दश पटक सगरमाथा चढ्न सफल भएका आरोही पनि साइपाल हिमाल चढ्न असफल

 कात्तिक २७, २०७५ मंगलबार १८:४६:५२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ –बझाङमा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहणको प्रयास गरिहेको एक टोली आरोहण गर्न नसकेर फर्किएको छ । 

करिब २५ दिनदेखि आरोहणको प्रयास गरिरहेको अमेरिकी र क्यानेडियन आरोहीहरुको टोली हिमाल आरोहण गर्न असफल भएको हो । 

अमेरिकी नागरिक र्फोरेस्ट सि कोट्सको नेतृत्वमा रहेको त्यो टोली दक्षिणी मोहडाबाट साइपाल हिमाल आरोहण गर्नका लागि अक्टोबर ३ तारिखका दिन साइपाल आधार शिविर पुगेको थियो । 

अमेरिकाका स्की खेलाडी विलियम एस लासेल्स, ट्यालेर जोन, वेनार्ड स्ट्राग्वलेवस्की, जोन्सन थम्पसन र क्यानडाका चाड सार्यस समेत रहेको त्यो टोलीले हिमालको चुचुरोमा पुगेर स्की खेल्दै फर्कने योजना बनाएको थियो । 

अक्टोबर २७ तारिखको बिहान आरोहण दलका सदस्यमध्ये ट्यालेर जोन र वेनार्ड स्ट्राग्लेवस्की ६ हजार ७ सय मिटरसम्म पुगेका  थिए । अप्रत्यासित रुपमा तापक्रम घटेको र तीव्र गतिमा हावा चलेका कारण उनीहरु चुचुरोमा पुग्न नसकी फर्किएका थिए ।  यो अवधिमा उनीहरुले तीनपटक साइपाल आरोहणको प्रयास गरे, तर तीनवटै प्रयास असफल भएको आरोहण दलका सहयोगी दिलबहादुर थापा मगरले बताउनुभयो । 

‘६० डिग्रीभन्दा बढी भिरालोपन भएका कारण दक्षिणी मोहडाबाट साइपाल आरोहण गर्न उसै पनि गाह्रो छ’, उहाँले भन्नुभयो, ‘त्यसैमाथि लगातार हिमपात हुने र जोरले हावा चल्ने भएका कारण हाम्रो टोली चुचुरोमा पुग्न सकेन ।’  दिउँसो एक घण्टा र बिहान सबेर एक डेढ घण्टा जति मात्र हावा बन्द हुने र त्यो समय चुचुरोसम्म पुग्नका लागि अपर्याप्त हुने उहाँको भनाई छ । 

अमेरिकी र क्यानेडियन टोली असफल भए पनि चार जना बझाङी चेलीसहितको विश्वविख्यात आरोहीहरुको टोलीले भने आरोहणको प्रयास गरिरहेको छ । जिल्लामै पहिलो पटक साइपाल गाउँपालिकाका लक्ष्मी बुढा, संगिता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले साइपाल हिमालको दक्षिणी मोहडाबाट कात्तिकको तस्रो हप्ताबाट आरोहणको प्रयास गर्नेछन् । यो हिमालको दक्षिणी मोहडाबाट हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् । 

उनीहरुलाई आरोहणमा सहयोग गर्नका लागि संसारभर रहेका  आठ हजार मिटरभन्दा बढी उचाइका सबै १४ वटा हिमाल चढेर विश्व रेर्कड कायम गरिसकेका गिनिजबुुक रेकर्डधारी स्पेनिश नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुुर्ने पासावनलगायतका १२ जना विदेशी आरोहीको टोली फर्किएको छ । यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छिन् । 

आरोहण दलमा १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पासहितका ५ जना अनुभवी शेर्पाहरुको टोलीसमेत रहेको छ । शेर्पाहरुले आरोहण गर्नका लागि आरोहण मार्गमा डोरी टाँग्ने काम गरिरहेको र आधार शिविरबाट आरोहण दलका सदस्यहरु करिब ५ हजार ५ सय मिटरको उचाइमा रहेको हाइक्याम्पमा पुग्नुभएका पर्यटन विभागका सम्पर्क अधिकृत मुकेश डंगोलले बताउनुभयो । 

यो टोली झण्डै १५ दिनसम्म साइपाल क्षेत्रमा रहने र  मौसम अनुकूल हुन बित्तिकै हिमाल आरोहणको प्रयास गरिने लाक्पा नोर्बु शेर्पाले जानकारी दिनुभयो । उहाँले दिनहुँजसो भैरहेको हिमपात र तीव्र गतिको हावाका  कारण आरोहण मार्गमा डोरी टाँग्ने काममा समस्या भैरहेको बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया