भूकम्पको केन्द्रबिन्दु रहेको बाजुराको गोत्रीमा १ सय २३ वटा घरम...
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – पाँचथरको फिदिम नगरपालिकामा रहेको हेवा खोलामा जलविद्युत् आयोजना बनेपछि हिउँदयाममा पानी नै सुक्छ । आयोजनाले पानी अन्यत्र फर्काउँदा प्राकृतिक बहावमा पानी नै सुक्ने गरेको फिदिम नगरपालिका वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र लावती बताउनुहुन्छ । पानी सुकेपछि माछा लगायतका जलचर बाँच्ने कुरै भएन । लावती भन्नुहुन्छ, ‘पहिले माछा मारेर कतिपयको दैनिकी चल्थ्यो तर अहिले त हामी लिम्बुहरूको संस्कारमा आवश्यक माछाका भुरा नै पाइँदैन ।’
सोलुखुम्बुको लिखुखोलामा पनि जलविद्युत् आयोजनाले पानी सुकाइदिएको छ । भकाञ्जेको सिरानदेखि फेदीमा रहेको किञ्जाखोलासम्मै लिखुखोलाको पानी हिउँदमा सुक्छ । पहिले खोला बग्ने ठाउँमा १० प्रतिशत पानी छाड्ने भने पनि हिउँदमा पूरै सुक्खा हुने गरेको लिखुपिके गाउँपालिका–४ भकाञ्जेका सन्तमान थामी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘वर्षायाममा त खोलामा पानी बग्छ तर हिउँदमा त सुक्खा बगर हुन्छ, पहिले माछा भेटिन्थ्यो तर अहिले त पानी नै छैन ।’
स्थानीय बासिन्दा हिउँदमा खोला सुक्दा माछा मासिएको बताउँछन् । यसअघि माछा मारेर खाने भएकोले उनीहरूले माछाको मात्रै कुरा गरे पनि त्यस्ता नदी किनारको जैविक विविधता नै सङ्कटमा परेको पाइन्छ । माछासँगै अरू जलीय, स्थलीय जीवहरू समस्यामा पर्दै गएका छन् ।
नदीहरूमा पाइने प्राणीहरूमध्ये माछा प्रमुख हो । नेपालको नदी प्रणालीमा स्वदेशी २ सय ४० र विदेशी १६ गरी २ सय ५६ प्रजातिका माछा भेटिएका छन् । स्वदेशी प्रजातिका माछा समुद्री सतहभन्दा ६० मिटरदेखि ३ हजार ३ सय २३ मिटर उचाइसम्म पाइन्छ । भकाञ्जेका थामी यसअघि लिखुखोलामा चर्चित असला माछा अहिले देखिनै छाडेको बताउनुहुन्छ ।
पानीको सङ्कटदेखि पहिरोको चपेटासम्म
जलविद्युतलाई वातावरण अनुकूल विकासको पर्याय मानिन्छ । तर सावधानी नअपनाउँदा आयोजना स्थलको वातावरणमा समस्या बढिरहेको गुनासो सुनिने गरेको छ । सोलुखुम्बुको लिखुखोलामा जलविद्युत आयोजनाका लागि सुरुङ खनेपछि केही परम्परागत मुहान सुकेका स्थानीय बासिन्दाको गुनासो छ । केही मुहान सुके भने नयाँ ठाउँमा पानी देखिएर पहिरो समेत गएको लिखुपिके गाउँपालिका–४ भकाञ्जेका सन्तमान थामी बताउनुहुन्छ ।
आयोजनाका लागि खोलाको धार नै फर्काउँदा प्राकृतिक बहावमा पानी सुक्ने, कतिपय ठाउँमा सुरुङ लगायतका संरचना बनाउँदा पानीका पुराना मुहान सुक्ने, जङ्गल विनाश, पहिरोको जोखिम लगायतका समस्याहरू बढिरहेका छन् । धेरै आयोजनाले निर्माणका क्रममा सावधानी नपनाउँदा पानीका मुहान सुक्ने, पहिरोको जोखिम बढ्ने लगायतका समस्या देखिएको स्थानीय बासिन्दा बताउँछन् ।
मानवीय मूल्य मान्यतामा पनि असर
सदियौँदेखि बगिरहेको ठाउँमा खोला सुक्दा त्यहाँको जैविक विविधतामा असर गर्नु स्वाभाविकै हो । यस्तै पहाडी तथा हिमाली क्षेत्रमा गरिने निर्माण कार्यले प्रकोपको जोखिम पनि बढाउँछ । सँगै यसले मानवीय मूल्य मान्यतामा पनि असर गरेको छ । मानिसको आयआर्जनको बाटो रोकिनु, सिँचाइ, खानेपानी लगायतका समस्यासँगै धार्मिक तथा सांस्कृतिक समस्या पनि देखिन थालेका छन् ।
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र लावती हेवा खोलामा पानी सुक्दा हिउँदमा शव जलाउनै समस्या हुने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मान्छे मरेपछि जलविद्युत् आयोजनामा फोन गरेर पानी छाडिदेऊ भन्नुपर्छ । समयमा छोड्दैनन्, छोड्दा पनि कम छोड्छन् । कतिपय समयमा त चिता पखाल्न पानी समेत पाइँदैन, यसले हाम्रो संस्कारमा असर परिरहेको छ ।’
म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष थकबहादुर पाइजा पनि आयोजनाले पानी अन्यत्र फर्काउँदा प्राकृतिक समस्यासँगै मानिसको धार्मिक–सांस्कृतिक अवस्थामा सङ्कट आएको बताउनुहुन्छ । संरक्षित क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने भएमा मासिक बहावको न्यूनतम ५० प्रतिशत र यी क्षेत्रहरू छोएर बग्ने नदीहरूमा १० प्रतिशत पानी तल्लो तटमा निरन्तर खुला हुनुपर्ने प्रावधान छ । सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूले यो व्यवस्था पालना नगरेको र सम्बन्धित निकायहरूबाट उचित अनुगमन र कारबाही नभएको स्थानीय बासिन्दाको गुनासो छ ।
आयोजना नै नबनाउन माग
सङ्खुवासभाको भोटखोला गाउँपालिकाले वरुण नदीमा जलविद्युत् आयोजना बनाउन नदिने भनेर निर्णय नै गरेको छ । गाउँ कार्यपालिकाको १३ औँ बैठकले गरेको निर्णयमा पालिकाभित्र क्रियाशील सबै राजनीतिक दलको समर्थन छ । गाउँपालिकाका बासिन्दाको मागअनुसार गाउँ कार्यपालिकाबाटै निर्णय गरेर विद्युत् विकास विभाग लगायत प्रदेश र पालिकामा पत्राचार गरेको गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाले बताउनुभयो । उहाँकाअनुसार वरुण नदीमा रहेको जैविक विविधता जोगाउन र धार्मिक आस्थाको रक्षाका लागि गाउँपालिकाले नदीलाई प्राकृतिक अवस्थामै छाड्ने निर्णय गरेको हो ।
यस्ता माग पछिल्लो समयमा धेरैतिर आउन थालेका छन् । सङ्खुवासभाकै मादी नगरपालिका वडा नम्बर ८ को लिखुवाखोला दोभानमा जलविद्युत् आयोजना नबनाउन स्थानीय बासिन्दाले माग गरेका छन् । लिङथेप कल्याणकारी समितिले विज्ञप्ति निकालेर धार्मिक आस्था र जैविक विविधताको रक्षा गर्न माग गरेको छ ।
यस्तै म्याग्दीको रघुगङ्गा–७ चिमखोलाका बासिन्दाले बगर खोलामा जलविद्युत् आयोजना नबनाउन माग गर्दै गएको वर्ष आन्दोलन नै गरे । रघुगङ्गा–७ का वडाअध्यक्ष थकबहादुर पाइजा अरू खोलामा बनेका आयोजनाबाट प्रभावित भएकाले गाउँलेहरूले बगर खोलालाई सुरक्षित राख्न माग गरेका बताउनुहुन्छ ।
प्रकृति र मानवीय मूल्य मान्यतामा परेको असर चिन्ताजनक
पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. मुकेशराज काफ्ले जलविद्युतको विकाससँगै प्रकृति र मानवीय मूल्य मान्यतामा परेको असर चिन्ताजनक रहेको बताउनुहुन्छ । वातावरण अनुकूल विकासको पर्याय मानिएको नवीकरणीय ऊर्जाको प्रमुख स्रोत जलविद्युत् आयोजनाका कारण परेको प्रभावबारे बहस आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
डा. काफ्ले भन्नुहुन्छ, ‘जलविद्युत् विकासले जैविक विविधता, जलीय तथा स्थलीय प्राणी र पक्षीलाई असर गर्छ । पदयात्रा मार्ग, जलयात्रा मार्ग र स्थानीय सांस्कृतिक मूल्य–मान्यतामा पनि असर पुग्छ । यस्तो असर र स्थानीय पर्यावरणमा पार्ने नकारात्मक प्रभावबारे पर्याप्त बहस, छलफल भएको देखिँदैन । अब छलफल नगरे समस्या विकराल बन्न सक्छ । समयमै समाधानको खोजी गर्नुपर्छ ।’
जलविद्युत् आयोजनाहरू हरित विकासका पर्याय मानिए पनि यसका अनेकौँ पर्यावरणीय समस्याहरू देखिन थालेका छन् । आयोजना निर्माणले वन कटानी तथा वन्यजन्तु र जलप्राणीको वासस्थान विनाश गरेको र पारिस्थितिक प्रणालीमा गम्भीर असर परेको देखिन्छ । जलविद्युत् आयोजनाहरूले नेपालको आधाभन्दा बढी जैविक विविधतापूर्ण क्षेत्र प्रभावित हुने देखिएको प्राध्यापक डा. काफ्ले बताउनुहुन्छ ।
अहिले संरक्षित क्षेत्रमा ठूला जलविद्युत् आयोजनाहरू कम छन् । तर प्रस्तावित योजनाहरू रहेकाले भविष्यमा यस्तो क्षेत्रमा आयोजनाहरूको सङ्ख्या अझ बढ्ने देखिन्छ । त्यसैले समयमै पर्यावरणीय र मानवीय मूल्य मान्यतामा परेको असरबारे ख्याल गर्नुपर्छ ।
जलविद्युत् विकासको अपरिहार्यतामा विवाद छैन तर यसको अनियन्त्रित विकासका कारणले हुने वातावरणीय प्रतिकूलता बेवास्ता गर्न हुँदैन । जैविक विविधता, स्थानीय भू–गर्भ, जलीय–स्थलीय प्राणी र वन्यजन्तुको वासस्थान रक्षामा ध्यान दिनुपर्छ । सांस्कृतिक र सामाजिक मूल्य–मान्यताको जगेर्नासहित अन्य वातावरणीय पक्षहरूमा खलल नपुर्याइकन गरिने विकास मात्र दिगो हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।