मेलामा रोटेपिङ ढल्दा ५ घाइते

 कात्तिक २९, २०७५ बिहिबार १७:५१:२९ | राजु लामिछाने
unn.prixa.net

घाइतेकाे उपचार हुँदै

रुकुम पश्चिम – आठबीसकोट नगरपालिका –९, राडीमा लागेको मेलामा पिङ ढल्दा ५ जना घाइते भएका छन् । 

राडीमा बुधबारदेखि सुरु भएको परम्परागत चौतारा मेलामा चलिरहेको फलामको रोटेपिङ ढल्दा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा आठबीसकोट नगरपालिका –४, आरुखोला गोतामकोटका ५२ वर्षीय कालिबहादुर बि.क., उनकी श्रीमती ५१ वर्षीया बेलमती बि.क., वडा नं. ११ गोइरीकी १४ वर्षीया दिपा सिंह, वडा नं. ९ बटाला गाउँकी ७ वर्षीया बिमला परियार र नलगाड नगरपालिका –८, हलचौर जाजरकोटका ९ वर्षीय लोकेन्द्र खत्री रहेको इलाका प्रहरी कार्यालय आठबीसकोटका इञ्चार्ज मदन शाहीले जानकारी दिनुभयो । 

घाइते हुनेमध्ये आठबीसकोट नगरपालिका –११, गोइरीकी १४ वर्षीया दिपा सिंह मात्र पिङमा चढेकी थिइन् भने अन्य सबै पिङ नजिकै रहेकाले चेपिएर घाइते भएका हुन् । 

घाइतेमध्ये कालीबहादुर र लोकेन्द्रको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कालीबहादुरको ढाड र कम्मरमा समस्या देखिएको छ भने र लोकेन्द्रको टाउकोमा चोट लागेको छ । गम्भीर घाइते भएका कालीबहादुरले नै पिङ सञ्चालन गरेको बताइएको छ । घाइतेहरुको आठबीसकोट नगरअस्पताल राडीमा उपचार भैरहेकोे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया