एउटा स्वप्निल परियोजनाका केही सम्झना

 चैत २३, २०८० शुक्रबार ११:३३:५० | गोपाल गुरागाईं
unn.prixa.net

समय बित्न समय लाग्दैन भन्छन् । रेडियो मदनपोखराको कुरा गर्दा मलाई यस्तै लाग्छ । २५ वर्षअघि २०५६ साल चैतको दोस्रो साता तानसेन जाने साझा बस नयाँ पाटीमा रोकिँदा साँझ पर्न थालेको थियो । प्राविधिक काम गर्न यादव ठाकुर केही दिनपछि आउने निश्चित भएको थियो । कार्यक्रम र उद्घोषणसम्बन्धी तालिमको तयारीका लागि भारतदत्त कोइराला र हेमबहादुर विष्टले मलाई जिम्मेवारी दिनुभयो । त्यही जिम्मेवारी पूरा गर्ने दायित्व बोकेर म बिहानै काठमाण्डौबाट पाल्पा जाने गाडी चढेको थिएँ । मदनपोखरा गाउँबाट झण्डै २० मिनेट तल राजमार्गको नयाँ पाटीमा साझा बसबाट उत्रिँदा मलाई लिन मदनपोखराबाट आएका साथीभाइ पर्खिरहेका थिए ।

रेडियो शुरु हुने भएपछि गाउँमा अनौठो उत्साह थियो । मदनपोखराको पीपल चौतारामा कुराकानी र गफको विषय रेडियो हुन थालेको वर्षाैँ भइसकेको थियो । तर गाउँमै रेडियो शुरु होला र गाउँकै मान्छेले बोल्ने होला भन्नेमा चाहिँ अझै पनि धेरैको मनमा शङ्का थियो । त्यसो त मदनपोखराको चौतारामाथि गुणाकर अर्यालको घरको दक्षिण कुनामा स्टुडियो निर्माण भइसकेको थियो तर उत्तर पट्टिको कुनामा उहाँको भान्सा थियो । स्टुडियोको पछाडि उत्तर कुनामा भैँसी बाधेको थियो भने माथिल्लो तलामा अर्याल परिवारको बसोबास थियो । स्टुडियो अत्यन्त होचो थियो र भित्र पस्दा प्राय सबैले टाउको निहुराउनु पर्थ्याे । स्टुडियोमा प्रसारणका उपकरण जडान गर्ने सिँगै काम बाँकी थियो । र त्यो काम यादव ठाकुरको जिम्मामा थियो । तालिम शुरु भएको केही दिनमै ठाकुर आएर आफ्नो काम शुरु गर्नु भो । मेरो काम सामुदायिक रेडियोबाट प्रसारण गर्ने कार्यक्रम तयार गर्न सक्ने युवा जनशक्ति छान्ने, तालिम दिने र रेडियोमा बोल्न र कार्यक्रम निर्माण गर्न केहीलाई सक्षम बनाउने थियो ।

हामी मदनपोखरा पुगेपछि दुवै खालका काम धमाधम शुरु भए । यादव दाइ तार काट्न, जोड्न, एण्टेनाका लागि जीआई पाइप गाड्ने, अर्थिङ्ग गर्ने, ट्रान्समिटर तथा बिजुलीको बन्दोबस्त गर्ने काममा लाग्नु भयो । मेरो काम तालिममा छनाेट भएका युवा तथा किशोरकिशोरीलाई विषय छान्न, लेख्न, अन्तवार्ता गर्न र रेडियोमा बोल्न अभ्यास गराउनु हुन्थ्यो । दश दिनमा उनीहरूलाई रेडियोकर्मी बनाउन सजिलो त थिएन तर अभ्यासमा सामेल भएका सबै जना यति दत्तचित्त भएर लागेका थिए कि मैले धेरै मेहनत नगरिकनै ठूलै जस पाएँ । रेडियो स्थापना गर्ने, प्रसारण शुरु गर्ने र प्राविधिक परीक्षणको काम भनेकै समयमा सकियो । काम सकेको भोलि या पर्सिपल्ट यादव दाइ काठमाण्डौ फर्किनुभयो । यादव दाइ फर्के पनि परीक्षण प्रसारण शुरु भएको चार/पाँच दिनपछि मात्र म काठमाण्डौ फर्केँ ।

२०४८ सालको जेठपछि बेलाबेला म पाल्पाको दमकडा र मदनपाखेरा पुगिरहन्थेँ । गाउँको वातावरण र दमकडाका साथीहरूको मायाले मलाई कुनै न कुनै बहानामा बोलाई रहन्थ्यो । रेडियो शुरु गर्नु तीन वर्षअघि दमकडामा अडियो टावर सञ्चालन गर्न चाहिने सीपका लागि दश दिन तालिम भएको थियो । विनयकुमार कसजूले दिएको त्यो कामको जिम्मेवारी पूरा गर्ने सिलसिलामा दमकडा र मदनपोखरासित मेरो मित्रता झनै प्रगाढ भयो । मदनपोखरामा रेडियो स्थापना र सञ्चालन गर्न भएको दश दिने तालिमपछि त मलाई यो गाउँ र रेडियोले झनै नजिकको मान्छे ठान्न थाल्यो । रेडियो स्थापना र सञ्चालनका बेला यमप्रसाद पाण्डे, झपेन्द्र जीसी, गुणाकर अर्याल र सोमनाथ अर्याल जस्ता पाका र विद्वानहरू अनि तालिमका बेला औधी मेहनत गरेर रेडियोमा बोल्न, समाचार बटुल्न र लेख्न सिपालु भएका राजेश, भगवान, जुना, गीता र रमेशले बेला बेला म त्यहाँ नपुगेको यति महिना भयो भनेर मायाले सम्झाउँथे । म त्यसलाई बोलाहट ठान्थेँ । यसरी साथी सङ्गातीको निम्तो र मदनपोखराको माया पाएर पुलकित हुन पाउँदा म बेला बेला रेडियो मदनपोखरा गइरहेँ । रेडियो मदनपोखरा शुरु भएको एक दशकसम्म यो क्रम निरन्तर रह्यो । त्यसपछि भेटघाट पातलिँदै गयो र रेडियोसितका सम्झनाहरू चाहिँ बाक्लिँदै जान थाले । ती बाक्ला सम्झनाका पत्रहरूमा केही कुरा हराए, केही धमिला भए तर केही साथीका सम्झना र कर्महरू अति बाक्ला र घना भएर दिमागको एउटा पत्रमा अझै पनि बसिरहेकै छन् ।

रेडियो मदनपोखरा ३० वर्षअघि शुरु भएको धेरै मानिसको एउटा स्वप्निल परियोजना थियो, एउटा 'ड्रिम प्रोजेक्ट' ! यो स्वप्निल परियोजनालाई सिङ्गो पाल्पा र मदनपोखराका राजनीतिक कार्यकर्ता, शिक्षक तथा बुद्धिजीवीले काँधमा बोकेर हिँडेका थिए । अनि पत्रकारहरू विनयकुमार कसजू, भारतदत्त कोइराला तथा हेमबहादुर विष्टले आँखामा सजाएर अघि बढाएका थिए । लगभग छ वर्षसम्म यो परियोजना पाल्पा र काठमाण्डौमा कुनै न कुनै रूपमा समाचारका रूपमा छाई रह्यो । अनेक व्यक्तिको दौडधुप, भनसुन र दबाबपछि बल्ल सञ्चार मन्त्रालयले मदनपोखरामा रेडियो स्थापना गरि सञ्चालन गर्ने अनुमति दियो । त्यसबेलासम्म उपत्यकाबाहिर दुइटा मात्र एफ.एम. रेडियो स्टेशनहरूले प्रसारण शुरू गरेका थिए । त्यसमध्ये एउटा रेडियोको स्थापना र सञ्चालन गर्ने कामको सौभाग्य यादव ठाकुर र मैले नै पाएका थियौँ । हाम्रो त्यही अनुभवका कारण भारतदत्त कोइराला र हेमबहादुर विष्टले रेडियो मदनपोखरा शुरू गर्ने जिम्मेवारी हामीलाई दिनु भएको होला भन्ने मलाई लाग्छ ।

तर आज यादव ठाकुर यो धरतीमा हुनुहुन्न । उहाँ रेडियो मदनपोखरा मात्र होइन, वि.सं. २०५५ देखि ६० सालभित्र नेपालमा प्रसारण शुरू भएका प्राय सबै एफ.एम. रेडियो स्टेशनको आवाजलाई स्रोताका कानसम्म पुर्‍याउने दक्ष र अब्बल प्राविधिक हुनुहुन्थ्यो । मदनपोखरा रेडियोका समाचार, कार्यक्रम र गीतसङ्गीतलाई डिजिटाइज गर्ने कामको नेतृत्व गरेका पवन उप्रेतीलाई पनि असमयमै कालले हामीसित खोसेर लग्यो । अनि यादव दाइ र पवन उप्रेतीसँगै मलाई मेरो साथी डेनिस रेडियो पत्रकार इव स्काउको पनि खुबै न्यास्रो लागेर आउँछ, जसले रघु मैनाली र मलाई मदनपोखराको बन्दै गरेको स्टुडियो देखाउन काठमाण्डौबाट कुदाएर लगेको थियो । उसकाे गाडीमा हामी मात्र हैन, यादव दाइले भोटाहिटीको ग्यारेजमा जोडजाड गरेको ट्रान्समिटर पनि औधी सुरक्षित लाग्थ्यो । कहिलेकाहीँ हामी उपत्यकाबाहिर डाँडातिर लगेर त्यसको परीक्षण पनि गर्थ्याैँ । इव स्काउ एम.एस नेपाल नामक डेनिस संस्थामा काम गर्थ्याे र रेडियोको विकासका लागि रातदिन एक गर्न तत्पर रहन्थ्यो ।

स्टुडियो देखाउन हामीलाई गाडीमा हाली आफैँ गाडी हाँकेर गाउँमा पुगेको अग्लो र हट्टाकट्टा इवलाई मदनपोखराको स्टुडियोमा पस्न भने सजिलो थिएन । त्यहाँ पस्नका लागि उसले टाउको मात्र लुकाएर पुग्दैनथ्यो, जिउ नै निहुर्‍याउन पर्थ्याे । इव पनि अब यस धरतीमा रहेन । डेनमार्कमा उसकाे पनि चोला उठेको वर्षाैँ भइसक्यो । रेडियो मदनपोखरा जस्तो स्वप्निल परियोजनामा पाल्पा बाहिरबाट गएर जोडिएका यादव, पवन र इवलाई नसम्झँदा रेडियो मदनपोखरासितको मेरो सम्झना अधुरै रहन्छ । र यो बेला रेडियो मदनपोखराको सपना देख्ने विनयकुमार कसजू पनि अब सम्झनामा मात्र हुनुहुन्छ ।

समय रोकिँदैन । तर समयले मानिसको यात्रालाई रोक्दो रहेछ । मानिसको यात्रामा विश्राम लगाउने समयलाई पनि संस्थाहरूको गतिशीलताले भने निरन्तरता दिँदो रहेछ । मदनपोखरा त्यसको एउटा उदाहरण हो । किनकि बितेका २५ वर्षमा रेडियो मदनपोखराले आफूलाई अत्यन्त गतिशील संस्थाका रूपमा उभ्याएको छ । यो गतिको निरन्तरता, रेडियो मदनपोखराको श्रीवृद्धि, सुख्याति र सफलताको एउटा अंश हुन पाएकोमा म आफूलाई धन्य ठान्दछु । रेडियो मदनपोखरालाई रजत जयन्तीको मङ्गलमय कामना !

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया