चितवनमा मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी

 साउन २०, २०८१ आइतबार १५:११:३३ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवनको नारायणगढ बजार नजिकै मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी भएको छ । आज बिहान नारायणगढको मानव बस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का छ । बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना छ ।

नारायणी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । यो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्कोतर्फ नारायणी नदी पर्दछ । पाइला हेर्दा माउबाट भर्खरै छुटेर शिकार गर्न शुरू गरेको बाघ हुनसक्ने अनुमान छ ।

आज बिहान हिँड्ने क्रममा भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । घाइते हुनुभएका श्रेष्ठको तीन ठाउँमा हड्डी भाँचिएको छ भने पाँच वटा दाँत फुत्केर घाँटीमा पुगेका छन् । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया