धनुषामा महिलामाथि बोक्सीको आरोपमा कुटपिट

 कात्तिक २५, २०७५ आइतबार २०:२९:३० | शैलेन्द्र महतो
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनुषा – धनुषामा एक महिलामाथि बोक्सी आरोपमा कुटपिट भएको छ ।

धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरकी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि सामूहिक कुटपिट जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।

कात्तिक १३ गते मंगलबार दिउँसो आफ्नै घरमा खाना खाएर आराम गरिरहेको बेला घरमै आएर तथानाम गाली गर्दै आफूमाथि छिमेकहरुले बोक्सी भन्दै निर्घात कुटपिट गरेको पीडित जुलेखाले बताउनुभएको छ । उहाँले दोषीमाथि कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ६ जना विरुद्ध जाहेरी दिनुभएको छ ।

कुटपिटमा संलग्न छिमेकी खैतुन खातुन, अजिमा खातुन, ओकराहाबाला भन्ने जुमरत राइन, मो.हविव राइन, मो.समिम राइन र अ‍ैलुन राइनविरुद्ध प्रहरीमा जाहेरी दिएको पीडित जुलेखाले बताउनुभयो ।

पीडित जुलेखाकी श्रीमान वैदेशिक रोजगारको क्रममा साउदीमा छन् । ‘अनाहकमा मलाई बोक्सी भन्दै कुटपिट भयो, मलाई लछारपछार गरे, कपाल समातेर सार्वजनिक रुपमै दुर्व्यवहार गरे’, जुलेखाले भन्नुभयो, ‘घरमा पुरुष नभएकी म एउटी महिलामाथि पुरुष समेतले मिलेर सामूहिक रुपमा कुटपिट र अपमान गरे,  मैले न्याय पाउनुपर्छ ।’
 
पीडित जुलेखाले विपक्षीहरुको डरले आफूलाई गाउँलेहरुले समेत साथ नदिएको गुनासो गर्नुभयो । पीडित खातुनकी सासु गुब्दी खातुन र ससूरा इस्लाम कवारीले उनीहरुले आफ्नो बुहारीलाई बोक्सी भन्दै अनाहकमा कुटपिट गरेकोले कार्वाही गर्न माग गर्नुभयो । गाउँमा बोलाइएको पञ्चायतमा समेत उल्टै आफूहरुलाई नै गलत सावित गर्ने प्रपञ्च भएको ससूरा इस्लाम कवारीको दुखेसो छ ।
 
यसअघि धनुषाको धनौजी गाउँपालिका २ बस्ने ३८ वर्षकी मनतोरिया देवी मण्डल खत्वेलाई गएको कात्तिक ९ गते जातीय पञ्चहरुले बोक्सी भन्दै कुटपिट गरेका थिए । मन्तोरियालाई पञ्चायतमै कुटपिट गरी बोक्सी स्वीकार गर्न लगाई ५० हजार रकम  र भोज स्वरुप ५० हजार गरी पञ्चले १ लाख जरिवाना समेत तिराउने निर्णय गरेपछि उहाँ न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ । उहाँको पति समेत रोजगारको सिलसिलामा विदेशमा हुनुहुन्छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया