सरकारले सहयोग नगरेपछि कोमामा रहेका एक नेपालीलाई सहयोग जुटाएर स्वदेश फर्काइयो

 कात्तिक २५, २०७५ आइतबार १२:८:५१ | उमाकान्त पाण्डे

युएई – युएईमा कोमामा उपचाररत एक नेपालीलाई स्वदेश फर्काइएको छ । दुई महिनादेखि दुवईको रसिद अस्पतालमा कोमामा उपचाररत ताप्लेजुङ स्थायी घर भएका मोरङको रतुवामाई नगरपालिका बस्ने जितबहादुर लिम्बुलाई नेपाली दूतावास युएई र विभिन्न संस्थाको पहलमा स्वदेश फर्काइएको हो ।

युएईमा उडान भर्दै आएका नेपालका एयरलाइन्समा जटिल प्रकृतिका बिमारी बोक्ने सुविधा नभएपछि जितबहादुरलाई एयर इन्डिया मार्फत शनिबार राति दिल्ली हुँदै नेपाल लगिएको हो । 

नेपालमा न्युरो कार्डियो सर्जरी अस्पतालमा राखेर थप उपचार गरिने जितबहादुरलाई सहयोग गर्न चलाइएको अभियानका संयोजक  भवानी माङ्गमु लिम्बुले जानकारी दिनुभयो । 

सन् २०१५ मा युएई आएका लिम्बु गएको अगस्टमा बेहोस भएपछि उहाँलाई अस्पताल भर्ना हुनुभएको थियो । ब्रेन हेमरेज (मस्तिष्कमा रगत जम्नु) भएका कारण जितबहादुर कोमामा पुग्नुभएको हो । 

काम गर्दै आएको कम्पनी साहुले अर्कै कम्पनीलाई बेचेपछि  जितबहादुर लगायत अरु कामदारको बाँकी तलब, नयाँ भिसा र मेडिकल इन्सुरेन्ससम्म बनाइदिने सर्तमा फेरि त्यही कम्पनीमा काम गर्दै आएका थिए । तर सन् २०१७ मा करार अवधी सक्किएपछि जितबहादुर गैरकानुनी हुनुभएको थियो । 

जितबहादुर यसरी पुगेका थिए कोमामा

युएईमै कार्यरत जितबहादुरका ज्वाईं गंगालाल लिम्बुका अनुसार, उहाँ दुवई फिनिसिङ कार्पेन्टरको काम गर्नुहुन्थ्यो । 

युएई आएको केही समयपछि कम्पनीले जितबहादुरलाई तलब दिन छाड्यो । तलब दिलाइदिन अनुरोध गर्दै उहाँ लेबर कोर्ट पनि पुग्नुभएको थियो । 

गएको अगष्ट १६ तारिख बिहान ड्युटी जान खोज्दा उहाँलाई अचानक चक्कर लाग्यो । त्यो दिन  काममा नगई कोठामा आराम गरेर बस्नुभयो । साँझ कामबाट फर्किएका साथीहरुले बेहोस अवस्थामा भेटेपछि उहाँलाई अस्पतालमा पुर्‍याएका थिए । साथीहरुको सहयोगमा अस्पताल भर्ना गरियो । 

चिकित्सकले उहाँको ब्रेन हेमरेज भएको बताएका छन् । दुईसाता आइसीयुमा राखेर उपचारपछि उहाँलाई एक महिना नर्मल कोमामा राखिएको थियो । स्वास्थ्यमा पहिलेको भन्दा केही सुधार आएपछि १५ दिन यता वार्डमा अर्धचेत अवस्थामा उपचार भैरहेको छ ।

उहाँ अहिले पनि बोलचाल गर्न सक्दैनन् । यहा थप उपचार गराउनु भन्दा नेपाल लैजान चिकित्सकले सुझाव दिए । तर अवैधानिक अबस्थामा रहेका उनलाई नेपाल फर्काउन कानुनी समस्या भयो ।

 यसरी भयो उद्धार   

जनप्रगतिशील मोर्चाका उपाध्यक्ष कमल पोखरेलले बिरामीलाई नेपाल लैजान आवश्यक पर्ने कागजातको लागि दूतावाससँग समन्वय गर्नुभएको थियो ।

दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकृत इरफान आलमले जितबहादुर उपचाररत अस्पतालमा गएर उनको स्वास्थ्य अवस्थाको जानकारी लिए ।

 उनको उपचारमा लागेको खर्च चुक्ता नगरेसम्म अस्पतालले नेपाल लैजान नसक्ने जनाएको थियो । यसबिचमा दूतावासको पहलमा उनको उपचारमा लागेको १ लाख ६० हजार दिर्हाम उपचार खर्च छुट भयो । 

यस्तै बिरामीलाई नेपालसम्म पुर्‍याउन आवश्यक सहयोगका लागि दूतावासले परराष्ट्र र श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्धन बोडलाई जानकारी गराएको थियो ।

त्यसपछि बिमारीलाई नेपालमा राख्ने अस्पतालको स्वीकृतिका आधारमा यहाँको अस्पतालले एकजना नर्सको समेत व्यवस्था गरी उहाँलाई नेपाल लैजाने अनुमति दिएको दुतावासका श्रमसहचारी मोतिराम भुषालले बताउनुभयो । 

गैरकानुनी रुपमा काम गरेको भन्दै बोर्डले सहयोग गरेन

जितबहादुरलाई नेपाल फर्काउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा आग्रह गरिएपनि गैरकानुनी रुपमा काम गर्ने नेपालीका लागि आर्थिक सहयोग गर्ने नीति नभएको भन्दै बोर्डले कुनै सहयोग नगरेको गंगालालले बताउनुभयो । 

सरकारको सहयोग नभएपछि उहाँले युएईका विभिन्न संघसंस्थासँग आर्थिक सहायतका लागि अनुरोध गर्नुभएको थियो । गंगालालकै अनुरोधमा ताप्लेजुङ समाज सेवा युएई र जनप्रगतिशील मोर्चाको पहलमा आर्थिक सहयोग अभियान चलाइएको थियो । 

समितिले ताप्लेजुङ समाज सेवा युएईका महासचिव भवानी माङ्गमु लिम्बुको संयोजकत्वमा युएईमा रहेका २५ भन्दा धेरै संस्था र व्यक्तिसँग सहकार्य गरी २० हजार १ सय ६३ दिर्हाम संकलन गरेको ताप्लेजुङ सेवा समाजकी अध्यक्ष सोनी भण्डारीले जानकारी दिनुभयो । 

जितबहादुरलाई नेपाल फर्काउन १७ हजार ८ सय ८३ दिहराम खर्च भएको र २ हजार २ सय ८० दिर्हाम बचत भएको समाजले जनाएको छ । बचत भएको रकम बिरामीको सहयोगार्थ खोलिएको खातामा जम्मा गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया