ओलीले निरीहता प्रकट गर्नुभयो, राराको हावा खाएर मात्रै देश चल्दैन : मनिष सुमन

 कात्तिक २५, २०७५ आइतबार १८:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनता पार्टीका महामन्त्री एवम् प्रदेशसभा सदस्य मनिष सुमनले ओली सरकार संघीयताविरोधी रहेको आरोप लगाउनुभएको छ ।

उहाँले सरकार पूर्ण रुपमा असफल भैसकेको बताउनुभयो । ‘अहिलेसम्म अन्तरप्रदेश परिषदको बैठक बस्न सकेको छैन् । मुख्यमन्त्रीहरु एक ठाउँमा भेला भएर चिया पिउनुभयो भने केन्द्र सरकारको कुर्सी हल्लिन्छ’, सुमनले भन्नुभयो ।

संघीय कानुन बनाउनुपर्ने बेलामा केन्द्र सरकारले नेपाल प्रहरीलाई निर्देशानात्मक आदेश दिएको भन्दै उहाँले सरकारको त्यो कदमको विरोध गर्नुभयो । ‘यो देशको कर्मचारीतन्त्र संघीयता विरोधी छ’, सुमनले भन्नुभयो, ‘अहिले २ नम्बर प्रदेशलाई २५ सय कर्मचारी चाहिएको छ । तर अहिलेसम्म तीन सय पनि कर्मचारी पुगेका छैनन् । यसो गर्नु भनेको केन्द्र सरकारको प्रदेश सरकारलाई विफल पार्ने मनसाय हो ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन बितिसक्दा पनि सरकारले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै उहाँले सरकारको  असफलता औल्याउनुभयो । ‘यत्रो दुई तिहाई बुहमतको सरकारको नेतृत्व गर्नुभएको प्रधानमन्त्रीले यसरी निरीहता प्रकट गर्नुहुँदैन् । रारा तालको हावा खाएर मात्रै देश चल्दैन् ।’

आफूहरुले सरकारलाई दिएको समर्थन समाप्त भैसकेको जस्तै भएको बताउँदै उहाँले अब बस्ने पार्टीको जुनसुकै बैठकले समर्थन फिर्ता लिएको सानो सूचना दिने बताउनुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया