तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जना...
पुस ७, २०८१ आइतबार
आज नागपञ्चमी पर्व, नाग अर्थात् सर्पको विशेष पूजा गरेर नागपञ्चमी मनाइएको छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको पूजा गरिन्छ । नेपाली हिन्दू र बौद्ध धर्म तथा परम्परामा सर्पलाई पवित्र मानिन्छ । भगवान् विष्णु शेषनागको शय्यामा सुत्ने र भगवान् शिवले नागमाला लगाउने पौराणिक आख्यान छ । साथै समुद्र मन्थन गर्दा वासुकिनागको नेती बनाइएको कथा पनि पुराणहरूमा पाइन्छ । धर्ममा पवित्र मानिएको सर्पको महत्त्व प्रकृतिमा पनि विशेष रहेको आधुनिक वैज्ञानिक अध्ययनहरूले देखाएका छन् ।
पारिस्थितिकीय प्रणालीलाई सन्तुलित बनाउन
सर्पले पर्यावरण चक्रलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । सर्पले जिउँदा जीवजन्तुलाई मारेर खान्छ । यसबाट प्रकृतिमा चाहिनेभन्दा बढी हुने कतिपय जीवजन्तुको सङ्ख्या घटाउन सर्पको भूमिका हुन्छ । सर्पले सर्पदेखि अरू धेरै प्रकारका जीवजन्तु खान्छ । यस्तै सर्प चिल, लाटोकोसेरो, मयूर, जङ्गली बिरालो जस्ता जीवजन्तुको आहारा पनि बन्छ । अध्ययनअनुसार एक वर्षमा एक जोडी मुसाबाट १५ सय मुसा जन्मिन्छन् । यसरी अत्यधिक सङ्ख्या विस्तार गर्ने मुसालाई दुलोभित्रै पसेर खोजी खोजी मार्ने भएकोले मुसाको नियन्त्रणमा सर्पको भूमिका ठूलो हुन्छ । यसरी सर्पका कारण प्रकृतिलाई फाइदा छ, त्यो भनेको मानिसलाई पनि फाइदा हो । वैज्ञानिकहरूले ५० प्रतिशतसम्म अन्न मुसाका कारण नष्ट हुने अनुमान गरेका छन् । यदि सर्प भएन भने मुसाको सङ्ख्या थेगिनसक्नु हुने र मानिसलाई खाद्य सङ्कट आउने वैज्ञानिकहरू बताउँछन् ।
औषधि निर्माणदेखि रोग नियन्त्रणसम्म
मानिसको बारीदेखि भकारीसम्म पुगेर अन्न नष्ट गर्ने मुसादेखि कृषि हानिकारक कीराफट्याङ्ग्राको सङ्ख्या नियन्त्रणका लागि सर्पको भूमिका महत्त्वपूणर् हुन्छ । योसँगै विभिन्न महामारी नियन्त्रणदेखि कडा रोकको औषधि बनाउनसमेत सर्प उपयोगी रहेको सर्पविज्ञ डा. देवप्रसाद पाण्डे बताउनुहुन्छ ।
आधुनिक उपचारपद्धतिमा विश्व स्वास्थ्य सङ्गठनले सिफारिश गरेका र कममात्रै नकारात्मक प्रभाव पार्ने अचूक औषधिहरू सर्पबाट बन्छन् । क्यान्सर भएका बिरामीको दुखाइ कम गर्ने औषधि सर्पको विषबाट बन्छ । गोमन सर्पको विषबाट कोब्रोक्सिन भन्ने औषधि बनेको छ, त्यसले दुखाइ कम गर्छ । शरीरबाट रगत बाहिर निस्कँदा रोक्न वा शरीरमा रगत जम्दा खुलाउने उपचारमा प्रयोग गरिने औषधि पनि सर्पको विषबाट बन्छ । सर्पदंशकै उपचारमा प्रयोग हुने एन्टी-स्नेक भेनम पनि सर्पको विषबाट बनाइन्छ ।
आधुनिक स्वास्थ्य विज्ञान मात्र नभई परम्परागत आयुर्वेदिक र होमियोपेथिक उपचारपद्धतिमा पनि सर्पका विभिन्न अङ्गहरूको विशेष महत्त्व छ । सर्पको बोसो, काँचुली, रगत र विष आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ । बाली पाक्दै गरेको खेतमा काँचुली जलायो भन्ने बालीमा रोग लाग्दैन भन्ने विश्वास पाइन्छ । हैजा भएको गाईवस्तुको गोठमा काँचुली बाल्यो भने अरू जनवारहरूलाई त्यो सर्दैन भन्ने मान्यता छ । यस्तै विभिन्न महामारी फैलाउन सहयोग गर्ने मुसालगायतका जीवजन्तुलाई नियन्त्रण गरी महामारी फैलनबाट रोक्न पनि सर्पको भूमिका रहेको सर्पविज्ञ पाण्डे बताउनुहुन्छ ।
महत्त्वपूर्ण भएकैले सर्पको पूजा
शताब्दीयौँदेखि हामीले नागपञ्चमी मनाएर सर्पको पूजा गर्नुको अर्थ सर्पले हामीलाई फाइदा गर्छ भन्ने नै रहेको सर्पविज्ञ एवम् कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा सह-प्रध्यापक डा. देवप्रसाद पाण्डे बताउनुहुन्छ । नागपञ्चमी मनाएर सर्पको पूजा गर्नुको अर्थ हामीले सर्पले हामीलाई फाइदा गर्छ भनेर मानेको हो । सर्पहरू हामीलाई काम लाग्ने मित्र हुन्, यिनीहरू पूजनीय हुन्, यिनीहरूलाई हामीले जोगाउनुपर्छ भन्ने जानेर नै परापूर्वकालका ऋषिमुनिहरुले सर्पको पूजा गर्ने परम्परा चलाएका सर्पविज्ञ पाण्डेको विश्वास छ । हिन्दू र बौद्ध दुवै धर्ममा सर्पसँग जोडिएका धेरै कथाहरू छन् । यस्ता कथामा सर्पको धेरै महत्त्व रहेको चर्चा सुनिन्छ ।
मानव–सर्प द्वन्द्व घटाउनु आवश्यक
सर्प धर्ममा पूजनीय र प्रकृतिमा महत्त्वपूर्ण हुँदाहुँदै पनि सर्प–मानव द्वन्द्वका घटना बढिरहेका छन् । नागपञ्चमीकै अघिल्लो दिन अर्थात् बिहीवार मात्रै पनि घरमै सुतिरहेको बेला सर्पले टोकेर बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ मा नौ महिने शिशु र ११ वर्षकी बालिकाको ज्यान गयो । नेपालमा तराई भेगमा मात्रै हरेक बर्खायाममा झन्डै ४० हजार मानिसलाई सर्पले टोक्ने गरेको र सर्पले टोकेकामध्ये झन्डै तीन हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क पाइन्छ । तथ्याङ्कअनुसार नेपालमा मानव–वन्यजन्तु द्वन्द्वभन्दा मानव–सर्प द्वन्द्व गम्भीर समस्याका रूपमा देखिन्छ । यसैले सर्पदेखि धेरै मानिस डराउँछन् । तर आवश्यकता र खतराको दृष्टिबाट आगो र सर्प उस्तै रहेका सर्पविज्ञ देवप्रसाद पाण्डे बताउनुहुन्छ । आगोलाई राम्रोसँग प्रयोग गर्न जानेन भने त्यो विध्वंशकारी हुन्छ । तर आगो भएन भने मानिसको अस्तित्व नै खतरामा पर्छ । त्यस्तै सर्पले पर्यावरणलाई सन्तुलिन राख्छ तर मानिसलाई टोक्यो र विष शरीरमा पस्यो भने मानिसको ज्यानै जान सक्छ । तर मानिस सर्पको आहारा नभएकोले बच्ने उपायहरू अवलम्बन गरेमा टोकाइबाटै बच्न सकिने पाण्डे बताउनुहुन्छ । खतरा महसुस नगरेसम्म सर्पले आक्रमण नगर्ने उहाँको भनाइ छ ।
नेपालमा अहिलेसम्म ८१ प्रजातिका सर्प फेला परेका छन् । तर पर्याप्त अध्ययन नभएकोले सङ्ख्या बढी हुन सक्ने विज्ञहरू बताउँछन् । नेपालमा अहिलेसम्म फेला परेका ८१ प्रजातिका सर्पमध्ये १८ प्रजातिका सर्प विषालु छन् । सर्प मानिसको आहारा प्रजातिमा पर्दैन तर ओछ्यानमै पुगेर टोकेका घटनाहरू भइरहेका छन् । यसैले सरकारले सर्पदंशका घटना हुनै नदिन र भएमा तत्काल उपचारको व्यवस्थासहित मानव–सर्प द्वन्द्व घटाउने गरी काम गर्नुपर्ने हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।