राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता पुस १ देखि ७ सम्म

 कात्तिक २५, २०७५ आइतबार १६:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता अाउँदाे पुसमा हुने भएको छ ।

कास्कीको पोखरामा पुस १ गते देखि ७ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् ।

पहिलो पटक काठमाडौं बाहिर संघले आयोजना गर्न लागेको प्रतियोगितामा गएकाे वर्षको फागुनमा भएको एनभीए राष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागिता जनाएका १२ टिममध्ये शीर्ष ८ मा पर्न सफल टिमले लिगमा भाग लिने नेपाल भलिबल संघका महासचिब जितेन्द्रबहादुर चन्दले  आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

संघले यो प्रतियोगिता गएकाे जेठमा नै गर्ने तयारी गरे पनि एसियाडको बन्द प्रशिक्षणका कारण स्थगित भएको थियो ।

प्रतियोगितामा हरेक टिमले तीन जना विदेशी खेलाडीलाई खेलाउन पाउने नियम बनाइएको छ । संघले घरेलु लिगमा विदेशी खेलाडी खेलाउन पाउने प्रावधान पहिलो पटक नै गरेको हो ।

यसअघि भएको महिला लिगमा पनि संघले विदेशी खेलाडीलाई राख्न पाउने नियम बनाएको थियो । प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै चौथो हुनेले २५ हजार रुपैयाँ हात पार्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगिता सम्पन्न गर्न जम्मा २१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । जसमा पुरस्कारका लागि मात्रै ४ लाख ३० हजार रुपैयाँ छुट्याइएको छ ।

प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब (बुटवल), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, ढोरपाटन प्रशिक्षण केन्द्र र नयाँबजार युथ क्लबको सहभागिता रहने छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया