लाइन काटेर २३ लाख रुपैयाँ असुली

 कात्तिक २३, २०७५ शुक्रबार ११:२७:५६ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

तनहुँ - नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काटनुका साथै २३ लाख १४ हजार ७०८ असुल गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा विद्युत् महशुल नबुझाउने २३३ ग्राहकको लाइन काटेर उक्त रकम असुल गरिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरण विद्युत महशुल सङ्कलन विनियमावली २०७३ को दफा ८ अनुसार मिटर रिडिङ गरेको २३औँ दिनदेखि ३०औँ दिनसम्म विद्युत् महशुल बुझाएमा पाँच प्रतिशत, ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशत, ४१औँ दिनदेखि माथि विद्युत् महशुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्नेछ ।

यस्तै विनियमावलीको दफा १० अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महशुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटन सकिने व्यवस्था छ ।

बिग्रिएका मिटर बदली अभियान

उक्त केन्द्रले लामो समयदेखि बिग्रेका मिटर बदली गर्ने अभियान चलाएको छ । अहिलेसम्म यस्ता बिग्रेका झण्डै २५० भन्दा बढी ग्राहकको मिटर बदलिएको र यसबाट नियमित महशुल सङ्कलन पनि वृद्धि भएको प्रमुख गोशलीले बताउनुभयो ।

चालु आव २०७५/७६ मा यस्ता एक हजार थान मिटर बदली गर्ने उक्त केन्द्रको योजना छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया