प्रेमको प्रतीक सामाचकेवा पर्व सुरु

 कात्तिक २३, २०७५ शुक्रबार १८:९:१७ | रासस

काठमाडौं – मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको छ ।

कात्तिक शुक्ल द्वितीया तिथि अर्थात आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो । 

यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् । काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र त्यही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ । 

भगवान कृष्णकी छोरीको नाम सामा थियो । आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाइ साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो । तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो । 

यो पर्व मैथिलानी र थारु समुदायकी महिलाहरुले मनाउने गरिन्छ । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महशुस गर्न थालिएको छ । 

भविष्य पुराणमा उल्लेख गरिएअनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेसमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिनुभयो । 

सामाको भाइ साम्बले जब यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गर्नुभयो । 

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिनुभएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ । 

यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ । त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ । यसका साथै बृन्दावन जङ्गल, झुटाे कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङले रङग्याइन्छ । 

यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । त्यसै क्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया