पासाेमा परेकाे चितुवा नरभक्षी हो, हैन पत्ता लगाउन  चितुवाको डीएनए परीक्षण हुँदै

 कात्तिक २८, २०७५ बुधबार १४:३७:२० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको ढिकुरा पियाले खोलामा थापेको पासोमा परेर मरेको चितुवा नरभक्षी हो हैन भनेर पत्ता लगाउन डीएनए जाँचको लागि पठाइएको छ । 

चिुतुवा नरभक्षी हो हैन भनेर पत्ता लगाउन पासोमा परि उद्धारको क्रममा मरेको चितुवाको रगत, र्‍याल, बच्चाको रगत, जंगलमा बच्चा भेटिएको स्थानका विभिन्न नमूनाहरु परीक्षणका लागि काठमाडाैंमा रहेको प्रयोगशालामा पठाइएको सहायक वन अधिकृत शिला पोख्रेलले बताउनुभयाे । 

नरभक्षी चितुवाको आक्रमणले आतंकित बनेका अर्घाखाँचीका स्थानीयहरु चितुवा पासोमा परेर मरेपछि खुशी भएका छन् । चितुवा पासोमा परेपछि ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोट लगायतका स्थानीयहरु अत्यन्तै हर्षित भएका हुन् । तर नरभक्षी चितुवा हो हैन भनेर पत्ता लगाउन डीएनए परीक्षणको लागि पठाइएको हो । 

नरभक्षी चितुवाले पछिल्लो पाँच वर्षमा अर्घाखाँचीमा दुइ दर्जन बालबालिकालाई आक्रमण गरेको छ । जस्का कारण १४ जनाको ज्यान गएको र १० जना घाइते उपचारपछि निको भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।    

चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाँडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दा त्रसित भएका छन् । 

चितुवाको डरले गाँउ छाडन बाध्य भएको र चेलीबेटी तथा आफन्तहरु बालबच्चा लिएर ढिकुरा, कुर, किमडाँडा, नुवाकोट लगायतका स्थानमा आउन छाडेको समयमा ढिकुराको पियाले खोलामा राखेको पासोमा चितुवा परेको र उद्धारको क्रममा मरेको हो ।

गएको शनिबार साँझ नरभक्षी चितुवाको आक्रमणबाट ढिकुराको पियालेमा ४ वर्षीय बालकको ज्यान गएपछि नरभक्षी चितुवा मार्न प्रहरी परिचालन गरिएको थियो । 

स्थानीयहरुले चितुवा पासोमा पार्न बाघ खोर (पासो) थापेका थिए । त्यही पासोमा चितुवा परेको बताइएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया