दिउँसै जाँड रक्सी खाएर गाडी चलाउने बढे, कारबाहीमा पर्ने पाँच वर्षयताकै धेरै

 कात्तिक २६, २०७५ सोमबार १२:४३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकामा जाँड रक्सी खाएर दिउँसै गाडी चलाउनेको संख्या बढ्न थालेको छ । ट्राफिक प्रहरीले बेलुकीको समयमा जाँड रक्सी विरुद्ध कारबाही गरिरहेकाले दिउँसै  जाँड रक्सी खाएर गाडी चलाउने बढेका हुन् । 

ट्राफिक प्रहरीको आँखा छल्न दिउँसै जाँड रक्सी खाएर गाडी चलाउन थालेपछि अहिले दिउँसोको समयमा पनि कारबाही सुरु भएको छ ।  राति ८ बजेदेखि ११ बजेसम्म जाँड रक्सी विरुद्धको कारबाही हुने गरेको थियो । तर चाड पर्वमा दिउँसोको समयमा पनि जाँड रक्सी खाएर गाडी चलाउनेको संख्या बढेपछि कारबाही थालेको वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले बताउनुभयो । 

अरु बेलामा भने दिउँसो र पिक आवरमा जाँड रक्सी विरुद्धको कारबाहीमा अभियान चलाउन नभ्याइने उहाँले बताउनुभयो । तर तिहारको समयमा भने ट्राफिक प्रहरीले शान्ति सुरक्षाका लागि दिउँसोको समयमा पनि जाँड रक्सी विरुद्ध कारबाही थालेको थियो । 

यसपालिको तिहारमा जाँड रक्सी खाएर गाडी चलाउने ६ सय ६६ जना कारबाहीमा परेका छन् । यो पछिल्लो ५ वर्ष यताकै सबैभन्दा बढी हो । पोहोर तिहारको समयमा ५ सय ७० जना कारबाहीमा परेका थिए । यस्तै, २०७३ सालमा ५ सय ९७, २०७२ सालमा ६ सय ३८ र ७१ सालमा ४९२ जना कारबाहीमा परेका थिए । 

ट्राफिक प्रहरीले २०६८ साल मंसिर १७ गतेदेखि जाँड रक्सी खाएर गाडी चलाउनेविरुद्ध  कारबाही अभियान थालेको हो । जाँड रक्सी खाएर गाडी चलाउनेलाई ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म जरिवाना तिराउने गरिएको छ । 

यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले तिहारका बेला ट्राफिक नियम उल्लंघन गर्ने चार हजार ६ सय ६६ जनालाई कार्वाही गरेको छ । सडक लेन अनुशासन पालना नगर्ने, तोकिएको भन्दा अरु ठाउँमा यात्रु ओराल्ने चढाउनेलगायत नियम उल्लंघन गर्नेलाई महाशाखाले कारबाहीको दायरामा ल्याएको थियो ।  

पोहोर तिहारको समयमा ट्राफिक नियम पालना नगर्न चार हजार ३ सय ४२ जना कार्वाहीमा परेका थिए । परार चार हजार ९ सय ९८, २०७२ सालमा एक हजार सात सय ३६ र २०७० सालमा चार हजार ५ सय २५ जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाएको छ । 

 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया