मनाङको एउटै बगानबाट ५ सय टन स्याउ उत्पादन

 कात्तिक २९, २०७५ बिहिबार १७:०:११ | श्यामशितल परियार

लमजुङ – हिमालपारिको जिल्ला मनाङमा आधुनिक ढंगले व्यावसायिक स्याउ खेती गरिएको छ । 

ङिस्याङ गाउँपालिका–१, भ्राताङमा व्यावसायिक स्याउ खेती गरिएको हो । ‘एग्रो मनाङ कृषि फार्म’ ले भ्राताङमा स्याउ उत्पादन गर्दै आएको छ । 

माथिल्लो मनाङ, टंकी मनाङ, खाङ्सार, टावल, पिसाङ र भ्राकाको संगोलमा रहेको ७ सय ३५ रोपनी जग्गा भाडामा लिई भ्राताङमा स्याउ खेती गरिएको छ । ‘एग्रो मनाङ कृषि फार्म’का सञ्चालक भने प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ हुनुहुन्छ । गुरुङका छोरा एवम् फार्मका निर्देशक सम्राज गुरुङका अनुसार फार्ममा सर्बिया र इटालीबाट गाला, गोल्डेन र फुजी जातका बिरुवा ल्याएर स्याउ खेती गरिएको हो । फार्ममा ३० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।

‘ग्रेडिङ’ र ‘प्याकिङ’ धमाधम   

फार्मबाट गएको वर्ष ३ सय टन स्याउ उत्पादन भएको थियो । यसवर्ष फार्मबाट ५ सय टन स्याउ उत्पादन भएको छ । यस परिणामबाट ५ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ । अहिले फार्ममा उत्पादित स्याउको ‘गे्रडिङ’ र ‘प्याकिङ’को काम धमाधम चलिरहेको छ ।    

‘स्याउ टिपेका छौँ । अहिले हामी प्याकिङ गर्न व्यस्त छौँ । यसवर्ष उत्पादन राम्रो छ । झण्डै ५ सय टन स्याउ उत्पादन हुने अनुमान गरेका छौँ’, फार्मका निर्देशक सम्राजले भन्नुभयो । 

फार्ममा ५० जना बढीले रोजगार पाएका छन् । फार्मका सुपरभाइजर राजु तामाङका अनुसार फार्मबाट उत्पादित स्याउ देशका मुख्य शहर काठमाडौँ, पोखरा, चितवनसम्म पुग्ने गरेका छन् । अहिले पिसाङमै स्याउको जुस उद्योग र कोल्ड स्टोरसमेत स्थापना गरिएको छ । 

पर्यटकको रोजाईमा स्याउबारी   

एग्रो फार्मले जुस, ड्राई एप्पल बनाउन थालेको छ । फुजी, गाला र गोल्डेन जातका स्याउ क्रमशः सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा तयार हुन्छन् । तीन महिनासम्ममा फार्मबाट उत्पादित स्याउ बजार पुर्याउन र ‘स्टोरेज’ गर्न सजिलो हुन्छ । 

मनाङको स्याउ फार्म पर्यटकको रोजाईमा समेत पर्ने गरेको स्थानीय सञ्चारकर्मी नेगम परियारले बताउनुभयो । 

‘पर्यटकहरु फार्ममा पुगी स्याउबारी घुम्छन् । स्याउ बारीमा तस्बिर खिच्छन् । साथमा स्याउको जुस पिउँछन् । यसो गर्न पाउँदा पर्यटक निकै खुशी हुन्छन्’, उहाँले थप्नुभयो । 

सरोकारवालाका अनुसार हिमाली क्षेत्रहरुमा स्याउ उत्पादन गर्न सके, उत्पादित स्याउको उचित बजारीकरणको व्यवस्था हुन सकेमा नागरिकको जीवनस्तर उकासिन मद्धत पुग्छ । मुलुकमा बाहिरबाट स्याउ आयात गर्नुपर्ने अवस्था हट्छ ।

बरु उत्पादित स्याउ बाहिर निर्यात गर्न सकेमा मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने देखिन्छ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया