दाङ–काठमाडौं हवाई उडान अब हप्तामा तीन दिन

 कात्तिक २८, २०७५ बुधबार १८:३६:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङ–काठमाडौं हवाई उडान अब सातामा तीन दिन हुने भएको छ ।

यसभन्दा अगाडि सोमबार र शुक्रबार नियमित उडान हुँदै आएकोमा मंसिर १ गतेदेखि लागू हुने गरी बुधबारसमेत थप गरेर सातामा तीन दिन उडान हुन लागेको नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिनुभयो । ‘यात्रुको माग भएबमोजिम हामीले तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गरेर उडान थप गरेका हौँ’, प्रवक्ता सिग्देलले भन्नुभयो ।

मंसिर महिनाभरमा यात्रुको चाप र माग भए पुस महिनाबाट दैनिक हवाई सेवा सञ्चालनका लागि निगमले तयारी गरिरहेको पनि नेपाल वायुसेवा निगमका कमर्सियल विभाग प्रमुख टंकनिधि दाहालले बताउनुभयो । ‘हामीले दैनिक उडान हुँदा यात्रुसंख्या पुग्ने अवस्था हुने भयो भने नियमित उडान गर्नेछौँ’, दाहालले बताउनुभयो  ।

टर्मिनल भवन बन्ने

तुलसीपुर विमानस्थल सञ्चालनसँगै यात्रु सुविधाका लागि सुविधा सम्पन्न टर्मिनल भवन वन्ने भएको छ । भवन निर्माणका लागि केन्द्रबाट बजेट विनियोजन भइसकेको र तत्काल निर्माण प्रक्रिया अगाडि बढाइने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

‘टर्मिनल भवनका लागि सरकारले बजेट विनियोजन गर्नुले पनि विमान सेवा नियमित हुने अपेक्षा गर्न सकिन्छ’, पाण्डेले बताउनुभयो । उहाँले अस्थायी इन्धन डिपोको लागि सरकारले निर्णय गरिसकेको जानकारी दिँदै  अन्य प्रक्रियासमेत अगाडि वढिसकेको बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया