वैदेशिक रोजगारीको पीडा समेटिएको गीत ‘छोरो गयो परदेश’ सार्वजनिक

 फागुन १८, २०८१ आइतबार १३:८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकालको शब्द रचनामा तयार भएको गीत ‘छोरो गयो परदेश’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको पीडा, बिछोड र सामाजिक प्रभावलाई गीतमा प्रस्तुत गरिएको छ ।

गायक डिजराज पौडेलको स्वर र सङ्गीतमा तयार भएको गीतको भिडियोमा नारद खतिवडा, दीपेन्द्र खत्री, डिजराज पौडेल, मञ्जु श्रेष्ठ र आरोभ ढकालको अभिनय रहेको छ ।

वैदेशिक रोजगार बोर्डमा लामो समयदेखि कार्यरत निर्देशक ढकालले रोजगारीका लागि विदेश जानु परेका नेपालीहरूको दुःख, सङ्घर्ष र पारिवारिक बिछोडलाई गीतमा समेटेको बताउनु भयो ।

उज्यालोसँगको कुराकानीमा,उहाँले भन्नुभयो ‘गीत तयार गर्नुको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा जाने युवाहरूको बाध्यता र त्यसले परिवारमा पार्ने असरलाई जनचेतनामूलक रूपमा प्रस्तुत गर्नु हो । विदेशमा काम गरेर फर्कनेहरूले आर्जन गरेको सीप र अनुभवलाई स्वदेशमै उपयोग गरेमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न सकिन्छ ।’

उहाँका अनुसार, वैदेशिक रोजगारीमा जानेहरूमध्ये धेरैले कठिनाइ सामना गर्नु परे पनि सिकेका सीप र अनुभवलाई स्वदेशमै लगानी गर्ने हो भने आर्थिक विकासमा योगदान गर्न सकिन्छ ।

गीत लेख्ने प्रेरणा ढकालले वैदेशिक रोजगार बोर्डमा काम गर्दा देखेका सेवाग्राहीहरूका वास्तविक अनुभवहरूबाट लिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामीले दैनिक सेवाग्राहीहरूसँग काम गर्दा धेरैजसोको कथा पीडादायी हुन्छ । औसतमा दैनिक दुईदेखि तीन वटा शव नेपाल फर्कने दुःखद् यथार्थ छ ।’

वैदेशिक रोजगारीमा जानेहरूका सङ्घर्ष र परिवारको बिछोडलाई गीतमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा एक युवाले रोजगारीका लागि विदेश जानु परेपछि परिवारमा उत्पन्न हुने बिछोड र कठिनाइ देखाइएको छ ।

गीतले वैदेशिक रोजगारीका केही दुःखद् पक्षहरू देखाए पनि सिकेका सीप र अनुभवलाई स्वदेशमै प्रयोग गर्न सके भविष्यमा सकारात्मक परिवर्तन ल्याउन सकिने सन्देश दिन खोजिएको छ ।

ढकालका अनुसार सरकारले सीपमूलक तालिम, सुरक्षित वैदेशिक रोजगारी मार्गनिर्देशन र स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति अपनाएमा विदेश जाने बाध्यता घट्नेछ ।

‘छोरो गयो परदेश’ गीतले वैदेशिक रोजगारीको सट्टा स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने सन्देश दिन खोजेको छ ।

तपाईको प्रतिक्रिया