मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
यो परदेशका ठूला घर र सहरसँग मेरा रहर र सपना जोडिएका छन्, जुन पूरा गर्न म दिनरात नभनी लागिपरेको छु । तर संसारभर कोरोनाको चर्चा भइरहँदा मलाई लाग्न थालेको छ, कतै म र मेरो सपना परदेशी भूमीमा बिलीन हुने त हैन ?
अहिले म बसिरहेको देश यूएईमा पनि कोरोनाको जोखिम बढ्दो छ । नेपालीलाई पनि सङ्क्रमण भइरहेको छ ।
दिनहुँ आउने समाचार र बजारमा देखिने शून्यता देख्दा झन डर लाग्छ । झिलिमिली भए पनि अहिले यो सहर उज्यालो छैन ।
कोरोनाकै कारण दुबईमा लकडाउन छ । मानिसको आवातजावत छैन । मैले काम गर्ने कम्पनीमा दिनरात काम हुन्थ्यो, तर अहिले दउँसो त्यो पनि एक सिफ्टमा मात्र काम हुन्छ ।
अहिले शारीरिक दूरी बढाउनु पर्ने भए पनि कामको सिलसिलामा त्यो मान्य हुने अवस्था छैन । कम्पनीमा उत्पादित सामानहरु पठाउनुपर्ने र कम्पनीको लागि आवश्यक कच्चा पदार्थ सामागी ल्याउनुपर्ने हुँदा र निरन्तर बाहिरबाट आउने मानिससँग सम्पर्क हुँदा माक्स, ग्लोब्स तथा स्यानिटाइजरको प्रयोग गरे पनि असाध्यै डर लाग्छ ।
अरु नै कारणले खोकी लाग्यो, हाछ्यूँ आयो भने पनि कोरोना नै हो कि जस्तो लाग्छ । मलाई पनि लाग्यो कि जस्तो लाग्छ ।
यो त भयो मनको डर । अर्को कुरा भनेको अहिले यहाँ खाद्यान्नमा पनि मूल्यवृद्धि र अभाव दिनहुँ बढिरहेको छ । सङ्क्रमितको सङ्ख्या बढेको देख्दा त झन मन अत्तालिन्छ । कहिलेसम्म रहला यो अवस्था, भोलि के खाने, कहाँ बस्ने भनेर मन अत्तालिन्छ । काम नहुँदा पेटको डर, काम हुँदा कोरोनाको, के गरौं सरकार यो परदेशमा ?