दिदीबहिनी र दाजुभाइ नहुनेले रानीपोखरीमा टीका लगाए

 कात्तिक २३, २०७५ शुक्रबार १५:२०:१५ | उज्यालो सहकर्मी

काठमाडौं – रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर परिसरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले एकअर्कालाई भाइटीका लगाएका छन् । 

आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा गएर टीका लगाउने भएकाले मन्दिर परिसरमा भिड लागेको छ । हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्ने काठमाडौंको रानीपोखरीको बीचमा रहेको यमलेश्वर बालगोपाल मन्दिर पनि खुला भएको छ । 

भाइटीकाको दिनमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ टीका थाप्न आउने हुँदा बिहानैदेखि मन्दिर खुला गरिएको हो । राजा प्रताप मल्लले बनाएको यो मन्दिर आज दिनभर नै खुला रहनेछ । आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले वि.सं. १७२७ मा रानीपोखरी निर्माण गरेका थिए । 

पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए । गोरखा भूकम्पका कारण मन्दिर क्षतिग्रस्त भएपछि मन्दिर परिसर बाहिर नै भाइटीका लगाइए छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनर्निर्माण हुने विषय अझै अन्यौलमा रहेको छ । 

भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै  भाइटीका लगाउने व्यवस्था गरिएको हो । काठमाडौंको मुटुमा रहेको रानीपोखरी ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।  अहिले रानीपोखरी पानी सुकेको खेत जस्तो उजाड देखिन्छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया