आर्मी क्लबका तीन खेलाडी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनलमा

 कात्तिक २९, २०७५ बिहिबार १९:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका तीन खेलाडी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । 

त्रिपुरेश्वरमा रहेकाे राखेप कभर्डहलमा भएको क्वार्टरफाइनलमा सेनाका रत्नजित तामाङ पुलिसका निर बिक्रम देवकोटालाई २१–१७, २१–१८ ले पन्छाउँदै अन्तिम चारमा पुगेका छन् । अब सेमिफाइनलमा उनले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्नेछन् ।

रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१–१६, २१–१९ ले हराउँदै सेमिफाइनलमा पुगेका छन् । 

यस्तै सेनाका अर्का खेलाडी नविन श्रेष्ठले भोजपुरका बिकास श्रेष्ठलाई २१–१९, २१–११ ले हराए । श्रेष्ठले फाइनल प्रवेशका लागि एपीएफका दिपेश धामीको सामना गर्नेछन् । दिपेशले शिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१६, २२–२० ले पराजित गरे ।

महिला एकलतर्फ नेपाली सेनाका दुई र एपीएफका दुई खेलाडीले अन्तिम चारको यात्रा तय गरे । बिहीबार भएको क्वार्टरफाइनलमा सेनाकी नङशल देवी तामाङ बाँकेकी सम्झना शर्मालाई २१–१२ र २१–८ ले हराउँदै सेमिफाइनलमा पुगिन् । 

फाइनल प्रवेशका लागि नङशलले एपीएफकी शोभा गौचनसँग खेल्नेछिन् । शोभा सेनाकी अनुमाया राईलाई हराउँदै सेमिफाइनलमा पुगेकी हुन् । यस्तै सेनाकी रशिला महर्जनले गत सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङ्गसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछिन् ।

रशिलाले सेनाकै रञ्जना भट्ट र जेशिकाले सेनाकी अमिता गिरीलाई हराए ।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु—१७ व्वाईजतर्फ सिल्क ग्रुपका प्रिन्स दाहालले कैलालीका जेबी साउदलाई २१–७, २१–९को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । 

यस स्पर्धामा जेष्ठ ब्याडमिण्टनका प्रियांशु सिंह क्षेत्री र पेम्बा शेर्पा तथा सेनाका दिवश शंकरले पनि सेमिफाइनलमा स्थान बनाए ।

यु—१७ गल्र्स तर्फ सेनाका रशिला महर्जन र रञ्जना भट्ट तथा मोरङ्गका रोज पाण्डे र सिमा राजबंशी अन्तिम चारमा पुगे ।

पुरुष युगलतर्फको खेलमा एपिएफका दिपेश धामी र विजित थापा मगर तथा गौतम कठायत र सुनिल जोशीको जोडी अन्तिम चारमा पुग्यो । यस्तै सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तथा रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले पनि सेमिमा स्थान पक्का गरे । 

प्रतियोगिताको महिला युगलतर्फ सेनाका अनुमाया राई र अमिता गिरीको जोडीले सेमिफाइनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको सामना गर्ने भएका छन् ।

यस्तै अर्को प्रतिस्पर्धा सेनाका नङशल तामाङ र रशिला महर्जनको जोडीले भोजपुर र बाँकेका सिता राई र सम्झना शर्माको जोडीबीच हुनेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया