चीन भ्रमणमा निस्के काठमाडौंका मेयर–उपमेयर

 कात्तिक २६, २०७५ सोमबार १६:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भगिनी शहर सम्मेलनमा भाग लिन काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर छिमेकी देश चीन भ्रमणमा निस्कनु भएको छ ।

कात्तिक २८ गतेदेखि ३० गतेसम्म चीनको हुआन शहरमा हुन लागेको ‘चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८’ मा सहभागिता जनाउन महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी त्यसतर्फ जानु भएको हो ।

‘सेयरिङ् डिभलपमेन्ट अपरच्युनिटिज एण्ड डिपिङ् विन विन कोअपरेसन’ शीर्षकमा सहभागिहरुले आ–आफ्ना धारणा राख्ने छन् । सम्मेलनमा चीनका शहरहरुसँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगर र संघ संस्थाको प्रतिनिधित्व हुने छ ।

चाइनीज पिपुल्स एशोशिएसन फर फ्रेन्डसीप विथ फरेन कन्ट्रिज (सीपीएएफएफसी), चाइना इन्टरनेशनल फ्रेन्डसीप एशोसिएन (सीआइएफसीए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले संयुक्त रुपमा सम्मेलनको आयोजना गर्न लागेको हो ।

सम्मेलनले आधुनिक र वातावरणमैत्री शहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सहयोग मिल्ने विश्वास आफूले लिएको चीन प्रस्थान गर्नु अघि मेयर शाक्यले बताउनुभयो ।

सम्मेलनमा चीनको ल्हासा नगरले काठमाडौं महानगरलाई ‘आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसीफ सिटि अफ टिवेट अटोनोमस अवार्ड’ का लागि मनोनयन समेत गरेको छ । काठमाडौं महानगरलाई सम्मेलनमा भाग लिन ल्हासा नगरले निमन्त्रणा गरेको हो ।

मेयर शाक्य नेतृत्वको टोली सोमबार छेन्दु पुग्ने र मंगलबार ल्हासा नगरका उपप्रमुखसँग छेन्दुमा भेट गरी दुवै नगरका प्रतिनिधि मण्डल हुआन जाने कार्यक्रम रहेको छ ।

भ्रमण अवधिभर महानगरको नियमित काम हेर्न वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले ज्येष्ठताको आधारमा कार्यवाहक मेयरको जिम्मेवारी पाउनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया