‘गङनम स्टाइल’ गायक ‘सार्इ’ नेपाल आउँदै,  नेपाली कलाकारको पनि प्रस्तुति हुने

 कात्तिक २८, २०७५ बुधबार १८:३०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’ का गायक ‘सार्इ’ अर्थात पार्क जेई साङ नेपाल आउने भएका छन् ।

नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

‘सार्इ विथ के पप लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्ट डिसेम्बर १५ तारिखमा खुमलटार, सातदोबाटोमा रहेकाे रेडियो नेपालको ग्राउण्डमा हुनेछ । ५ घण्टासम्म चल्ने कन्सर्टमा नेपालको तर्फबाट  दीपक बज्राचार्यसँगै हास्यकलाकार राजा राजेन्द्र पोखरेल, गायिका मिलन अमात्य, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी लगायतले प्रस्तुति दिनेछन् ।

कन्सर्टमा गायक बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्डसहितको प्रस्तुति दिनेछन् । त्यस्तै दीपकको ब्याण्डसँगै कोरियाका अन्य विभिन्न चर्चित ब्याण्डले आफ्नो प्रस्तुति राख्नेछन् जसमा बिएपी, एसएफ नाइन, एओए, मोमोल्यान्ड, बेरी गुड, बड्किज ब्याण्ड छन् ।

‘सार्इ’ दक्षिण कोरियाका गायक, र्‍यापर र रचनाकार हुन् । उनी कोरियामा कमेडी स्टेज प्रस्तुति र भिडियोमार्फत चर्चित छन् । उनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गीत भने गङनम स्टाइल नै हो ।

१५ जुलाई २०१२ मा सार्वजनिक भएको गङनम स्टाइल गीतको भिडियो २१ डिसेम्बर २०१२ सम्म यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज पाउने गीत बनेको थियो । गीतको भ्युजसँगै उनी पनि संसारभर चिनिएका हुन् ।

अहिलेसम्म यो गीतलाई ३ अर्ब भन्दा बढी पटक हेरिसकिएको छ । यो गीत चर्चामा आएको समयमा विश्वप्रसिद्ध राजनीतिज्ञहरुले समेत गङनम स्टाइलमा डान्स गर्ने प्रयास गरेका थिए ।


– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया