मोहन मैनालीको ‘देखेको देश’ विमोचन

 जेठ २७, २०७५ आइतबार ९:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

पत्रकार तथा लेखक मोहन मैनालीको देखेको देश पुस्तकको विमोचन भएको छ । बिभिन्न ३६ वटा निबन्ध समेटिएको पुस्तकको शनिबार विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै लेखक तथा वनस्पति विज्ञ डा.तिर्थ बहादुर श्रेष्ठले देशका बारेमा थाहा नभएका कुराहरु जान्नका लागि पुस्तक उपयोगी रहने बताउनुभयो ।

विभिन्न ठूला विकासका आयोजना तथा निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका परिवारका भोगाईलाई पुस्तकमा मर्मस्पर्सी रुपमा प्रस्तुत गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा पुरानो पदमपुरबाट विस्थापित भएर नयाँ पदमपुरमा राखिएका परिवारले पहिलेको ठाउँका नातेदार, आफन्तबाट टाढा हुँदा चन्द्र सूर्यको प्रकाश नफेरिए पनि बाँकी सबै फेरिएको कुरालाई भावनात्मक रुपमा उठान गर्दै सामाजिक परिवेश दर्शाएको छ ।

पुस्तकले समग्र सामाजिक परिवेश, शैक्षिक अवस्था, विदेशमा भासिएकाको कथाहरु पनि उठान गरेको छ । सपनामाा देखेको रेल्वे र विपनामा हराएको सडक शीर्षकमा नेपाललाई छिमेकी देशले सपना देखाएर कसरी नचाइरहेको छ भन्ने कुरा घतलाग्दो यथार्थको रुपमा छर्लङ्ग देखाइएको छ ।  

तेह्रथुममा जन्मिएका मैनालीले पत्रकारीता गर्दा घुम्ने क्रममा देखेका र भोगेका कुरालाई लिपीबद्ध रुपमा  पुस्तकमा प्रस्तुत गर्नुभएको छ । पहाड चिरेर बनाइएका बाटोले पारेको वातावरणीय प्रभाव तथा समसामयिक विषयवस्तुलाई पुस्तकमा रोचक रुपमा उठान गरिएको छ । 

डा.श्रेष्ठले पुस्तकले हाम्रा पुर्खाहरु चिनाउने काम गरेकाले पाठकका लागि पठनीय र रोचक पुस्तक रहेको भन्दै प्रशंसा गर्नुभयो । भाषाविद शरदचन्द्र वस्तीले सहज, सरल भाषा शैली र प्रस्तुतीका कारण मैनालीका पुस्तक पाठकका लागि उपयोगी रहेको बताउनुभयो । पुस्तकमा कसैप्रति नकारात्मक आक्रोश, पूर्वाग्रह नरहेको पनि उहाँले बताउनुभयो ।

८ खण्डमा रहेको पुस्तकले पाठकलाई अपनत्व दिलाउन खोजेको भन्दै वस्तीले सवै वर्ग, लिंगका पाठकका लागि यो पुस्तक उपयुक्त रहेको बताउनुभयो । पुस्तक विमोचन समारोहमा लेखक तथा पत्रकार मैनालीले आफूले देखेको र भोगेका कुरालाई समेटेर पाठकको माझ पुस्तक ल्याएको बताउनुभयो ।

पुस्तकमा समसामयिक विषयवस्तुका साथै विकास निर्माणले पुर्याएको वातावरणीय  तथा सामाजिक असरलाई पनि केल्याउने काम गरेको उहाँको भनाइ छ । यस्तै नेपालको शैक्षिक अवस्था, यहाँको परिवेश, शासकहरुले देशमा गरेको शासन, ससस्त्र द्वन्द्वका क्रममा भएका हिंसा, पत्रकारिता र यसका आयाम, आफ्नै भोगाई र बुझाई लगायतका कुरालाई पनि पुस्तकका समेटिएको उहाँले बताउनुभयो । मैनालीको यसअघि दुईवटा पुस्तक बजारमा आइसकेको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया