गोरखकाली रबर उद्योगका कर्मचारी र मजदुरलाई अनिवार्य अवकाशको तयारी

 कात्तिक २८, २०७५ बुधबार ८:५३:२५ | किरण लोहनी
unn.prixa.net

गोरखा – सरकारले गोरखकाली रबर उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीलाई अनिवार्य अवकाश दिने भएको छ ।

अनिवार्य अवकाश दिनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले सहसचीव शोभाकान्त पौडेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएर अनिवार्य अवकाश दिँदा पूरा गर्नुपर्ने आर्थिक दायित्वलगायतका विषयमा अध्ययन गरेको थियो । कार्यदलमा अर्थमन्त्रालयका प्रतिनिधि, रबर उद्योगका महाप्रवन्धक लगायत सदस्य रहेका छन् । 

कार्यदलले अनिवार्य अवकाश दिँदा अहिलेसम्म पाउनुपर्ने तलबभत्तासहित एक महिनाको तलब बराबरको अतिरिक्त रकम दिन सिफारिस गरेको उद्योगका महाप्रवन्धक एवम् कार्यदलका सदस्य दिनेशकुमार बर्तौलाले बताउनुभयो । तर रबर उद्योगका मजदुर तथा कर्मचारी संघसंगठनले भने कम्तीमा ३ महिनाको तलब बराबरको अतिरिक्त रकम दिएर बिदाई गर्नुपर्ने माग राखेका छन् । 

“अहिलेसम्म बाँकी तलब दिएर चाडबाडकै बेला बिदा गर्ने भन्ने थियो” बर्तौलाले भन्नुभयो, “कति समयको अतिरिक्त रकम दिने भन्नेमा टुंगो लागेको छैन, छिट्टै निकाश निस्कन्छ होला ।” उद्योगका २ सय ३८ मजदुर र कर्मचारीलाई बाँकी तलब दिनमात्रै करिब ३० करोड रुपैयाँ लाग्ने देखिएको छ ।

५५ वर्षको उमेरहदका कारण अनिवार्य अवकाश पाएका ६५ जनालाई उपदान वापत झण्डै १० करोड रुपैयाँ दिन बाँकी रहेको छ । तलब र उपदानसहित एक महिनाको अतिरिक्त रकम दिने हो भने पनि झण्डै एक अर्ब रुपैयाँ चाहिन्छ । मजदुरको माग अनुसार तीन महिनाको थप रकम दिनु परेमा १ अर्ब ८० करोड रुपैयाँ चाहिने कार्यदलका सदस्य एवम् उद्योगका महाप्रवन्धक बतौलाले बताउनुभयो ।

अहिलेसम्मको तलवभत्ता, अवकाश पाएकाहरुको उपदान, सञ्चयकोष, जीवनबीमा, सञ्चित बिदालगायत शीर्षकको रकम भुक्तानी गर्न यो रकम आवश्यक पर्ने देखिएको हो । 

उद्योगको समग्र अवस्थाका बारेमा अध्ययन गरी सुझाव दिन बनाइएको कार्यदलले पहिलो चरणमा त्यहाँ कार्यरत मजदुरहरुको व्यवस्थापनका विषयमा प्रतिवेदन तयार पारेको हो ।

कार्यदलले उद्योगका कर्मचारी र मजदुरको आर्थिक दायित्व कसरी पूरा गर्ने भन्ने विषयमा सुझाव दिएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताउनुभयो । कार्यदलको प्रतिवेदनबारे अर्थलगायत अन्य सरोकारवाला मन्त्रालयसँग छलफल भैरहेको उहाँको भनाई छ ।

कर्मचारी र मजदुरलाई अवकाश दिए पनि रबर उद्योग चलाउने कि बन्द गर्ने भन्नेबारे भने मन्त्रालयले कुनै निर्णय गरेको छैन । “सरकारको प्रयत्न पुनः सञ्चालन गर्नुपर्छ भन्नेतिरै रहन्छ” प्रवक्ता भट्टराईले भन्नुभयो, “प्राविधिक र प्रशासनिक हिसावले उद्योग चलाइराख्नु कति उपयुक्त छ भन्नेबारे थप अध्ययन हुन बाँकी छ” । देशकै एकमात्रै गोरखकाली रबर उद्योग २०७२ सालको भूकम्पयता पूर्ण रुपमा बन्द छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया