श्रम मन्त्रीलाई प्रशान्त महासागरबाट रनबहादुर थापाकाे खुल्ला पत्र

 कात्तिक २६, २०७५ सोमबार १०:५८:५० | मेरो कथा मेरो भोगाई

माननीय श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टज्यू नमस्कार !

म तपाईँको जिल्लाबासी हुँ । तर तपाईँको क्षेत्रको मतदाता होइन । कुनै पार्टी विशेषको सक्रिय कार्यकर्ता पनि होइन । वैदेशिक रोजगारबाट आफ्नो जिविका चलाएको एक सामान्य नेपाली नागरिक हुँ ।

तपाईँकै जिल्लाबासी भएर पनि तपाईँसँग सम्पर्कमा छैन । प्रविधिको युगमा कुनै न कुनै माध्यमबाट तपार्इँसम्म पुग्नसक्ने आशामा यो पत्र लेख्दै छु । 

पार्टी र कार्यकर्ताको साँघुरो घेराभन्दा माथी उठेर आम नेपाली नागरिकको हितमा काम गर्ने एक आशा लाग्दो नेताका रुपमा मैले मात्र हैन धेरैले तपाईँलाई हेरेका छौं ।

तपाईं पहिलो पटक उर्जामन्त्री हुँदा छोटो समयमा पनि जुन सकारात्मक काम गर्नुभएको थियो, अहिले पनि सारा नेपालीले त्यो सम्झिरहेका छन् । 

अहिले देशको जनसंख्याको ठूलो हिस्सा त्यसमा पनि अधिकांश युवा शक्ति वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेको र स्वदेशदेखि विदेशसम्म पनि विभिन्न समस्या भोग्नुपरेको, पाइला पाइलामा ठगिनु परिरहेको अवस्थामा तपाईँले श्रम तथा रोजगार मन्त्रालय सम्हाल्नुभएको छ ।

मलेसियालगायत अरु देशमा पनि वैदेशिक रोजगारको क्षेत्रमा रहेका केही बेथितीलाई सुधार्ने प्रयासको थालनी गरिसक्नु भएकाले हामी वैदेशिक रोजगारमा रहेका आम नेपालीहरु माझ यो क्षेत्रमा रहेका समस्या, बेथिती र ठगीहरुमा पनि सुधार हुँदै जानेछन भन्ने कुरामा केही आशा पलाएको छ । 

देशको अर्थतन्त्रको मुख्य हिस्सा रेमिट्यान्स रहेको छ । देशमा रोजगारीका पर्याप्त अवसरहरु सिर्जना नभइसकेको वर्तमान अवस्थामा चाहेर वा नचाहेर वैदेशिक रोजगार नेपाली युवाहरुका लागि बाध्यताजस्तै बनेको कुरा कतै छिपाएर नछिप्ने भइसकेको छ । 

कतिपयले वैदेशिक रोजगारलाई नकारात्मक रुपमा व्याख्या गर्दै बन्द गर्नुपर्छ भनेर भन्ने गरेका छन् । यस्ता फितला विचार र तर्कमा अल्मिलिनु भन्दा पनि अहिले वैदेशिक रोजगारीका नाममा भएको ठगी, बेथिती र विकृतीलाई रोक्दै व्यवस्थित बनाउन आवश्यक छ । स्वदेशमै रोजगारी कसरी सिर्जना गर्ने र वैदेशिक रोजगारीबाट सक्दो कसरी फाइदा लिने भन्नेकुरा अहिलेको महत्वपूर्ण पाटो हो ।

मन्त्रीज्यू, तपाईँले यो मन्त्रालय सम्हालेको पनि लामै समय भैसकेको  छ । श्रम र श्रमिक खासगरी वैदेशिक रोजगारका क्षेत्रमा रहेका श्रमिकहरुका विभिन्न समस्याहरुको पहिचान र यसको निराकरणको उपायको बारेमा विभिन्न क्षेत्रबाट पक्कैपनि सल्लाह सुझाव पाइरहनुभएको होला । आफू पनि यसबारेमा जानकार भएर सुधारका पहल गरिरहनु भएकै होला ।

तथापी म पनि एक वैदेशिक रोजगारमा रहेको एक पानीजहाजमा काम गर्ने श्रमिक भएको नाताले आफू र आफूजस्तै अन्य श्रमिक साथीहरुसँग सम्बन्धित रहेका समस्याहरुको बारेमा यसै पत्र मार्फत अवगत गराउन चाहान्छु । अनि सम्बन्धित निकायबाट सुधार र सहजताको आशा राखेको छु ।

वैदेशिक रोजगारको कुरा गर्दा विभिन्न देशका पानीजहाजमा काम गर्ने श्रमिकहरुको अवस्था तुलनात्मक रुपमा केही राम्रो, आकर्षक र सहज मानिन्छ । तर नेपालमा समुन्द्र छैन । त्यसैले होला नेपालमा यो सम्बन्धी पर्याप्त ज्ञान, कानुन र यसलाई नियमन गर्ने निकाय र संस्थाहरुको अभाव देखिन्छ । 

यही कारणले पानीजहाजको रोजगारी नेपालीहरुको लागि एक आकर्षक गन्तव्य हुँदाहुँदै पनि काम गर्न जान चाहनेले विभिन्न समस्या भोग्नु परिरहेको छ ।

पानी जहाजको काममा जाँदा आइपर्ने समस्याको पहिचान गरेर बेलैमा निराकरण र सहजीकरण नगर्ने हो भने यो क्षेत्रमा रोजगारीमा जान चाहनेले मात्र होइन काम गरिरहेको पनि काम खोसिन सक्छ ।

मेरो ब्यक्तीगत अनुभव र यस क्षेत्रमा रहेका नेपाली श्रमिकहरुले भोगेका समस्याका आधारमा यस क्षेत्रमा रहेका समस्या र सुधार गर्नुपर्ने कुराहरु तपाईँ समक्ष राखेको छु ।

१. वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाका लागि श्रम स्वीकृति र बिमा गर्नुपर्ने कुरा कामदारकै हितका लागि भएपनि श्रमको अवधी, प्रकृति र अवस्था अनुसार फरक फरक र सरल सहज बनाइयोस् ।

२. पानीजहाजमा रोजगारीका लागि जाने भनेको कुनै निश्चित देश र भुगोलमा जाने होइन ।  कुनै देश हुँदै पानीजहाज मार्फत समुद्रमा काम गर्न जाने हो । अनि कामदारले पाउने कुनै देशको भिसा वर्कपरमिट नभै ईन्ट्री भिसा मात्र हो भन्नेकुरा सम्बन्धित निकायले बुझेर सम्बन्धित कागजातहरुका आधारमा बिना झञ्जट एयरपोर्टमै श्रम इजाजतको व्यवस्था गरियोस् ।

३. आजकल जापान लगायत कतिपय देशले ‘सिम्यान’को सजिलोको लागि भिसा लगाउनु नपर्ने सम्बन्धित कम्पनिले पठाएको ‘ओके टु बोर्ड लेटर’ को आधारमा प्रवेश अनुमति दिने गरेका छन् । 

तर नेपालमा बिना भिसा श्रम स्वीकृति नदिने र श्रम स्वीकृती बिना अध्यागमन विभाग हुँदै वैध बाटोबाट रोजगारीमा जान नपाइने हुँदा वैध र सुरक्षित रोजगारीमा जान पनि विभिन्न अवैध र असुरक्षित बाटो हुँदै गन्तव्यमा जानु परिरहेको छ । त्यसैले नेपाल सरकारले या त ‘ओ के टु बोर्ड लेटर’को आधारमा सजिलै जाने ब्यबस्था मिलाओस् । 

४. हङकङमा पहिला नेपालीलाई सजिलै भिसा दिइन्थ्यो । तर अहिले लामो समय लगाइदिने, कतिपय अवस्थामा त भिसै नदिने अनि झन्झटिलो प्रक्रियाका कारण समुन्द्रमा काम गर्नेले घर बिदाबाट पानीजहाजमा पुग्न इन्ट्री भिसा मात्र भए पुग्नेमा त्यही पनि नपाउँदा खाईपाई आएको जागिरबाटै हात धुनुपर्ने अवस्था छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् । 

५. नेपालमा पानीजहाज सम्बन्धी नियमन गर्ने कुनै निकाय तथा ईन्टरनेशनल मेरीटाईम अर्गनाईजेसनसँग सम्बन्धन प्राप्त कुनै संघसंस्था छैन । त्यसैले पानीजहाजमा काम गर्न जानेका लागि कनै तालिमको व्यवस्था छैन । 

६. वैदेशिक रोजगारबाट फर्किंदा ल्याउन पाउने विभिन्न घरायसी सरसामान, टिभी लगायत झिटी गुण्टामा एक वर्ष वा सो भन्दा बढी अवधी विदेशमा बसेर फर्केकाहरुलाई मात्र भन्सारमा विशेष छुटको व्यवस्था छ । तर पानी जहाजमा काम गर्नेहरुको करार अवधी प्राय एक वर्षभन्दा कम हुने भएकाले उनीहरुलाई यो सुविधाबाट बन्चित नगरियोस् ।

७ . वैदेशिक रोजगारमा विभिन्न ठाउँमा रहेका र पानीजहाजमा कार्यरत कामदारहरुको यकिन तथ्याङ्क र उनीहरुको अवस्थाको पहिचान गरी समस्यामा रहेकाहरुको उचित व्यवस्थापन गरियोस् ।

८. सिमेनहरु सम्बन्धित कम्पनीबाट ठगिएमा, शोषणमा परेमा वा अन्य कुनै समस्यामा परेमा उनीहरुले तुरुन्त सम्पर्क गर्ने र उनीहरुका समस्याको सुनुवाई गर्ने, कानुनी उपचार गर्ने र तत्काल उद्धार गर्ने कुनै छुट्टै, सहज र भरपर्दाे निकाय नभएको हुँदा सो तर्फ सरकारको ध्यान जाओस् । 

९. स्वदेश तथा विदेशमा हुने विभिन्न ठगी र समस्याहरुबाट बच्न स्वदेशमै उचित तालिम र दक्षता प्रदान गरी सरकारी तवरवाटै कामदार पठाउने व्यवस्था गरियोस् ।

१०. वैदेशिक रोजगार बाट भित्रिने रेमिट्यान्सलाई बैंकिङ वा आधिकारिक माध्यमबाट भित्र्याई राष्ट्रहितमा लगाउन यसरी पठाउनेहरुको लगत राख्दै उनीहरुलाई विशेष सहुलियत र प्रोत्साहन गरियोस् ।

यसरी हेर्दा रहर वा बाध्यता जुनसुकै कारणले होेस वैदेशिक रोजगार आजको दिनमा देशका लागि अर्थतन्त्रको एक हिस्सा (रेमिट्यान्स) अनि व्यक्ति र परिवारका लागि जिवन निर्वाह र आर्थिक जोहोको अपरिहार्य माध्यम बनेको छ ।

केही सकारात्मक पाटा हुँदाहुँदै पनि वैदेशिक रोजगारीका क्षेत्रमा रहेका विभिन्न समस्या र यसबाट उत्पन्न हुन सक्ने कतिपय व्यक्तीगत र पारिवारिक विखण्डन जस्ता नकारात्मक कुराहरुको बेलैमा पहिचान गरी निराकरणका उपाय सरकारले खोज्नु पर्छ । 

नत्र रेमिट्यान्समा मात्र रमाइरहने र देशका युवा जनशक्ती पनि स्वदेशमै जिविकोपार्जन र आर्थिक उन्नतीका अन्य विकल्प नदेखेर दिनहुँजसो हजारौँको संख्यामा देशबाट बाहिरिदै जाने हो भने दिर्घकालिन रुपमा यसले देशलाई पक्कै पनि फाइदा भन्दा बढी बेफाईदा नै हुने कुरामा दुई मत छैन । 

त्यसैले सरकारले नीति निर्माण गर्दा र कार्यान्वयनको तहमा रहेर काम गर्नेहरुले पनि यी र यस्ता सबै तथ्यहरुलाई मनन गरेर दिर्घकालिन योजना बनाएर अघि बढ्नु आजको टड्कारो आवश्यकता बनेको छ ।

रनबहादुर थापा
चन्द्रकोट गाउँपालिका,शान्तिपुर
हाल स्टार क्रुज
एशिया प्रशान्त महासागरबाट ।

 

अन्तिम अपडेट: मंसिर १६, २०७५

तपाईको प्रतिक्रिया