मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
आफ्नै देशमा काम गरेर घरपरिवारसँगै बस्ने रहर कसलाई हुँदैन ? तर अहिले अवस्था त्यस्तो कहाँ छ र ? सानो भन्दा सानो काम गर्न पनि निकै झन्झटिलो हुन्छ । सरकारले आफ्नो सेवा प्रवाहलाई त चुस्त बनाउन सकेको छैन, रोजगारीको त कल्पना मात्रै हो । त्यसैले त घरपरिवार साथीभाइसँग टाढिएर अर्काको देशमा गइ पसिना बगाउन बाध्य छन् लाखौँ नेपाली युवाहरु ।
देशमा रोजगारी पाइन्छ भन्ने कुरा त अहिलेका युवाले बिरलै सोचेका होलान् । देशमै रोजगारी पाए युवाहरु किन विदेश हानिन्थे होलान् र ? तर अहिलेको अवस्थामा देशमा केही गरौं भन्दा पनि सजिलो छैन । अझै भन्नुपर्दा श्रमको लागि मात्र नभएर उच्च शिक्षाकै लागि दैनिक सयौँको संख्यामा नेपाली युवा विदेश जान्छन् । बाह्र कक्षा पढ्दा पढ्दै उनीहरुले विदेश पढ्न जाने योजना बनाइसकेका हुन्छन् । यदि देशमा पढेर केही गर्न सकिन्छ भन्ने अवस्था भएको भए त उनीहरु यतै बस्थे होलान् नि । देशमा अवसर केही नदेखेरै त हुन् नि उनीहरु नि परदेशिने ।
भविष्यलाई सुनिश्चित गर्न सरकारले रोजगारीका अवसर सिर्जना गरिदिएको भए पसिना बगाउनैको लागि परदेशिने थिएनन् लाखौँ युवा । तर हाम्रोमा अवस्था बेग्लै छ । रोजगारीका अवसर सिर्जना गर्नु त परै जाओस् उल्टै सरकारी सेवाहरु पनि ढिलासुस्तीमै छन् । सामान्य काम गर्न नागरिकले हैरानी खेप्नुपर्छ । यस्तो हैरानी खेपेर पनि सरकारले उपेक्षाको दृष्टिकोणले हेर्दा युवाहरु परदेशिन बाध्य छन् ।
राहदानी अर्थात् पासपाेर्टकै कुरा गरौँ । पासपाेर्ट लिने कामको लागि रातभरि अनिदो बसेर लाइनमा लाग्छन् नागरिक । अझै पनि काम हुँदैन । पासपाेर्ट बनाउनु भनेको युद्ध जित्नु जस्तै भएको छ देशमा । पासपोर्ट जस्तो संवेदनशील विषयमा पनि नागरिकले सरकार छ भन्ने आभाष पाउन नसक्नु दुर्भाग्य नै हो । नयाँ पासपोर्ट होस् अथवा नवीकरण गर्नुपर्ने दुवैमा उत्तिकै समय लाग्छ ।
हुन त सरकारले जिल्लाबाट नै पासपोर्ट बनाउने सुविधा उपलब्ध गराएको छ । यो राम्रो पक्ष हो । इमर्जेन्सीलाई भनेर काठमाण्डौमा रहेको राहदानी विभागमै व्यवस्था गरिएको छ । तर जहाँ गएर सेवा लिँदा पनि लामो लाइनमा लाग्नुपर्ने बाध्यता भने हटेको छैन । जिल्ला प्रशासन कार्यालयमा गएर हेर्ने हो भने पासपोर्ट बनाउनकै लागि लाइनमा उभिएको देखिन्छन् । लाइनमा उभिनु एउटा फेसन झैँ भएको छ । लाइनबिना कुनै काम नै हुँदैन । पहिला टोकनको लाइन नै पार गरेर टोकन पाउन कठिन छ । टोकन लाइन सकिने बितिक्कै टोकनमा पालो हेरेर तर्सनु पर्ने अवस्था छ । पासपोर्ट आउने बेलासम्म बल्ल टोकन पालो आउने कस्तो अवस्था हो यो ?
नेपालमै भएकालाई त खाली समयमा बनाएर राखौँ भन्दा पनि होला । तर तत्कालै परदेश जानुपर्नेहरुको लागि भने यो काम गर्न निकै गाह्रो हुन्छ । हुन त सरकारले हतार भएकाहरुको लागि काठमाण्डौमा रहेको राहदानी विभागबाट सजिलै र चाँडै काम हुन्छ भन्छ । तर सरकारको भनाइ र श्रमिकको भोगाइमा निकै अन्तर छ । यसमा पनि दलालको भर पर्नुपर्ने र मोटो रकम खुवाउनुपर्ने तितो भोगाइ छ धेरै श्रमिकको ।
यस्तो अवस्थामा परदेशिएका श्रमिकको मनमा के सोच आउँछ होला भनेर सजिलै बुझ्न सकिन्छ । सरकारसँग के आशा लिएर श्रमिक परदेशबाट नेपाल आउलान् ?