गोवामा नेपाली माया

 कात्तिक २३, २०७५ शुक्रबार ७:५२:५५ | सन्जिता देवकोटा
unn.prixa.net

दसैँ लागेपछि साथीहरु आ–आफ्ना घरतिर लागे, तर  म सहित  चार साथी भारततिर लाग्यौँ । हाम्रो टोलीमा थियौँ रमा खड्का, प्रज्ञा तिमल्सिना र केपी अनमोल । अनि गन्तव्यमा थिए मुम्बई, गोवा र दिल्ली ।

२०७५ असाेज ३० गते अथवा फूलपातिको दिन । अघिल्लो दिन रात्रि बस चढेका हामी फूलपातिको दिन बिहानै भैरहवा पुग्यौँ । गोरखपुरबाट मुम्बईका लागि छुट्ने बेलुकीको रेल भेट्नु पर्ने हो । बिहानै भैरहवा पुगेकाले हतार थिएन । दिनभरि समय भएकाले हामी भैरहवा र सुनौली घुम्दै गोरखपुर जाने भयौँ ।

उसै त सधैँ भिडभाड हुने सुनौली नाका, दसैँताका भिड नहुने कुरै भएन । हामी पो दसैँ छाडेर घुम्न हिँडेका । कति परदेशी दसैँ लिएर नाका पार गरी नेपाल आउँदै थिए । कति दसैँको किनमेल गर्न पारिपट्टिका बजार जाँदै थिए ।

नाकामा नेपालीलाई समस्या हुन्छ । लुटिन्छन् । पिटिन्छन् । यस्तै सुनेको हो । तर सुनौली नाकामा त्यो दिन नेपालपट्टि फर्किनेका सामान कसैले जाँच गरेको थिएन । बरु भारततर्फ हिँडेका हामी लगायत सबैलाई लाइन लगाएरै जाँच गरियो । झोला मेसिनमा राखेर लाइनमा बस्दा मन चिसो भयो । झोला हराउला भनेर हैन । चाडबाडका पहिलो पटक घर नगई घुम्न हिँडेकाले हो ।

घुम्ने भारतका सहर सम्झदा दसैँमा घर जाने रहर त मारेकै हो । तर साँच्चै त्यो सुनौलीको नाका काट्न लाइनमा बस्दा घर र दसैँ सम्झेर एक पटक नमिठोसँग मन गाठो पर्‍यो । अब यो नाका कटेपछि त फोन पनि लाग्दैन । घरमा कुरा गर्न पाँइदैन । रेलमा यात्रा गरुन्जेल कसरी पो बस्ने होला । सम्झदा त आ... घरै जानुरहेछ जस्तो पनि लाग्यो । लाइनमा बस्दा यस्तै कुरा खेले मनमा ।

आफ्नो जाँचको पालो सकिएपछि एकछिन पनि उभिने अनुमति थिएन । साथीहरु लाइनमै थिए ।  म झोला बोकेर शीतल खोज्दै नेपाल र भारतको सीमा छुट्याउने गेट पछाडि उभिएँ ।

साथीहरुलाई कुरुन्जेल अघिल्ला वर्ष काठमाडौंबाट दसैँ मनाउन घर जाँदाको क्षण सम्झिएँ । सानो छँदा मामा विदेशबाट फर्किने दिन कुर्दाको हतार सम्झिएँ । अनि ठूलो भएर आफै दसैँका बेला घुम्न जाँन गरेको आँट सम्झिएँ । एक मनमा लाग्यो दसैँमै किन घर जानु पर्‍यो र, पछि भए पनि म घर गएपछि दसैँ आइहाल्छ नि । दसैँ अर्को वर्ष पनि आउँछ ।

तर योपालीको जस्तो दसैँका बेला घुम्ने अवसर नमिल्न सक्छ । चित्त बुझाएँ । नेपाल र भारतको सिमामा रहेको गेटभन्दा अलि परबाट गोरखपुरका लागि बस छुट्ने रहेछ । हामी त्यतै लाग्यौँ ।

आँखै अगाडि रेल देख्दा

झण्डै तीन घण्टा स्थानीय बसको यात्रा पछि पुग्यौँ गोरखपुर जंक्शन । राति पौने १० बजेको रेल छ । अझै हतार छैन हामीलाई । बजार घुम्याैँ । झण्डै चार वर्ष भयो नेपालमा छुकछुके रेलको कुरा सुनेको । कुरा मात्र हो नि । नेपालमै रेल चढ्न त के देख्न पनि पाएको हैन ।

रेल रोकिने जंक्शन कस्तो होला ? रेल कस्तो होला ? कसरी आउँदो हो ? फोटोमा देखेको त्यो लामो रेलमा आफू बस्ने ठाउँ कसरी चिन्ने होला भन्ने कौतुहलता ! 
गोरखपुर जंक्शनमा मानिसका भिड देख्दा त म छक्कै परेँ । खाली ठाउँ त खासै थिएन । कोही तन्ना ओछ्यारै सुतेका । कोही झोला सिरानी बनाएर यसै पल्टिएका ।

नेपालमा गाडी चढ्न आफिस टाइममा त जसको शक्ति उसको भक्ति, भनेझैँ हुन्छ । रेल चढ्ने ठाउँ त कस्तो आनन्दको । हाम्रो टिकट अनुसार रेलको समय रातिको ९ बजेर ४५ मिनेटमा थियो । जंक्शनमा थुप्रै रेल आए, गए । कति रेल रोकेर राखिएको ।

छुकछुके रेल आँखै अगाडि । आँखाले नभ्याउने लामो । लामो रेल देख्दा मैले त जावलाखेलदेखि रत्नपार्क जाँदा सानो माइक्रोमा कोचिएर यात्रा गरेको सम्झिएँ । यस्तै लामो रेल नेपालमा पनि चल्ने भए माइक्रोबसमा हिँड्दाका ती सास्ती पनि सकिने थिए नि ।

आफू रेलमा चढने समय कहिले आउला भएको थियो । सुत्न मिल्ने रेलका सिट कस्तो हुन्छ होला, रेलको ट्वाइलेटमा नुहाउन मिल्छ कि मिल्दैन होला ! कौतुहल थियो । रोकेर राखिएका रेलमा डब्बा भित्र गएर हेर्‍यौं ।

रेलको ट्वाइलेट हेर्न हतारिँदै गएकी साथी प्रज्ञाले भनी, ‘नुहाउन त नमिल्नेरहेछ यार ।’ नुहाउन नमिले पनि सुतीसुती मुम्बई पुर्‍याउने रेल मलाई त औधि मन पर्‍यो ।

असाेज ३० । राति ९ बजेर ५० मिनेटमा हामीलाई मुम्बई पुर्‍याउने गोरखपुर लोकमान्यतिलक सुपर एक्सप्रेस गोरखपुबाट छुट्यो । रेल छुट्दा मन अनेकन रहर, नलौ उमंग र खुशीले भरियो । पहिलो पटक रेलको यात्रा । रमाइलो लाग्दै थियो । तर मनमा डर थियो । केही चोरी पो हुने हो कि । मन डराइरहेको थियो ।

भारतमा रेल भन्नेबित्तिकै चोरी हुन्छ भन्ने धारणा नै डराउनुको पछाडि एउटै कारण थियो । हुन त म भारत घुम्न जान लागेको भनेर सुनाउँदा धेरैले भनेका थिए, ‘छोरी मान्छे भएर गाह्रो हुन्छ, भारतको रेलमा चोरी हुन्छ, लुट्छन् ।’ एक जनाले मात्रै हैन धेरैले यात्राको जोखिम भनेकै चोरी मात्रै हो भने झैँ गरी सुनाएका थिए ।

फेरि हाम्रो टिकट पनि स्लिपरको थियो । जहाँ अरु मानिस आवतजावत गरिरन्छन् । जे होस् यात्रामा आइपर्ने हरेक जोखिमसँग मुकाबिला गर्न तयार थिएँ । 

रेलमा माया र रोटी

मेरो रेलको यात्रा अनुभव धेरैले भनेको भन्दा फरक रह्यो । गोरखपुरबाट मुम्बई दुई रात एक दिनको यात्रा थियो । त्यसैगरी मुम्बईबाट गोवा एक रातको यात्रा थियो । अनि गोवाबाट दिल्ली दुई रात डेढ दिनको यात्रा । यतिका दिन रेलमा बिताउँदा असहज महसुस भएन ।

गोरखपुरदेखि मुम्बईको यात्रामा हाम्रो सिट मिडल र अप्पर थियो । लोवर दुई वटा सिटमा अपरिचित पुरुष थिए । सुरुमा त उनीहरुलाई देख्दा शंकाले मन ढक्क भएको थियो । तर तीन दिनमा हामी साथी भयौँ ।

उनीहरुले हामीलाई बाटोमा आउने जंक्शन र ठाउँकोहरुको बारेमा बताए । गोरखपुरबाट मुम्बईमा काम गर्न हिँडेका उनीहरुले घरबाटै खानेकुरा ल्याएका थिए । तेलमा खारेर बनाएको रोटी । उनीहरुले यात्राभरिलाई पुग्नेगरी बोकेका थिए होलान् । हामीलाई पनि दिए ।

मुम्बईमा स्टिल कम्पनीमा काम गर्ने थिए् दुईमध्येका एक पुरुष । नाम उनको मुन्ना । मुन्नाको मन पनि सफा लाग्यो । घरमा तीन वर्षको छोरी र श्रीमती छाडेर मुन्ना आफ्ना सपना पूरा गर्न सपनाको सहर मुम्बई छिरेको १० वर्ष भयो ।

कमाईको बारेमा त मुन्नाले खोलेर बताएनन् । तर यात्राभरि उनले हाम्रो खुबै ख्याल गरे । हाम्रा लागि नयाँ मुम्बईको बारेमा जाने जतिको खबर दिएर बिदा भए । 
मुम्बई दसैँको नवमीको दिन पुगियो । त्यही दिन रातिको टिकट थियो गोवा जाने । दिउँसो मुम्बईका केही ठाउँ घुम्यौँ । र गोवा जाने रेल चढ्न नयाँ मुम्बईको पनवेल जंक्शन जान फेरि स्थानीय रेल चढ्यौँ ।

तिर्खाएका थियौँ । तर पानी किन्ने समय पनि नभएझैँ भएको थियो त्यो बेलामा । साँझको रेल भेट्न त्यही समयको स्थानीय रेल चढ्नै पर्ने थियो । 
मुम्बईको पारिलो घाममा दिनभरि डुलेका हाम्रो रेल चढ्दा कस्तो देखियो कुन्नि अनुहार । एक महिलाले  झोलाबाट पानी झिकेर दिइन् ।

रमा, प्रज्ञा र मैले मिलेर एकै पटकमा सक्कायौँ । फेरि अर्की महिलाले झोलाबाट झिकेर अर्कोे बोतल पानी दिइन् । कसैले बिस्कुट दिए त कसैले सुन्तला । मलाई त मुम्बईमा रेलभन्दा पनि दसैँमा आफ्नै गाउँ जाने बस चढेझैँ लाग्यो । गाउँ जाने बसमा आफ्नै गाउँमा मात्र मान्छे हुन्थे । अनि सबैले त्यसैगरी खानेकुरा दिन्थे । हालखबर बुझ्थें । मुम्बईमा पनि त्यस्तै गरे ती महिलाहरुले । आफ्नै गाउँका काकी, माइजू र हजुरआमा जस्तै पो लाग्यो ।

गोवामा नेपाली माया

दसैँको टीकाको दिन गोवा पुगियो । गोवामा नेपाली कामदार र व्यवसायी छन् भनेर घुम्न जाने योजना बनाउँदादेखि नै सुनेको थिएँ । तर घुम्न पुगेका हामीलाई त्यति माया र सम्मान गर्लान् भन्ने सोचेकै थिइनँ ।

 

गोवामा काठमाडौंका झैँ अग्ला अग्ला घर थिएनन् । स–साना घर । हरियाली । नरिवलका बोट । अनि, विशाल समुन्द्र । पहिलो पटक विशाल समुन्द्रलाई देखेँ । र, समुन्द्र जस्तै विशाल मन भएका नेपाली पनि भेटेँ ।

सीमापारि गएदेखि नै भनेजस्तो खानेकुरा भेटिएको थिएन । जे–जे खाए पनि भात नखादा पेट नभरिने रहेछ । त्यसैले हामी नेपालीले सञ्चालन गरेको होटलको खोजीमा थियौँ । नेपाली होटल खोज्दै जाँदा साउथ गोवामा भेटिए रुकुममा प्रकाश थापा । कोल्वा समुन्द्री किनार नजिकै उनको रेटुरेन्ट । रेस्टुरेन्टमा कामदार पनि नेपाली नै ।

प्रकाशको होटलमा खाना खायौँ । खानाले भन्दा पनि नेपालबाट घुम्न आएको भन्ने सुनेपछि उनले देखाएको आत्मियताले मन भरियो । दिनभरि प्रकाशले आफ्नो होटल घुमाए । घुम्नका लागि नजिकै रहेका ठाउँका बारेमा बताइदिए । कस्तो मिजासिलो व्यवहार ।

गोवाबाट फर्किने दिन रेल स्टेशन माडगांव जान राति १० बजेतिर ट्याक्सी खोजिदिन प्रकाशलाई आग्रह गर्‍यौँ । प्रकाशले हुन्छ भने । साँझ हामी बसेको होटलबाट प्रकाशकै रेस्टुरेन्टमा झोला राख्यौँ । खाना पनि उनकै होटलमा खायौं ।

हामी त प्रकाशले ट्याब्सी खोजिदिएका होलान् भनेर बसिरहेका थियौँ । तर उनीले आफैले स्टेशनसम्म पु¥याउने योजना बनाएछन् । रातिको एक बज्नै लाग्दा हामीलाई स्टेशनसम्म पुर्‍याउन प्रकाशले चार वटा स्कुटर तयार पारिदिए । प्रकाश रेस्टुरेन्ट बन्द गर्न तिर लागे । उनको होटलमा काम गर्ने चार जना नेपालीले हामीलाई स्टेशनसम्म ल्याइदिए ।

नाम त सोधेनौँ तर हामीलाई पुर्‍याउन आएका एक जानले ब्याग पनि बोकिदिए । स्कुटरबाट ओर्लँदा लेडिज ब्याग सट्ट काँधमा भिरेर स्टेशनको प्ल्याटफर्म तिर हामीभन्दा अघिअघि हिँडे । स्टेशनमा रेल कुरुन्जेल पनि उनले ब्याग भूईँमा बिसाएनन् ।

केरलाको इरनाकुलमबाट आउने मंगलादीप एक्सप्रेस १५ मिनेट ढिलो गरी आउने भयो । रेल ढिलो आउने भएपछि हामीले उनीहरुलाई फर्किन आग्रह गर्‍यौँ । बोकेको ब्याग र छोटो समयमा दिएको साथ बिसाएर उनीहरु फर्किए । हामीले पनि रातिको झण्डै ३ बज्न लाग्दा गोवासँग बिदा माग्दै दिल्ली लाग्यौँ ।

दसैँको माया मारेर घुम्न निस्किएका थियौं । दसैँको जमरा र टीकाले अर्को साल निधार भरौँला । यो साल चाहिँ यात्राभरि मिलेको माया र नयाँ ठाउँ पुग्दाको नयाँ अनुभवले मन भरियो ।

 

अन्तिम अपडेट: मंसिर २, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया