पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
छोराछोरी बढ्दै गएपछि उनीहरुको पढाइको खर्च कसरी जुटाउने भन्ने चिन्ता लाग्न थाल्यो । म फर्निचरको काम गर्थें । २०५८ सालमा दिनभरी फर्निचरको काम गर्दा एक सय रुपैयाँ पाइन्थ्यो ।
यो कामले दुई छोरा अनि एक छोरीसहितको हाम्रो ५ जनाको परिवारलाई खान लाउन पनि मुस्किल हुन्थ्यो । छोराछोरीको उच्च शिक्षाका लागि त्योभन्दा राम्रो कमाइ हुने विकल्प खोजिरहेको थिएँ ।
गाउँतिरकै एक जना एजेण्टले विदेश जाने भए मैले गरिरहेको फर्निचरको काम छ भन्यो । त्यतिबेला अहिलेको जस्तो वैदेशिक रोजगारीका बारेमा बुझ्न पाइने ठाउँहरु थिएनन् । एजेण्टले भनेकै कुरा विश्वास गर्नुपथ्र्यो ।
एजेण्टले मलाई काठमाण्डौको महाराजगञ्जमा रहेको एउटा म्यानपावरमा पुर्याए । त्यहाँ लाने बेलामा नै एजेण्टले मसँग ८२ हजार रुपैयाँ लाग्छ भन्यो । मैले ऋण गरेर उसलाई पैसा दिएर काठमाण्डौं पुगेको थिएँ ।
मलाई एजेण्टले मलेसियामा ४ सय ८१ रिंगिट पाउँछौ भनेको थियो । म काठमाण्डौंबाटै मलेसिया पुगें । काम फर्निचरकै थियो अनि तलब पनि यहाँ भनेकै दियो । त्यतिबेला एक रिंगिटको १९ रुपैयाँ थियो भाउ । मेरो तलब ९ हजार १ सय ३९ रुपैयाँ हुन्थ्यो । यही तलबमा मैले २५ महिना काम गरें ।
यहाँ महिनाको ३ हजार रुपैयाँ मात्रै कमाउने मेरा लागि ९ हजार त तीन गुणा नै धेरै थियो । अरु केही कुरामा खर्च नगरी बचाएर घर पठाएँ । म विदेश जानुको एउटै उद्देश्य छोराछोरीलाई पढाउन सकौं भन्ने थियो । त्यो पुरा हुँदै पनि थियो ।
तर दुई भएपछि मलाई उनीहरुकै चिन्ताले सताउन थाल्यो । फोनमा कुरा हुँदा विदेश गएका साथीहरुका छोराछोरीको पढाइ बिग्रिएको, कसैले पढाइ छोडेको खबर सुन्थें । त्यही कुराले मलाई मैले पैसा कमाएर पनि छोराछोरीको पढाइ राम्रो भएन भने त के काम लाग्यो र भन्ने लागेपछि मैले २५ महिनामा घर फर्किने निधो गरें ।
अनि जसको भविष्य सोचेर विदेश गएको थिएँ, उनीहरुलाई नै सम्झिएर घर फर्किएँ । विदेशमा हुँदा कमाएर जोगाएको पैसा उनीहरुकै पढाइमा खर्च गरें । अहिले जेठी छोरीको विहे गरिदिएको छु ।
दुई जना छोरामध्ये जेठो छोरो अमिनको जागिरका लागि लोक सेवाको तयारी गरिरहेको छ । अनि कान्छो कृषि विषय पढिरहेको छ । उनीहरुले यहीँ जागिर खाए वा देशमै केही गरेर विदेश जाने अवस्था भइदिएन भने त्यो नै मेरा लागि सन्तोष हुनेछ ।