गच्छदारलाई उपसभापति बनाएकोमा नेता प्रकाशमान असन्तुष्ट

 कात्तिक २१, २०७५ बुधबार १२:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

नेता सिंहले पार्टी विधानको प्रावधान विपरित सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा मनोनीत गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । काठमाडौंको जोरपाटीस्थित नयाँ बस्ती युवा क्लबले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सभापति देउवाले अप्रजातान्त्रिक ढंगले आफूखुशी गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने निर्णय गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

नेता सिंहले सभापति देउवालाई पार्टीलाई विधि र विधानसम्मत ढंगले अघि बढाउन पनि चेतावनी दिनुभयो । आफूसँग बहुमत छ भन्दैमा सभापति देउवाले जथाभावी गर्दै हिँडेको नेता सिंहको आरोप छ । मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनीत गरेको थियो ।

नेता सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाएर नागरिकलाई राहत दिने र देशको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने सशक्त पार्टीको रुपमा विकास गर्न पार्टी नेतृत्वलाई दवाव दिनु परेको पनि स्पष्ट पार्नुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका सिंहले सरकारले कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भएको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया