एल्जिना हत्या प्रकरण : आफन्तले शव बुझे, अनुसन्धानमा रहेका ६ मध्ये ४ जनालाई छोडियो

 कात्तिक २८, २०७५ बुधबार १७:३६:२४ | सुमित्रा कोइराला

उदयपुर – १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका ६ मध्ये ४  जनालाई छाडिएकाे छ । दुई जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । 

पक्राउ परेका दुई जनाले नै घटना घटाएको हो भन्ने प्रमाण नजिक पुगेकाले नियन्त्रणमा लिएका ६ मध्ये चारलाई  छोड्न बालिकाका आफन्त पनि सहमत भएकाले शव बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गएको शनिबार उदयपुरको रौतामाई गाउँपालिका –३, लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्याको भएको थियो । ‘प्रहरी अनुसन्धानमा पक्राउ परेका ४ जनाको संलग्नता नदेखिएपछि परिवारलाई शव बुझाउदै आवश्यक परे पुनः उपस्थिति हुने गरी छाडिएको छ’, एसपी चन्द्रदेव राईले भन्नुभयो, ‘घटनामा संलग्न रही अपराधी देखिएका दुईजनालाई पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्ने तयारी प्रक्रिया थालेका छौँ ।’

‘सोमबार पक्राउ परेका १७ वर्षीय किशोर र मंगलबार दिउँसो पक्राउ परेका १५ वर्षीय किशोेर प्रहरी हिरासतमा छन्’, उहाँले भन्नुभयो, ‘हामी घटनाका अपराधी नजिक पुगिसकेका छौ, छिट्टै प्रमाणित गरी सार्वजनिक गर्छौँ ।’

बालिकाको शव मंगलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउँदै प्रहरीले आफन्तलाई अपराधी सार्वजनिक गर्ने बचन दिएको छ । प्रहरीले अपराधी पहिचान गर्ने बचन दिएपश्चात  शव बुझेको एल्जिनाका बुवा दुर्गाबहादुर खड्काले बताउनुभयो ।  

गएको शनिबार घरबाट बाखा्र चराउन गएकी एल्जिना आइतबार दिउँसो घर नजिकैको खरबारीमा मृत फेला परेकी थिइन् । सोमबार प्रहरीले पाँच जनालाई अनुसन्धानका लागि लिएको थियो भने शव पोष्टमार्टमका लागि ल्याई मंगलबार पोष्टमार्टम गरेको थियो । 

हिरासतमा रहेका २ जनाको परिचय भने खुलाइएको छैन । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया