कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थानमा विद्यार्थीको विरोध प्रर्दशन

 कात्तिक २५, २०७५ आइतबार १६:६:२४ | उज्यालो सहकर्मी

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तरगतको चिकित्साशास्त्र अध्ययन संस्थानले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका छन् ।

महाराजगंजमा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन कार्यालयमा आइतबार बिहान भेला भएका उनीहरुले चिकित्सा शास्त्र अध्ययनका लागि निष्पक्ष ढंगले कोटा निर्धारण हुनुपर्ने माग गर्दै विरोध प्रर्दशन गरेका हुन् ।

आर्थिक चलखेल गरेर चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण हुन थालेपछि त्यसको विरोधमा डिन कार्यालय अगाडि नै प्रर्दशन गर्नु परेको विद्यार्थी नेता कामना केसीले जानकारी दिनुभयो । उहाँले क्षमताको आधारमा कोटा निर्धारण नगरेर आफूहरुमाथि डिन कार्यालयले अन्याय गरेको आरोप समेत लगाउनुभयो ।

विद्यार्थीहरुले चिकित्साशास्त्र अध्ययन संस्थानको प्रशासनलाई कोटा निर्धारणमा धाँधली नगर्न पनि सचेत गराएका थिए । तर डिन कार्यालयले आफूहरुको मागलाई बेवास्ता गरेको विद्यार्थीहरुको गुनासो छ । मेरिट अर्थात क्षमता र योग्यताको आधारमा चिकित्साशास्त्र अध्ययनका लागि कोटा निर्धारण नगरेकोमा विद्यार्थीहरुको आपत्ति छ । उनीहरुले ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई कसरी चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गरिएको भनेर डिन कार्यालयलाई प्रश्न पनि गरेका छन् ।

मेरिट विपरित कोटा निर्धारण गरिएकोमा आफूहरुको आपत्ति रहेको विद्यार्थी कुशकुमार चौंधरीले बताउनुभयो । चिकित्साशास्त्र अध्ययन संस्थानले मेरिटको आधारमा चिकित्साशास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्नुपर्नेमा आर्थिक चलखेलको आधारमा कोटा निर्धारण गरेको भन्दै विद्यार्थीहरुले आइतबारबाट विरोध प्रर्दशन सुरु गरेका हुन् ।

चिकित्साशास्त्र अध्ययन संस्थानले चिकित्साशास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्दा आफूखुशी गर्ने गरेको प्रत्येक वर्ष गुनासो आउने गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया