कांग्रेस युवा नेताहरुको पनि छुट्टै भेला, सभापति देउवा घेराबन्दीमा

 कात्तिक २९, २०७५ बिहिबार १३:३९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - पार्टीभित्र गुट उपगुट र तीव्र विवाद बढ्न थालेपछि कांग्रेसका युवा नेताहरु पनि भेलामा जुट्न थालेका छन् । सोमबार कांग्रेस नेतृ सुजाता कोइराला निवासमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरु भेला भए ।

नजिकिँदै गरेको महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरिक रणनीति तयार पार्न र पार्टी सभापतिको एकलौटी कार्यशैलीको विरोध जनाउन भेला भएको उनीहरुले बताएका थिए । 

बुधबार फेरि कांग्रेस युवा नेताहरु छुट्टै भेला भए । उनीहरुले पनि नजिकिँदै गरेको महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा नै छलफल भएको बताएका छन् । 

युवा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार लगायत ६ जना युवा नेता भेलामा सहभागी थिए । महासमिति बैठक, नेविसंघको महाअधिवेशन, विधान संशोधन र सभापति देउवाको कार्यशैली लगायतका विषयमा अनौपचारिक छलफल भएको भेलामा सहभागी नेता गुरुराज घिमिरेले बताउनुभयो ।

शुक्रबार थप छलफल हुने र छलफलबाट एउटा निर्णय निकालेर त्यसै अनुरुप अघि बढ्ने पनि उहाँले बताउनुभयो । विधान संशोधनको प्रक्रिया चलिरहेका बेला पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पौडेल–सिटौला समूहका साथै युवा नेताहरु पनि रुष्ट बन्दै आएका छन् ।

पार्टी सुदृढ बनाउन एकलौटी ढंगले नभई सबै सामूहिक रुपमा अघि बढ्नुको विकल्प नभएको युवा नेताहरुको निष्कर्ष रहेको सहभागीहरुले बताएका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया