च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
लमजुङ – लमजुङका बालबालिकाले देउसी–भैलो खेली संकलन भएको पैसा द्वन्द्व पीडित बालबालिकालाई प्रदान गरेका छन् ।
बेसीशहर नगरपालिका–२, भकुण्डे ज्यामिरेका बालबालिकाहरुले तिहारमा देउसी–भैलो खेली संकलन भएको रकम बेसीशहरमै रहेको आदर्श महिला तथा बाल विकास केन्द्रमा रहेका द्वन्द्व पीडित बालबालिकाहरुलाई प्रदान गरेका हुन् ।
तिहारमा देउसी–भैलो खेलेर जम्मा भएको १९ हजार १ सय ८० रुपैयाँ बाल विकास केन्द्रलाई प्रदान गरिएको देउसी–भैलो समूहका युजन धितालले बताउनुभयो । उहाँका अनुसार १२ जना बालबालिकाको एक समूहले भैलो खेलेको हो ।
‘परम्परागत रुपमै देउसी–भैलो खेलेर जम्मा भएको पैसा अन्य प्रयोजनमा खर्च गर्न मन भएन । संकलित पैसा सामाजिक सेवामा खर्च गर्नु उत्तम हो भन्ने लाग्यो । त्यसैले भैलो खेली उठेको पैसा द्वन्द्व पीडित बालबालिकाहरुलाई प्रदान गर्यौँ,’ उहाँले थप्नुभयो ।
संकलित पैसा बालबालिकालाई प्रदान गर्न पाउँदा खुशी मिलेको देउसी–भैलो समूहकी सुजा थापाले बताउनुभयो । उहाँका अनुसार यस समूहले अघिल्लो वर्ष देउसी–भैलो खेली जम्मा भएको १४ हजार ७ सय ३० रुपैयाँ पनि द्वन्द्व पीडित बालबालिकाहरुलाई नै सहयोग गरेको थियो ।
देउसी–भैलो समूहकी करुणा धितालका अनुसार समूहले विगत ४ वर्षदेखी देउसी भैलोबाट संकलन भएको रकम आदर्श महिला तथा बाल विकास केन्द्रलाई सहयोगस्वरुप प्रदान गर्दै आइरहेको छ ।
बालबालिकाहरुले भैलो खेली उठेको पैसा द्वन्द्व पीडित बालबालिकालाई सहयोग गरी एउटा राम्रो सन्देश दिएको भन्दै बेसीशहर नगरपालिका–२, का वडाध्यक्ष गणेश कडेँलले खुशी व्यक्त गर्नुभएको छ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।