लेबनानको राजधानीमा इजरायलको ठूलो आक्रमण, ४ जनाको ज्यान गयो,...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – ताजा आलुको बोरोमा एउटा कुहिएको आलु राख्यो भने के होला ? पक्कै पनि ताजा आलुहरु पनि बिग्रेर कुहिन्छन् । हो त्यस्तै भएको छ परदेशमा काम गर्ने हामीहरुको अवस्था पनि । त्यसैमाथि कतारमा उच्च दरमा कोरोना फैलिरहेको छ ।
कोरोनाका कारण ३६ जनाले ज्यान गुमाइसकेका छन् । निको भएर घर फर्किनेको सङ्ख्या पनि बढी नै छ । तर कोरोनाका कारण ज्यान गयो भन्ने खबर सुन्यो भने मन आत्तिन्छ । म यहाँ सुरक्षा गार्डको रुपमा काम गर्छु। काम गर्नेहरुको यति ठूलो जमातमा कसलाई कोरोना लागेको छ कसलाई छैन भनेर थाहा नै हुँदैन । सामाजिक दूरी कायम छैन । न त कुनै सुरक्षाका उपायहरु अपनाइएका छन् । यस्तो अवस्थामा कोरोना सङ्क्रमणको जोखिम कति छ भन्ने कुरा जो कसैले अनुमान लगाउन सक्छन् ।
म बस्ने क्याम्पमा पनि लगभग आधा जतिलाई कोरोना सङ्क्रमण भएको छ । बाँकीलाई भने लक्षण केही नदेखिका कारण क्याम्पभित्रै क्वरेण्टीन बनाएर राख्ने व्यवस्था गरेको छ । तर क्वरेण्टीन नामको मात्र छ । कुनै पनि प्रकारका स्वाथ्य सुरक्षाका उपाय अपनाइएका छैनन् । एकदम लापरबाही गरेको देखिन्छ ।
क्वरेण्टीनमा बसेकाहरु कोठाबाट निस्किएर हामीसँगै खाना बनाउन आउँछन् । मास्कको प्रयोग नगरेरै क्याम्पको वरिपरि हिँडिरहन्छन् । तर हामीहरुले यस्तो किन गरेको, यस्तो नगर भनेर न त उनीहरुलाई भन्न सक्छौं न त हाम्रो कम्पनीले नै यो कुरा सुन्छ । कसैलाई मतलव नै छैन । कम्पनीले त झन् कोरोना लागेको अथवा क्वरेण्टीनमा बसेको बारेमा कसैलाई नभन्नु भनेको छ ।
यदि यसको बारेमा कसैलाई भनेमा हामीहरुलाई कारबाही हुने भनेर चेतावनी दिएको छ । त्यसैले मैले कम्पनीको नाम खुलाउन चाहिनँ । दुईचार दिन अगाडि मात्रै एकजना नेपाली दाइलाई कोरोना पोजेटिभ देखिएको रहेछ । तर उहाँले यो कुरा लुकाउनु भयो । हामीहरुसँग भेट्दा आफूलाई कोरोना लागेको छैन भनेर गफ लगाउनु भयो ।
तर उहाँलाई कोरोना पोजेटिभ देखिएको कुरा पछि मात्र थाहा भयो । त्यतिबेला मैले दूरी कायम गरेर कुरा गरेको थिएँ, तर डर भने अझै लाग्दैछ । आउ कोरोना मलाई पनि रोग सारिदेउ भनेर हामीले नै कोरोनालाई बोलाइरहेका छौं जस्तो लाग्छ ।