‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा कांग्रेस पार्टीको हो : नेता महत

आर्थिक नीति निर्माणका लागि कांग्रेसले थाल्यो सुझाव संकलन

 कात्तिक २५, २०७५ आइतबार १६:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाली कांग्रेस केन्द्रीय कार्य समिति अन्तर्गत आर्थिक नीति मस्यौदा समितिले प्रदेश नम्बर ३ अन्तर्गतका पार्टी सभापति र प्रदेश सांसदसँग पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव संकलन सुरु गरेको छ ।

आइतबार नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा भक्तपुरमा आयोजित कार्यक्रममको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताउनुभयो ।

उहाँले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिँदै सरकारले समग्र राष्ट्रिय हितलाई महत्व नदिई पार्टीमुखि आर्थिक नीतिलाई मात्र जोड दिएको बताउनुभयो । आर्थिक उद्यमशीलता र लगानीमैत्री वातावरण सृजना गरी लगानी र आर्थिक गतिविधि बढाउने गरी आर्थिक नीति निर्माण गर्नुपर्ने उहाँको भनाई थियो ।

उहाँले वर्तमान सरकारले समग्र राष्ट्रिय हितलाई महत्व नदिई पार्टीमुखि आर्थिक नीतिलाई मात्र जोड दिएको आरोप लगाउनुभयो । ‘सरकारले अहिले लिएको सुखी नेपाल, समृद्धि नेपालीको नारा हाम्रै पार्टीको नारा हो, तर अहिले सरकार गएको बाटोबाट यो सम्भव छैन, यसलाई हाम्रो पार्टीले पूरा गर्नुपर्छ ।’

उहाँले वर्तमान अवस्थामा देशका १० प्रतिशत आर्थिक वृद्धिदर पुग्नुपर्नेमा ६ प्रतिशत पुग्न पनि मुश्किल भएको, विदेशी लगानी घट्दै गएको र स्वदेशी पूँजी विदेश पलायन हुँदै गएको, बैंकको व्याजदर बढ्दै गएको, मंहगी बढ्दै गएको आरोप लगाउनुभयो ।

उहाँले नेपालमा उद्योग, व्यावसाय र कलकारखानामा वृद्धि नहुँदा रोजगारीको अवसर सिर्जना गर्न नसकिएको बताउनुभयो । विपी कोइरालाको विचार र सिद्धान्तसम्म पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गदै उहाँले देशमा उत्पादन बढाउने र आम नागरिकसम्म त्यसको पहुँच पुर्याउनका लागि के–कस्ता समस्याहरु छन्, त्यसको पहिचान गरी समस्याको समाधानका उपायहरुसहितको सुझाव दिन सहभागीहरुलाई निर्देशन दिनुभयो । 

महतले कांग्रेसको नेतृत्वमा शासन सत्ता आएपछि आर्थिक विकासका लागि चाल्नु पर्ने कदम कस्तो हुनुपर्छ ?, समृद्धिका लागि के–कसरी जानुपर्छ भन्नेबारेमा स्पष्ट रुपमा सुझावहरु दिन निर्देशन दिनुभयो । उहाँले प्राप्त सुझावलाई महा–समितिमा लगेर छलफल गरिने र त्यसलाई पार्टीको केन्द्रीय समितिमा छलफल गरी निष्कर्षमा पुर्याउने भनाई राख्नुभयो । आर्थिक उद्यमशीलता र लगानीमैत्री वातावरण सृजना गरी लगानी र आर्थिक गतिविधि बढाउने गरी आर्थिक नीति निर्माण गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवनबहादुर शाही, शिवप्रसाद हुमागाईं, अर्जुन जोशी, ३ नम्बर प्रदेशसभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ, डा. अच्युत वाग्ले, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतले अब बन्ने कांग्रेसको आर्थिक नीति परम्परागत भन्दा पनि परिणाममुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।

आइतबार दिनभर सञ्चालन हुने कार्यक्रममा प्रदेश नम्बर ३ अन्तर्गतका सबै जिल्लाका पार्टी सभापति र प्रदेश सांसद गरी ४० जनाको सहभागिता रहेको र उहाँहरुले पार्टीले बनाउन थालेको अर्थिक नीति निर्माणका लागि महत्वपूर्ण सुझाव दिने भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया