देवकोटा भन्थे : यो चन्द्रमा कस्तो हरियो है !

 कात्तिक २१, २०७५ बुधबार १४:५८:२६ | तेजेश्वरबाबु ग्वंगः
unn.prixa.net

म लक्ष्मीप्रसाद देवकोटाको विद्यार्थी थिएँ यो सम्झिँदै मलाई गर्व लाग्छ । मेरो ठूलो भाग्यले नै यो सम्भव भएको थियो जस्तो लाग्छ ।

२०१० सालमा एसएलसी दिनलाई मैले उहाँसँग ट्युसन पढेँ । उहाँकै निवास अर्थात कविकुञ्ज डिल्लीबजार जान्थेँ म । यो अवधिमा मैले १० कक्षाका विभिन्न विषय मात्र होइन, जीवनका धेरै कुरा सिक्न पाएँ भन्ने लाग्छ ।

दक्षिणतिर फर्किएको कोठा थियो कविकुञ्जमा जहाँ हामी ट्युसन पढ्थ्यौँ । उहाँ साह्रै राम्रा अक्षर लेख्नुहुन्थ्यो । अक्षर म पनि राम्रा लेख्छु तर उहाँका अक्षर अझै राम्रा । ब्राह्मी लिपिमा चिटिक्क परेका अक्षर आहा साँच्चै सुन्दर थिए महाकविका गोलागोला अक्षर ।  

सन्दुकका १६ वटा चाँदीका सिक्का 

मैले महाकविसँग एक महिना ट्युसन पढेँ । ट्युसन पढेपछि मैले उहाँलाई १६ रुपैयाँ दक्षिणा पनि दिएको छु । मेरो हजुरआमाले पुरानो सन्दुक खोलेर १६ वटा चाँदीका सिक्का दिनुभएको थियो । हजुरआमाले दाइजोबाट ल्याउनुभएको थियो सायद । गज्जबका ढ्याक थिए ती । ल किसाने लैजा भनेर दिनुभएको थियो मलाई  ।

ती पाउनासाथ म फुरुङ्ग भएर सिक्का बोकेर कविकुञ्ज पुगेँ । महाकविलाई ट्युुसन फी भनेर दिने आँट आएन । मैले गुरु ल यो मेरो तर्फबाट भनेर दिएँ । उहाँले त्यो हातमा लिनुभयो र ओहो मिष्टर तपाईँले त साँच्चै नै लक्ष्मी ल्याउनुभएछ भनेर सिक्कालाई ढोग्नुभयो । मलाई त्यो क्षण सम्झँदा अहिले पनि आनन्द आउँछ । हामीसँग १७ जनाको समूह थियो भक्तपुरबाट । सबैले पैसा तिरेजस्तो लाग्छ तर चाँदीको सिक्का चाहिँ मैले मात्र दिएँ । उहाँ मलाई मिष्टर भनेर बोलाउनुहुन्थ्यो । 

२००९ सालमा म उहाँलाई युवाका लागि सम्बोधन गरिमाग्न उहाँको निवास कविकुञ्ज डिल्लीबजार गएको थिएँ । त्यहाँ पुग्नासाथ उहाँले मलाई मिष्टर केका लागि आउनुभयो भन्नुभयो । मैले भक्तपुरका युवालाई सम्बोधन गरिदिन आग्रह गरेँ । उहाँले ‘हुन्छ’ भन्नुभयो । त्यसबेला उहाँसँग दुईजनाले ट्युसन पढिरहेका थिए । उनीहरु भक्तपुरकै थिए । त्यो देखेपछि मलाई पनि उहाँसँग ट्युसन पढ्न मन लाग्यो । अनि २०१० सालमा मैले उहाँसँग एसएलसीको ट्युसन पढेको हूँ ।

देवकोटा ज्ञानले मात्र होइन, धनले पनि सम्पन्न हुनुहुन्थ्यो 

उहाँले नेपाली, अंग्रेजी, साइन्स सवै विषय पढाइदिनुहुन्थ्यो । उहाँको पढाउने कला पनि अचम्मको थियो । गाली गर्ने वा घोक्न लगाउने फिटिक्कै थिएन । पढाइसकेपछि ल के बुझ्यौ भन त भनेर अन्तरक्रियात्मक बनाइदिनुहुन्थ्यो । र छुटेका कुरा सम्झाइदिनुहुन्थ्यो । उहाँ तहअनुसार पढाउनुहुन्थ्यो । भाषा र उदाहरण पनि तहअनुसार फरक हुन्थ्यो । एकदमै शालीन व्यक्तित्व थियो । अहमको लेससम्म पनि मैले पाइन । म जान्ने सुन्ने ठूलो मान्छे यत्रो वरिष्ठ कवि भन्ने केही पनि थिएन । अहिलेका ठूला भनाउँदा मानिसको ताल देख्दा म चकित हुन्छु ।

एकपटक गोपालप्रसाद रिमाल आउनुभयो । हामी पढिरहेकै थियौँ । दक्षिण फर्किएको त्यही कोठामा । रिमाल कोठाको अलि पर झ्यालमा गएर टुक्रुक्क बस्नुभयो । उहाँले मैला र झुत्रा लुगा लगाउनुभएको थियो । सुरुवाल पनि च्यात्तिएको । उहाँलाई त्यति सन्चो पनि थिएन । मानसिक समस्या थियो जस्तो लाग्छ । त्यसपछि महाकविले गोपालजी कहाँ त्यहाँ बस्नुभएको भनेर उठेर डोहोर्‍याउँदै उहाँलाई आफै बसेको ठाउँमा लैजानुभयो । 

‘कान्छा कान्छा’ भनेर घरको सहयोगीलाई बोलाउनुभयो । कान्छा आएपछि उहाँले भन्नुभयो, ‘ल गोपालजी आउनुभएको छ । आज उहाँलाई पनि यतै खाना खुवाउनुपर्छ तर गुरुआमासँग पैसा मागरे एक धार्नी खसीको मासु लिएर आइज र मीठो बनाएर पका है ।’ 

यस्तो त कत्ति हुन्थ्यो कत्ति कविकुञ्जमा । गुरुआमा पनि एकदमै उदात्त स्वभावकी । कीर्तनमा खर्च गरिरहने । त्यसै भएर पनि उहाँले कमाएको धेरै पैसा सकिन्थ्यो भन्ने लाग्छ मलाई । उहाँ दया र करुणाको त खानी नै हो । 

त्यसबेला उहाँसँग ट्युसन पढ्ने धेरै थिए । बीए पढ्ने पनि थिए । नेपालीको अंग्रेजीको र अरु विषयको पनि ट्युसन पढ्थे । यसबाट त उहाँलाई धेरै पैसा आउँथ्यो । तर उहाँले खर्चमा कुनै लोभ गर्नुभएन । उदात्त भएर खर्च गर्नुभयो धेरै नै त्यही भएर बचत भएन । 

हरियो चन्द्रमा 

देवकोटालाई पागल भनेर राँचीसम्म उपचारका लागि लगिएपछि उहाँले पागल कविता लेख्नुभयो । जसले आफूलाई नबुझ्नेहरुलाई व्यङ्ग्यात्मक रुपमा भन्नुभएको थियो । जसमा आफ्नो फरक सोचाइको बारेमा भन्नुभएको छ । 

एसएलसी सकेपछि म त्रिचन्द्र क्याम्पसमा पढ्दै थिएँ । काठमाडौंको भीमसेनथानमा कोठा लिएर बसेको थिएँ । कलेजबाट फर्किँदै गर्दा साथीहरुसँग कुरा गर्दागर्दै महाकविलाई देखेँ । नौतले दरबारको अगाडितिर नेपाल भारत पुस्तकालय थियो । जहाँँ शंकर लामिछाने काम गर्नुहुन्थ्यो । बिजुलीको खम्बामा हातले साइकल समाएर उहाँ बस्नुभएको थियो । दौरा–सुरुवाल कोट लगाए पनि उहाँ टोपी लगाउनुहुन्नथ्यो ।

मलाई देखाउँदै लामिछानेलाई सोध्नुभयो,  ‘उहाँलाई पुस्तकालयको सदस्य बनाउनुभयो ?’ लामिछानेले ‘छैन भन्नुभयो ।’ देवकोटाले ‘लु लु बनाइहाल्नुस्’ भनेपछि उहाँले तत्कालै भित्रबाट कार्ड ल्याएर सदस्य बनाउनुभयो । त्यसबेला उहाँले माथि आकाशतिर हेर्नुभयो र भन्नुभयो आज चन्द्रमा कस्तो हरियो हरियो छ है....? खासमा चन्द्रमा हरियो थिएन । तर पनि मैले होइन भन्न मन लागेन वा भनौँ आँट आएन । अनि मैले अलि सानो श्वरमा हो हो भनेँं । अहिले सम्झिँदा कुरा के रहेछ भने जब आँखा र मन मिल्छ तब जे सोच्यो त्यही देखिने रहेछ । उहाँको यो कल्पनाशीलता थियो सायद । उहाँको यस्तो कल्पना यस्तो सोच यस्तो चेत समाजका अरु मानिससँग मिल्ने थिएन । त्यही भएर कतिपयले उहाँलाई पागल भनेका रहेछन होला जस्तो लाग्छ । 

देवकोटा मेरो गुरु मात्र होइन मलाई लेखनमा डोहोर्याउने अभिप्रेरक पनि हो । उहाँकै कारण मैले लेखनमा लाग्ने अठोट गरेको हूँ भन्दा पनि हुन्छ । १० कक्षामा उहाँको निद्रा निबन्ध पढेपछि मैले सपना भन्ने निबन्ध लेखेँ । एकदिन त्यो निबन्ध लेखेर म उहाँलाई देखाउन गएँ । म भन्न सक्दिन कि मलाई त्यस्तो आँट कसरी आयो ? भादगाउँको नेवार केटो म निकै आँटिलो थिएँ भन्ने पनि लाग्छ । महाकविजस्तो अद्भूत व्यक्तिलाई भेटेर मैले भनेँ, ‘मैले तपाइको निद्रा निबन्ध पढेर यो लेखेँ, गुरु हेरिदिनुस् न ।’

उहाँले हेरेर यो भएन त्यो भएन भन्नु होला के लेखेको यस्तो भनेर गाली गर्नुहोला भन्ने डर थियो । तर अचम्म, त्यस्तो केही भएन । मैले लेखेको निबन्ध पढिसकेपछि उहाँले ‘ओहो तपाईँको कलम त सशक्त रहेछ, यसलाई नरोक्नुहोला है’ भनेर धाप पो मार्नुभयो । त्यो मेरो लागि एक दुर्लभ र अति नै आनन्दानुभूतिको क्षण थियो । त्यसपछि म लेखन कर्ममै सक्रिय हुन्छु भन्ने अठोट गरेँ । लेख्न सक्ने रहेछु भन्ने आँट पलायो । जुन कर्म म जीवनको ८४ वर्षे वयमा पनि गरिरहेको छु । मसँग भएका कुरा लेखनमार्फत नै आम मानिससम्म पुर्याउन चाहन्छु । 

- संस्कृति र सभ्यताका अध्येता ग्वंगःसँग लक्ष्मण कार्कीले गरेको कुराकानीमा आधारित 


 

अन्तिम अपडेट: कात्तिक २७, २०७५

तपाईको प्रतिक्रिया