धुमधामका साथ दोस्रो दिन लुम्बिनीमा त्रिपिटक पाठ(फोटोसहित)

 कात्तिक २९, २०७५ बिहिबार १९:२:१ | गोपाल भण्डारी

कपिलवस्तु – नेपालमै पहिलो पटक बौद्ध धर्म ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम भव्यताका साथ बुधबारबाट लुम्बिनीमा सुरु भएको छ । 

१८ देशका ५ सयभन्दा बढी भिक्षु भिक्षुणी र उपासकसमेत गरी झण्डै २ हजार जनाको उपस्थितिमा ३ दिने त्रिपिटक वाचन कार्यक्रम लुम्बिनीको मायादेवी मन्दिर नजिकैको बगैँचामा सुरु गरिएको हो । 

कार्यक्रमअनुसार पहिलो दिन हिजो बुधबार थाई भिक्षुहरुबाट सुरु गरिएको त्रिपिटक पाठ नेपाली, म्यानमार, थाइल्याण्ड र श्रीलंकाका भिक्षुले गरेका थिए । यसैगरी कार्यक्रमको आज दोस्रो दिन नेपालका महायनी सम्प्रदाय, हिमाली लामा, चीन, जापानी र भियतनामी भिक्षुले पाठ गरेका छन् । त्यसै अवसरमा आज बिहान कार्यक्रमस्थलमा नेपालका लागि अमेरिकी राजदूतको पनि उपस्थति रहेको थियो । 

नेपालमै पहिलो पटक आयोजना गरिएको यो कार्यक्रमबाट आम नेपाली तथा विदेशीहरुमा बुद्ध धर्म ग्रन्थ त्रिपिटकको बारेमा प्रचार हुने अपेक्षासहित बुद्ध जन्मस्थल लुम्बिनीको संसारभर प्रचारप्रसार हुने अपेक्षा गरिएको कार्यक्रमका आयोजक एवं अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले बताउनुभयो । 

कार्यक्रमअनुसार शुक्रबार थाई भन्तेको नेतृत्वमा पाठ सुरु हुनेछ । त्यसपछि कम्बोडिया, नेपाली र क्यानेडियन भिक्षुले त्रिपिटक पाठ गर्ने लुम्बिनी विकास कोषका का.मु. सदस्य सचिव सरोज भट्राईले बताउनुभयो । ‘यो कार्यक्रमले  लुम्बिनीलाई विश्व शान्तिको मुहानको रुपमा चिनाउन निकै सहयोग पुग्छ भन्ने सोचेका छौँ’, सदस्य सचिव भट्राईले भन्नुभयो, ‘शाक्य मुनि बुद्धका बारेमा बुझेका नेपालीहरुलाई बुद्ध धर्म ग्रन्थ त्रिपिटकको बारेमा जानकारी दिन र बुद्ध जन्मस्थल लुम्बिनीको महिमा एवं प्रचारप्रसार संसारभर फैलाउन कार्यक्रम फलदायी हुनेछ ।’

कार्यक्रमस्थल लुम्बिनी क्षेत्रलाई पूर्ण सरसफाइ, पुष्प गुच्छा, बौद्ध झण्डा, तुल, ब्यानरले सिंगारिएको छ । प्रत्येक दिन ५ बजे पाठ सकि पछि २ घण्टा बौद्ध विद्वान, संघ नायक र रिम्पोछेबाट धर्म देशना दिने गरिएको छ । 

कार्यक्रममा भगवान बुद्धले शुद्धोदन महाराजलाई देशना गर्नु भएको वसन्त्र जातक सुत्र पाठ गरिएको छ । त्यस्तै शाक्य र कोलीयहरुबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै देशना गर्नु भएको महासमय सुत्र पाठ गरिएको छ । यहा पाठ गरिने सुत्र थाई र देवनागरी लिपिमा पुस्तकका रुपमा समेत प्रकाशित गरिसकिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया