डोटीमा पाइँदैन खुद्रा मूल्यमा रिचार्ज कार्ड

 कात्तिक २६, २०७५ सोमबार १३:४२:१९ | विमल बिष्ट

डोटी – डोटीका ग्रामिण भेगहरुमा नेपाल टेलिकम र एनसेलका प्रिपेड रिर्चाज कार्डहरुको अधिकतम खुद्रा मूल्यमा  भन्दा पनि मनपरि रकम लिने गरेको पाइएको  छ । 

जिल्ला सदरमुकामभन्दा बाहिर रहेका सबैजसो ग्रामिण भेगहरुमा व्यापारीहरुले अधिकतम खुद्रा मूल्यभन्दा १० देखि २० रुपैयाँसम्म बढी लिने गरेको प्रयोगकर्ता (ग्राहक) हरुको गुनासो छ । 

बोगटान, जोरायल, पूर्वीचौकी, पश्चिम चौकीलगायतका सडक यातायातको सुविधा पुगेका क्षेत्रहरुमा पनि अधिकतम खुद्रा मूल्यभन्दा बढी रुपैयाँ लिने गरेका छन् । रिर्चाज कार्डहरुमा अधिकतम खुद्रा मूल्य प्रष्ट उल्लेख गरेको भए पनि व्यापारीहरुले बेवास्ता गर्दै नियम विपरीत ग्राहकसँग बढी रकम असुल्ने गरेका छन् । 

कुनै पनि सामानमा तोकिएको खुद्रा मूल्यमा उपभोक्ताले उपभोग गरुन्जेलसम्मको लाग्ने सम्पूर्ण शुल्क समावेश गरिएको हुने भए पनि व्यापारीहरुले त्यसविपरीत कार्य गर्दा पनि यहाँको स्थानीय प्रशासनका तर्फबाट कुनै पहल नभएको जोरायलका स्थानीय दिपक कामीले बताउनुभयो । 

जोरायलका स्थानीय नागरिक निर्मल साहुले एक व्यापारी राम साहुलाई ‘तपाईँले तोकिएको भन्दा बढी मूल्य किन लिनु भएको ?’ भनेर सोध्दा उनको जवाफ यस्तो थियो, ‘कैलालीबाट रिचार्ज कार्ड यहाँ पु¥याउनका लागि गाडीको भाडा लाग्छ । सबैले यही मूल्यमा लग्दै आएका छन् । तपाईँलाई रिर्चाज कार्डमा तोकिएको खुद्रा मूल्यमा नै चाहिन्छ भने जहाँ पाइन्छ त्यहीँ किन्नु होला ।’ 

‘आफूलाई अनिवार्य कार्ड चाहिएको हुन्छ । गाउँको कुरो जति भने नि तिर्नै प¥यो’, उहाँले भन्नुभयो, ‘हाम्रो पीडा कसले बुझ्ने ।’ यहाँको स्थानीय प्रशासनले रिचार्ज कार्डमा मनपरि मूल्य लिएको विषयमा अहिलेसम्म कसैले पनि उजुरी नगरेका कारण आफूहरुले केही गर्न नसकेको दावी गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया