पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
शुकुमाया मोक्तान/लालबन्दी, सर्लाही ।
मेरो श्रीमान् साउदी जानुभएको छ । बिहे भएको एक वर्ष पछि उहाँ साउदी जानुभएको हो । अहिले ६ वर्ष लाग्यो । श्रीमान् साउदीमा बसे पनि मैले घर व्यवहार सम्हाल्नु परेको छैन । सासुससुराले नै घरव्यवहार मिलाउनुहुन्छ ।
तर घरव्यवहार धान्न पर्दैन भनेर म पनि हात बाँधेर बसेको छैन । श्रीमान् विदेश गएपछि मैले सिलाई सिकें । सिलाईको काम पनि गरें । त्योसँगै खेतीपाती पनि अलिअलि गर्थें । तर बच्चा जन्मिएपछि मैले सिलाई र खेतबारीको काम बराबरी रुपमा गर्न छोडें ।
गएको वर्षको असोजतिर हाम्रो गाउँमा वित्तीय शिक्षाको कक्षा सुरु भयो । त्यो कक्षा पनि विदेश जानेका परिवारलाई नै रहेछ । वित्तीय शिक्षा कक्षामा बसेपछि गरिरहेको कामलाई पनि सुर्धान पाएँ ।
कक्षामा बसेपछि सोच्ने तरिका नै फेरिएको छ । विदेशबाट पठाएको पैसा पनि सहि ठाउँमा लगानी गर्न थालेको छु । विदेशको कमाईले त्यस्तो प्रगती त भएको छैन तर पनि अर्को वर्ष चाहिँ घर बनाउने योजना छ । विदेशको दुःख बुझेपछि बाख्रा पाल्न थालें, तरकारी खेति बढाएँ र अब सिलाईको काम पनि अघि बढाउने योजना छ ।
अहिले बालबच्चा भएकाले सिलाईको काम गर्न गाह्रो भएर तरकारी खेती मात्र गरिरहेको छु । अब श्रीमान् विदेशमा छन् भन्दैमा जे पनि गर्ने गर्दा कतिको त सम्बन्ध बिग्रिएको पनि सुनेको छु ।
फलानोले त कपाल स्ट्रेट गर्यो रे, म पनि गर्छु, यस्तो लगाएछन् म पनि लगाउँछु भन्दै देखासिखी गर्दा पनि विदेशबाट श्रीमान् फर्किंदा खाली हात नै हुन्छ । मैले त त्यस्तो गरेको छैन् ।
आफ्नो गाउँमा पनि केही गर्नुपर्छ भनेर बचत गरेको छु । बचत गर्ने समुह हामीले नै बनाएका हौं । श्रीमान्ले विदेशबाट पैसा सासुससुरा कै नाममा पठाउनुहुन्छ । मलाई पनि खर्च दिनुहुन्छ । त्यही खर्चबाट बचाएर, तरकारी बेचेर मैले बचत बढाएको छु ।
तरकारीको मौसम हुँदा त विदेशको पैसा चलाउनै पर्दैन । तरकारीको भाउ हुँदा एक मौसममा ७० हजार रुपैयाँसम्म कमाई हुन्छ । अब विस्तारै तरकारी खेती र सिलाईको कामलाई नै अघि बढाउँछु ।
शुकुमाया मोक्तानसँग सन्जिता देवकोटाले गरेका कुराकानीमा आधारित ।