घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – मेरो नाम नविन उराव, उमेर २६ वर्ष भयो । घर सुनसरी हो । म नेपालमै मेडिकल रिप्रिजेन्टको रुपमा काम गर्थें । कमाइ ठिकै थियो । तर एक दिन पत्रिकामा विज्ञापन देखेँ।
यूएईमा सेक्युरेटी गार्डको लागि कामदार चाहियो भन्ने विज्ञापन थियो । एकलाख रुपैयाँ तलब र सेवा सुविधा भन्ने थियो । अनि मैले विज्ञापनमा दिएको नम्बरमा फोन गरें र एजेन्टलाई भेट्न गएँ । एजेन्टलाई भेट्न इस्तुपा ओभरसिज इटहरी पुगें ।
एजेन्टले मलाई पढाइ राम्रो छ, तपाईंको पक्का हुन्छ भन्यो । अन्तार्वार्ता पनि लियो, म पास भएँ । अनि मलाई काठमाण्डौ पठायो । काठमाण्डौको बसुन्धारामा रहेको सब इन्टरनेशनल म्यानपावरसँग सम्पर्क गरायो । भिसा आइसकेको थियो । त्यही दिन सब इन्टरनेशनल म्यानपावरलाई पाँच लाख रुपैयाँ बुझाएँ । मसहित पाँच जना अरु साथीहरु पनि थिए, हामी सबै भदौको पहिलो हप्ता यूएईको लागि उड्यौं ।
तर उता पुगेपछि कम्पनीले हामीलाई ‘डिस्क्वालिफाई’ अर्थात अयोग्य भन्यो । मसँगै गएका अरु पाँच जना साथीहरु पनि अयोग्य बने । यहाँबाट परीक्षा पास गरेर गएका थियौं । उता पनि परीक्षा लियो । परीक्षा राम्रै भएको थियो । मेरो ६४ नम्बर आएको थियो, तर म छनोटमा परिनँ । तर २ नम्बर ल्याउनेहरु पनि पास भएछन् ।
वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरु मेडिकल फेल भएर अथवा डिस्क्वालिफाई भएर कम्पनीले फर्कायो भन्छन् नि, त्यो सबै साँचो हुँदैन । त्यसरी आउनेमध्ये बढीजसो त कम्पनीलाई कामदारको जरुरत नै नभएर फर्काइएका हुन्छन् । कम्पनीलाई कामदार चाहिएको हुँदैन, अनि मेडिकल र योग्यताको बहाना बनाउँछन् ।
कसैलाई मेडिकल फेल भएको देखाइदिन्छ, कसैलाई अयोग्य भनिदिन्छ । अनि लाखौं रकम तिरेर वैदेशिक रोजगारीमा गएका कैयौं युवा अयोग्य बनेर नेपाल फर्किन बाध्य हुन्छन् ।
नेपाल फर्केर आफ्नो फसेको पैसा पनि फिर्ता पाउनै सकिंदैन । क्षतिपूर्तिको लागि विभाग धाउँदाधाउँदा थाकिन्छ, तर पनि न्याय भन्ने कुरा त कुन चराको नाम हो भनेजस्तै हुन्छ ।
अहिले पनि हाम्रो त्यही समस्या भइरहेको छ । यताबाट पठाउनेबेला उता परीक्षा हुँदैन भनेर पठाउने तर उताबाट डिस्क्वालिफाई भएर आएपछि त्यसको जिम्मेवारी म्यानपावरले लिनुपर्ने हो तर म्यानपावर कानमा तेल हालेर बसेको छ । विभागले प्रमाण पुगेन प्रमाण लिएर आउ भन्छ ।
म्यानपावरवालाले अर्कैको बैंक एकाउण्टमा पैसा पठाउन लगाएको रहेछ । हामीलाई त के थाहा ? अहिले त्यो मान्छे भेटिंदैन । म्यानपावरको मान्छे आफू चोखो हुँ भन्ने जस्तो छाती फुलाएर बसेको छ । यस्ता समस्या मजस्ता हजारौँ साथीहरुले भोगिरहेका होलान् ।
तर यस्ता समस्याको समाधान गर्नतर्फ सरोकारवालाको भने ध्यान गएको छैन । न सरकार आफैले देशमा रोजगारी सिर्जना गर्छ, न त परदेशिएका युवाहरुको सुरक्षाको जिम्मा नै लिन्छ ।
यता जति राम्रो काम मिले पनि ३०/३५ हजार भन्दा बढी कमाइ हुँदैन । यति धेरै महँगी छ । काठमाण्डौमा कोठा भाडा लिएर बस्यो भने एक रुपैयाँ पनि बच्दैन । अनि हामीहरु विदेश नगएर कहाँ जाने त ?