मकैले सजिएको महतगाउँ

 कात्तिक २८, २०७५ बुधबार १४:५:४४ | राजु लामिछाने

रुकुम पूर्व – रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर ६ को महतगाउँ । लोभलाग्दो महतगाउँ, झनै मोहनी लाग्ने गरी सजाइएका मकै । 

विज्ञहरुले अन्न भण्डारणका नयाँ–नयाँ तरिका निकालिरहेका छन्, सिकाइरहेका पनि छन् । अनाज भण्डारणका लागि आधुनिक भाँडावर्तन निर्माण भएका छन् । ।

अनाजलाई सुरक्षित, राख्न, रोग किराबाट जोगाउन औषधि नबनेका होइनन् । तर रुकुम पूर्वका केही गाउँ त्यस्ता छन्, जहाँको अनाज विशेषगरी मकैलाई प्रकृतिकै रेखदेखमा छाडिन्छ ।

जिल्लाको पूर्वी क्षेत्रका अधिकांश स्थानीयले (पोक) बोक्रा छोडाइसकेको मकैलाई खुला आकाशमुनि नै राख्ने गर्छन् । घाम,  पानी खुवाउनकै लागि बोक्रा छोडाइएका मकैलाई बाहिर राख्ने गरेको स्थानीय बताउँछन् । पूर्वी रुकुमको एउटा गाउँ महतमा पनि यो चलन कायमै छ ।

स्थानीयसमेत रहनु भएका जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर वलीका अनुसार, घाम, पानी पचाएका मकैमा किरा नलाग्नुका साथै त्यसबाट बनेको पिठो पनि राम्रो हुन्छ ।

शीत आएको मकै बलियो हुने विश्वास र मकैबाट बन्ने ढिँडो र रोटीमा रसिलो हुने भएकोले यसरी प्रकृतिमै छोड्ने गरेको उहाँले बताउनुभयो । यसको साथै खाजाको लागि पनि यसरी राखेको मकै स्वादिष्ट हुन्छन् । 

असोजदेखि कात्तिक महिनामा बारीबाट निकालिएको मकै माघदेखि गेडा निकाल्न सुरु हुन्छ । गेडा निकाल्ने क्रम चैतसम्म जारी रहने स्थानीयले जानकारी दिए । यहाँ उत्पादित मकै स्थानीय स्तरमै बढी प्रयोग हुन्छ भने केही मात्रामा बजारीकरण पनि हुने गरेको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया