घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
बुवा नभएको परिवार र श्रीमान् नभएको घरबार कस्तो होला ? मलाई पनि त्यस्तै भयो । धन कमाउन भारत गएका श्रीमान अर्को बिहे गरेर उतै बस्न थाले । तीनजना छोराछोरी र म यहाँ एक्लो भयौँ ।
त्यसपछि परिवारको खर्च धान्ने कोही भएन । म गाउँमै ज्यामी काम गर्थेँ तर त्यसले घरखर्च चलाउन धौ धौ भएपछि मैले विदेश जाने सोच बनाएँ । छोराछोरीलाई दुःख नहोस्, उनीहरुले राम्रो स्कुल पढाउन सकुँ भनेर मैले विदेश जाने आँट गरेँ ।
आँट त गरेँ तर विदेश कसरी जाने भन्ने मलाई केही पनि थाहा थिएन । एकजना चिनेको दाइले राम्रो देश पठाइदिने भनेर मलाई काठमाण्डौ बोलाउनुभयो ।रुकुमबाट काठमाण्डौ आएँ । त्यो दाइले मलाई बसुन्धरामा रहेको सव–इन्टरनेशनल म्यानपावरमा पुर्याइदिए ।
म्यानपावरले महिलालाई यूएईमा क्लीनरमा राम्रो काम पाइन्छ भनेर त्यहीँ जान सल्लाह दियो । मलाई पनि त्यही ठीक लाग्यो । पासपोर्ट बुझाएको एक हप्तामै भिसा आयो । पासपोर्ट बुझाउने बेला भिसा लागेपछि एकलाख ३० हजार रुपैयाँ बुझाउनुपर्छ भनेको थियो ।
मसँगै जाने १० जना अरु महिला साथीहरु पनि हुनुहुन्थ्यो । भिसा आएपछि हामी प्रत्येकले एकलाख ३० हजार रुपैयाँ नै बुझायौँ तर म्यानपावरले सबैलाई १० हजारको मात्र रसिद बनाइदियो । यस्तो किन भनेर सोध्दा १० हजारमा कसले पठाउँछ भनेर उल्टै रिसाए ।
आखिर हामीले जानैपर्ने थियो, भिसा आइसकेपछि रसिदको कुरामा विवाद गरेर आफैंलाई अप्ठ्यारो होला भनेर केही नबोली सरासर १० हजारको रसिद बुझ्यौँ ।हामी भदौमा यूएई पुग्यौँ । दुबईको एक कम्पनीमा क्लीनरको काम गर्न थाल्यौँ ।
त्यहाँ गएर काम गर्न थालेको डेढ महिनामा कम्पनीले मेडिकल गरायो । २० दिनपछि रिपोर्ट आयो । तर रिपोर्टले मेरो छातीमा दाग भएको देखायो । अर्थात् म मेडिकल फेल भएँ ।
काठमाण्डौमा मेडिकल परीक्षण गर्दा फिट देखाएको तर डेढ महिनामै मेडिकल अनफिट भनेपछि म आफैंलाई अचम्म लाग्यो । तर गर्ने के ? कम्पनीले नै मलाई टिकट काटेर नेपाल पठायो । म त्यहाँ गएको साढे दुई महिनामै रित्तो हात नेपाल फर्किएँ ।
उताको मेरो मेडिकल रिपोर्टमाथि मलाई विश्वास लागेको थिएन । त्यही भएर नेपालका दुई तीनओटा अस्पतालमा पुनः परीक्षण गरेँ । सबै अस्पतालले केही पनि नभएको रिपोर्ट देखायो ।
दुबईको कम्पनीले कतै मेडिकल रिपोर्ट फेरबदल भएर मलाई अनफिट पो देखाएको हो कि जस्तो पनि लाग्छ । तर जे भए पनि अब रिपोर्ट फेल भएर म नेपाल आइसकेँ । फर्केर फेरि म विदेश जान चाहन्नँ तर त्यहाँ जाँदा लागेको खर्च फिर्ता पाउँ भनेर म्यानपावरलाई भन्दा उसले २५ हजार मात्र दिने कुरा गर्छ ।
पठाउने बेला तीन महिना नपुग्दै नेपाल फर्किनु परे सबै पैसा फिर्ता हुन्छ भनेको थियो । तर अहिले म्यानपावरले उल्टै तिमी आफैं मेडिकल फेल भएर आयौ हाम्रो गल्ती के छ र भन्छ ।
वैदेशिक रोजगार विभागमा निवेदन दिँदा पैसा बुझाएको प्रमाण माग्छ । मसँग १० हजारको मात्र रसिद छ ।
केही कमाएर छोराछोरीको अनुहारमा थोरै खुसी ल्याउन भनेर ऋण लिएर भए पनि यूएई गएँ । तर त्यहाँबाट खाली हात फर्किनु परेको छ । त्यत्रो ऋण अब कसरी तिर्ने होला ? साहुले पैसा माग्न थालिसके ।