स्थानीय तहका केन्द्रमा प्रहरी नहुँदा सुरक्षाको चुनौती बढ्यो

 कात्तिक २६, २०७५ सोमबार १६:४९:४७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– ओखलढुंगाका पाँच स्थानीय तहका केन्द्रमा प्रहरी चौकी नहुँदा सुरक्षा चुनौती बढेको छ ।

ओखलढुङ्गाका आठ स्थानीय तहमध्ये पाँच वटाका केन्द्रमा प्रहरी नहुँदा सुरक्षा चुनौती थपिएको हो । प्रहरी नभएपछि केन्द्रमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा पनि समस्या भएको छ । लिखु गाउँपालिकाको केन्द्र यसम, मोलुङको प्राप्चा, सुनकोसीको मूलखर्क, चम्पादेवीको ताप्केडाँडा र चिशंखुगढीको केन्द्र सेर्नामा प्रहरी चौकी छैन । केन्द्रमा चौकी नभएपछि सुरक्षामा समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताएउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहका केन्द्रमा प्रहरी नहुँदा नजिकका प्रहरी चौकीबाट धाउनुपर्ने बाध्यता छ ।’ जिल्लाका सिद्धिचरण नगरपालिकाको केन्द्र ओखलढुंगा सदरमुकाममा जिल्ला प्रहरी कार्यालय, खिजिदेम्बा गाउँपालिकाको केन्द्र खिजिफलाटेमा इलाका प्रहरी कार्यालय र मानेभञ्ज्याङ गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङमा प्रहरी चौकी रहेको छ ।

प्रहरी चौकी नभएका केन्द्रहरुमा नजिकका चौकीहरुबाट धाउनुपर्ने भएका कारण नियमित सुरक्षा दिनका लागि प्रहरीलाई समस्या हुँदै आएको छ । गाउँपालिकाका केन्द्रलाई सुरक्षा दिनका लागि जिल्लामा थप ४० जना जनशक्ति आवश्यक रहेको प्रहरी कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया