छ । 
बाबुआमाको हालत दिनानु दिन बिग्रिदै गएको र उपचारको लागि कुनै उपाय नभेटिएपछि बाध्य भएर पढाई छोड्नु परेको बिक्रम पासवान सुनाउँछन् । कान्छो छोरो ५ वर्षकै उमेरमा पोलियो रोगबाट ग्रसित भएर अपाङ्ग छ ।

‘आफूले ज्यालादारीमा काम गरेर जसो तसो परिवाको २ छाक टार्ने काम गर्ने गरेको छु’, बिक्रम भन्छन्, ‘आमा निरोगी भएको बेला उहाँले सहयोग गर्नुहुन्थ्यो । तर अब त आशै छैन ।’ गहभरि आँसु बनाएका बिक्रमले आँसु पुछ्दै  भने, ‘आमाको उपचार गराउँदा गराउँदै २  लाख रुपैयाँभन्दा बढी ऋण लिइसकेको छु । अब कसैले ऋण पनि दिन मान्दैन ।’

उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा ललकुदेवीको कुरुवा भएर बस्ने  आफन्त मंगल पासवानका अनुसार बिरामीलाई उपचारको लागि लगभग ५ लाख रुपैयाँ रकम लाग्ने डक्टरले बताएका छन् । उहाँका अनुसार अघिल्लो महिना डाक्टरले भर्ना बस्नु पर्ने सल्लाह दिएको थियो तर ललकुदेवी पैसा नभएपछि भर्ना नभईकनै फर्किनु परेको थियो । 

सहयोग मिन्छ कि भनेर उहरु बोदेबर्साइन नगरपालिका समेत गएका थिए त नगरप्रमुख आतेशकुमार सिंहले गरिबहरुलाई सहयोग गर्न आफूहरुसँग कुनै बजेट नभएको बताएपछि उनीहरु निराश भएर घर फर्केका छन् ।

उहाँहरुले उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया