बझाङमा धान उत्पादन २० प्रतिशतले बढ्यो

 कात्तिक २३, २०७५ शुक्रबार ७:५४:३३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – अनुकुल मौसम र उपयुक्त बीउको प्रयोग भएका कारण यसवर्ष बझाङ जिल्लाको धान उत्पादनमा वृद्धि भएको छ ।

धानको उत्पादन २० प्रतिशतले वृद्धि भएको  कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष तीन वर्ष यताकै राम्रो धान उत्पादन भएको छ । बझाङमा यस वर्ष झण्डैै ८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस वर्ष बझाङभर झण्डैै २८ हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ ।

यो गतवर्ष भन्दा झण्डैै ५ हजार मेट्रिक टन बढी हो । गत वर्ष यति नै क्षेत्रफलमा झण्डैै २३ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र प्रमुख रामलाल जोशीले बताउनुभयो ।

यो वर्ष समयमै रोपाई सकिएको र स्थानीय जातहरुको तुलनामा मूल बीउ र उन्नत जातको धानको बीउ बढी प्रयोग भएका कारण समग्र उत्पादनमा वृद्धि भएको हो  । ज्ञान केन्द्र प्रमुख जोशीले भने ‘तीन वर्ष यता कै राम्रो धान उत्पादन भएको छ । गएको वर्षभन्दा न्यूनतम १५ प्रतिशत उत्पादनमा वृद्धि भएको हामीले पाएका छौ ।’

उत्पादन वृद्धि गर्नका लागि बीउको छनौट, कम्पोष्ट मल बनाउने तथा खेतमा हाल्ने तरिका र खेती गर्ने प्रविधिमा पनि किसानहरु सचेत हुँदै गएका कारण जिल्लामा धानको उत्पादन क्रमशः बढ्दै गएको उहाँले बताउनुभयो  ।

पहिलाका वर्षहरुभन्दा यसवर्ष धान उत्पादन राम्रो भएको स्थानीय किसान सुनीतादेवी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गएको वर्ष एक बोरा फल्ने ठाँउमा यस वर्ष बढेर डेढ बोरासम्म भएको छ । सही समयमा नै रोपार्इं सम्पन्न गरेका थियौ । जलमल पनि मिलेर हो कि क्या हो, राम्रो धान उत्पादन भएको छ । हामीलाई निकै खुःशी लागेको छ ।’
थलारा गाउँपालिका वडा नम्बर ६ पीखेतको जीउलामा धान उत्पादनमा वृद्धि भएको आफूले पाएको स्थानीय बासिन्दा जगदीस रोकायाले बताउनु भएको छ । यहाँका किसानहरु समेत गएका वर्षहरुभन्दा राम्रो धान उत्पादन भएको भन्दै निकै खुःशी भएका छन् ।

थलारा गाँउपालिकामा मात्रै नभई बझाङ अगुवा तथा सर्वसाधारण किसानहरु समेत राम्रो धान उत्पादन भएको भन्दै खुशी भएका छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया