एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ – कैलालीकाे भजनी नगरपालिका वडा नम्बर ८ जनकपुरकी लालदेवी चौधरीको जन्म नै बुबाआमा कमैया बस्दा अर्काको घरमा भयो । त्यति बेला उहाँका बुबाआमा परिवारको गुजारा चलाउननकै लागि कमैया बस्नु हुन्थ्यो । उहाँहरूको न त जग्गाजमिन थियो, न त घरबास नै । त्यो बेला थारु समुदायभित्र अर्काको घरमा कमैया बस्ने चलन थियो । ‘बुबाआमा कमैया बस्दा अर्काको घरमा जन्म भयो, अर्काको घरमा नै हुर्किएँ, विवाह पनि कमैयासँगै भयो, छोराछोरी भए, कमैया आन्दोलनमा सङ्घर्ष गर्दागर्दै हजुरआमा भइसकेँ अब त बुढेसकाल लाग्न लाग्यो’, लालदेवीले भन्नुभयो । कमैया मुक्तिको आन्दोलनमा सङ्घर्ष गर्दागर्दै लालदेवीको उमेरले पाँच दशक पार गरिसकेको छ, मुक्तिपछि पनि सङ्घर्षले छोडेको छैन ।
सरकारले कमैया प्रथा अन्त्य घोषणा गरेको २४ वर्ष पुगेको छ । २०५७ साल साउन २ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले दास प्रथाका रूपमा रहेको कमैया प्रथा अवैध भएको ठहर गर्दै कमैया मुक्तिको घोषणा गरेको थियो । कमैया मुक्त घोषणा हुँदा लालदेवी निकै खुशी हुनुभएको थियो तर त्यो खुशी अहिले निराशामा बदलिएको छ । मुक्त कमैयाको उचित व्यवस्थापन नहुँदा उहाँ निराश हुनुहुन्छ । अहिले उहाँसँग लालपुर्जा छ तर जग्गा छैन । आफ्नो समस्या कसैले नसुनिदिएको उहाँको गुनासो छ ।
लालदेवीको जस्तै गुनासो बर्दियाकाे बारबर्दिया नगरपालिका वडा नम्बर १ जमुनियाका ५६ वर्षीय सीताराम थारुको पनि छ । सीताराम पनि पढ्ने बेलामा सानै उमेरदेखि कमैया बस्न बाध्य हुनुभयो । १६ वर्ष कमैया बस्नुभएका सीतारामको पाँच जनाको परिवार ज्याला मजदुरीकै भरमा चलेको छ । दुःख गरेर बनाएको सानो घर पनि १० वर्षअघि आएको बाढीले बगायो ।
सीताराम भन्नुहुन्छ, ‘कमैया मुक्त घोषणा गरेसँगै निकै दुःख गरेर घर बनाएको थिएँ, बबई नदीको किनारमा भएकाले त्यो घर बाढीले बगायो । मजदुरी गरेर परिवार पाल्न ठिक्क छ, घर बनाउन सकिँदैन, अहिले निकै गाह्रो भएको छ ।’ मुक्त कमैयाहरूलाई जग्गा उपलब्ध गराउँदा जोखिमयुक्त ठाउँमा दिएकाले समस्या भएको उहाँ बताउनुहुन्छ । लालदेवी र सीतारामको जस्तै पीडा धेरै मुक्त कमैयाको छ । मुक्ति घोषणा गर्दा सरकारले कमैयाको ऋण मिनाहा गर्ने, घर बनाउन जग्गा र आवश्यक काठ उपलब्ध गराउने र पुनर्स्थापनाका लागि उचित व्यवस्थापन गर्ने भनेको थियो ।
सरकारले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार पाँच सय नौ जना मुक्त कमैयालाई परिचय वितरण गरेको थियो । जसमध्ये २५ हजार एक सय ९५ जनाले दुई धुरदेखि पाँच कठ्ठासम्म जग्गा पाएका छन् । छ सय ६१ जनासँग पुर्जा छ तर जग्गा छैन । दुई हजार तीन सय ७५ जना मुक्त कमैयाको पुनर्स्थापना हुनै बाँकी छ ।
मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले मुक्त कमैयाको पुनर्स्थापनामा तीनै तहका सरकार जिम्मेवार नबन्दा समस्या समाधान हुन नसकेको बताउनुभयो । उहाँले सङ्घीय सरकारले निर्देशनसहितको नीतिगत व्यवस्था गर्नुपर्ने तथा प्रदेश र पालिकाले पनि मुक्त कमैयाहरूको समस्या समाधानका लागि समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
मुक्त कमैयाको भोट र कमैया आन्दोलनबाट धेरैजना पालिका, प्रदेश र सङ्घीय सरकारको नेतृत्वमा पुगेका छन् । तर मुक्त कमैयाको समस्या समाधान हुन सकेको छैन । मुक्त कमैया आन्दोलनको नेतृत्व गर्नुभएका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीले आफू मुक्त कमैयाको पुनर्स्थापनाका लागि निरन्तर लागिरहेको बताउनुभयो । उहाँले अबको नयाँ सरकारसँग पनि अझै समन्वय गरेर मुक्त कमैयाको मुद्दा सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीता बि.के. उज्यालो सहकर्मी हुनुहुन्छ ।