प्रधानमन्त्री तंग्रिए, अब ‘गियर’ बदल्ने अवसर !

 कात्तिक २६, २०७५ सोमबार १७:२२:२१ | मिलन तिमिल्सिना
unn.prixa.net

दसैँ, तिहार सकियो । यो हप्ता सकिन नभ्याउँदै छठ पर्व पनि सकिन्छ । सँगसँगै दसैँ, तिहार र छठपछि काम गर्छु भन्ने बहाना पनि सकिन्छ ।

आशा गरौँ, त्यसपछि सरकारी कामको मेलो अघि बढ्छ । खुरुखुरु भैरहेका कामले निरन्तरता पाउँछ । गर्न नसकेका र नभ्याएका काम थाल्न पनि दबाब बढ्छ ।

देश हाँक्ने मुख्य ठाउँमा रहेका दुई सारथीको कुरा पत्याउने हो भने अब सरकारले पनि गति लिन्छ । विकास निर्माणको कामले तीव्रता पाउँछ । तिहारअघि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो – अब सरकार ‘गियर’ फेरेर अघि बढ्छ । अनि दसैँको धपेडीका कारण अस्वस्थ हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाटै अब समृद्ध नेपालको सपना साकार पार्ने कामको नेतृत्व गर्ने घोषणा गर्नुभयो । आफू अस्पतालबाट छिट्टै फर्किने र नागरिकले अपेक्षा गरेअनुसारको काम थाल्ने उहाँको सन्देश थियो ।

साँच्चै ‘गियर’ फेर्ने अवसर

प्रधानमन्त्री ओली स्वस्थ भएर काममा फर्किसक्नुभएको छ । रातदिन विकास र समृद्धिको मात्रै सपना देख्ने उहाँसँग देशको काँचुली फेर्ने ‘भिजन’ छ । दुई तिहाई सरकारको नेतृत्व गर्नुअघि भिजन मात्रै थियो, बल थिएन । अब जे गर्न खोज्यो, त्यही गर्न सक्ने शक्ति समेत छ । कहिलेकाहीँ स्वास्थ्यले साथ नदिए पनि उहाँ आफैंले अब अस्पतालबाट फर्केपछि समृद्धिको सपना साकार पार्ने कामको नेतृत्व गर्छु भन्नुभएको छ । 

प्रधानमन्त्री ओलीका बलिया सारथी प्रचण्डले पनि सरकारले ‘गियर’ फेर्ने र अब धमाधम काम गर्ने बताउनुभएको छ । उहाँको तर्क छ, वर्षायाममा हिलो र वर्षाका कारण गाडी अघि बढ्न नसकेजस्तै सरकारले आफ्नो काम पनि भनेअनुसार गर्न सकेन । अथवा गाडीजस्तै सरकार पनि एक नम्बर गियरमा बिस्तारै चल्नुपर्यो । अब वर्षा हटेकाले सरकारले गियर फेरेर अघि बढ्ने उहाँको दावी छ ।

हुन त प्रचण्डले ‘गियर’ फेर्छु भनेको प्रधानमन्त्रीको ‘चेयर’ फेर्छु अर्थात प्रधानमन्त्रीको कुर्सीमा आफैँ बस्छु भनेका हुन् भनेर व्याख्या गर्नेहरु पनि छन् । तर आलोपालो प्रणालीको व्याख्यासहित आफ्नो पालो पर्खेर बसेका प्रचण्डले तत्काल सरकारको नेतृत्व गर्ने सम्भावना देखिँदैन । आफैंले ताकेको पालो आउन पनि कम्तीमा डेढ वर्षभन्दा धेरै पर्खनुपर्छ ।

तत्काललाई सरकारको नेतृत्व परिवर्तन हुने संकेत नदेखिएकाले आफ्नो बोली र ‘भिजन’ तथा पार्टीको घोषणापत्रअनुसार काम थालेर देखाउने अवसर प्रधानमन्त्री ओलीकै अघिल्तिर छ । यसपटक अस्वस्थ भएर अस्पताल भर्ना हुँदा धेरैले के हो, के हो भनेर अनेकथरि आशंका गरे । तर अब प्रधानमन्त्री ओली स्वस्थ हुनुहुन्छ ।

अस्पतालको बेडबाट भनेजस्तै उहाँमा देशलाई समृद्धितर्फ अघि बढाउन नेतृत्व गर्ने जोश र जाँगर बढेको हुनुपर्छ । केही गरेर देखाउने बेला यही हो भन्ने उहाँले पक्कै बुझ्नुभएको छ । छठ पर्व सकिएलगत्तै ‘गियर’ फेरेर सरकारको गतिलाई जनअपेक्षाअनुसार तीव्र पार्नुपर्ने चुनौती र अवसर उहाँको अघिल्तिर छ ।

निराशालाई आशामा बदल्ने बेला

चुनाव भएको वर्ष दिन पुग्न लाग्यो । चुनावपछि दुई तिहाईको सरकार बन्यो । देशको मुहार फेर्ने ‘भिजन’ भएका ओलीले नै सरकारको नेतृत्व गर्नुभयो । घोषणापत्रदेखि बजेट भाषणसम्म समृद्धिका खाका कोरिए । तर त्यसअनुसार सरकारले सिन्कोसमेत भाँच्न सकेन भन्ने जनगुनासो छ ।

हुन पनि यसबीचमा सरकार नागरिकले महसुस गर्न सक्नेगरी काम गर्न सकेन । सडकमा धुलोधुवाँ, खाल्डाखुल्डी, जाम र हैरानी, महंगी र कालोबजारी हटाउनुपर्ने बेला त्यतापट्टिका सबै समस्या बिर्सेझैँ गरेर प्रधानमन्त्री र मन्त्रीहरुले वर्षौँपछि सुरु हुने सम्भावना रहेका रेल र पानीजहाजको सपना मात्रै बाँडे । 

हत्या, हिंसा, बलात्कार र अराजकता जस्ता आपराधिक घटनाले नागरिक पीडित छन् । यस्तो बेला पछि पाइने सुख र समृद्धिको आश्वासन बाँड्ने काममा मात्रै सरकार अल्झियो । सुरुमा दुई तिहाईको सरकारबाट धेरै आशा गर्नेहरु निराश हुन थालेका छन् । दुई तिहाईको बलियो सरकारले पनि केही गर्न नसक्ने रहेछ भन्ने सबैलाई लाग्न थालेको छ ।

त्यसो त आवश्यक कानुन निर्माण र अरु काममा ध्यान दिनुपर्ने भएकाले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको पनि हुनसक्छ । प्रचण्डले भनेजस्तै केही अवरोधका कारण सरकारको गति एक नम्बर गियरमा सीमित भएको पनि हुन सक्छ । तर अब ‘गियर’ बदल्न ढिला भैसकेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुलाई राम्रैसँग थाहा छ, अहिले कुरा होइन, काम गर्नुपर्ने बेला हो । नागरिकको विश्वास जित्नुपर्ने समय हो । चुनावी म्यान्डेट र प्रतिबद्धताअनुसार अघि बढ्ने हो भने दुई तिहाईको बलियो सरकारले चमत्कार देखाउन नसके पनि केही त गर्दैछ है भन्ने देखाउन सक्छ । 

तत्काललाई ठूला कुरातिर त्यति ध्यान नदिए पनि पुग्छ । मेलम्ची परियोजना, चक्रपथ विस्तार, फास्ट ट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थललगायतका विकास निर्माणका धेरै काम आफ्नै रफ्तारमा अघि बढ्छन् । यसमा अनुगमन र थोरै ध्यान दिँदा मात्रै पुग्छ । 

अहिलेलाई सडकका खाल्डाखुल्डी पुर्ने, धुवाँ धुलो तथा महंगी नियन्त्रण गर्ने, शान्ति सुरक्षाको प्रत्याभूति दिने लगायतका नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने काममा मात्रै सरकार केन्द्रित हुने हो भने समृद्धिको पाइला अघि बढ्छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया