टोक्यो ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोट: नेपालकाे लगातार दोस्रो बराबरी

 कात्तिक २५, २०७५ आइतबार १९:१५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

टोक्यो ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोटको पहिलो चरण अन्तर्गत नेपालले लगातार दोस्रो बराबरी खेलेको छ ।

समूह सी मा रहेको नेपालले पहिलो खेलमा भारतसँग एक-एक गोलको बराबरी खेलेको थियो । आइतबारको खेलमा पनि नेपालले आयोजक म्यानमारसँग एक-एक गोलको बराबरी खेलेको हो ।

म्यानमारको थुवुना रंगशालामा खेलको दोस्रो मिनेटमै पेनाल्टी गोलमार्फत नेपालले अग्रता लिएको थियो । सावित्रा भण्डारीले पेनाल्टीमा गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, नेपालले सुरुआती अग्रता धेरैबेर जोगाउन सकेन ।

१४औं मिनेटमा म्यानमारकी किन होइ मोइले बराबरी गोल गरिन् । उनको कर्नर प्रहार सिधै गोलमा परिणत भएको थियाे । त्यसयता दुवै टोलीले गोलका केही अवसर सृजना गरे पनि गोल गर्न सकेनन् ।

बराबरीपछि पनि नेपालको दोस्रो चरण प्रवेशको सम्भावना सकिएको छैन । समूहको विजेता र उपविजेतासँगै पहिलो चरणका चारमध्ये उत्कृष्ट तेस्रो हुने दुई टोली दोस्रो चरणका लागि छानिनेछन् ।

समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग र म्यानमारले भारतसँग प्रतिस्पर्धा गर्नेछ । अर्को चरणमा पुग्न नेपालले बंगलादेशविरुद्धको खेल जित्नैपर्ने हुन्छ भने भारत र म्यानमारबीचको खेलमा स्पष्ट नतिजा निस्कनुपर्ने हुन्छ । 

यही समूहबाट बंगलादेश भने लगातार दोस्रो खेलमा पराजित हुँदै बाहिरिएको छ । पहिलो खेलमा म्यानमारसँग पराजित भएको बंगलादेश आइतबारै भएको दोस्रो खेलमा भारतसँग ७–१ गोलले निराश बन्यो ।

भारतकी बाला देवी गाङ एक्लैले चार गोल गर्दा कमला देवी युमनामले २ गोल गरिन् । त्यस्तै सञ्जुले एक गोल गरिन् । बंगलादेशकी कृष्ण रानीले सान्त्वना गोल फर्काएकी थिइन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया