काठमाण्डौको टुँडीखेलमा सेनाको हर्षबढाइँ कार्यक्रम
असोज २४, २०८१ बिहिबार
काठमाण्डाै – कामको सिलसिलामा काठमाण्डौ आउनुभएका बाराको बारागढी गाउँपालिकाका अजय चौधरी सुन्धाराको आकाशे पुलमा उभिएर धरहरा नियालिरहनुभएको छ । ‘पहिलेको धरहराभन्दा धेरै सुधार र राम्रो देखिएको छ’, धरहरा हेर्दै उहाँले भन्नुभयो, ‘छिटो बने हुन्थ्यो, कहिले चढौँ जस्तो भइरहेको छ ।’
सर्लाही घर भई बौद्ध बस्ने संस्कृति लामा धरहरालाई पृष्ठभूमि बनाएर सेल्फी खिच्दै हुनुहुन्छ । ‘काठमाण्डौ उपत्यकाबाहिर हुनेलाई धरहरा कस्तो बन्यो भन्ने हुन सक्छ । त्यसैले फोटो खिचेर फेसबुकको स्टोरीमा राख्छु’, संस्कृतिले भन्नुभयो । संस्कृतिले पुरानो धरहरा पनि चढ्नुभएको छ । नयाँ धरहरा पहिलेको भन्दा अग्लो, फराकिलो र आकर्षक भएकाले उहाँलाई धरहराको माथि पुगेर काठमाण्डौ नियाल्न मन छ । ‘धरहरा बनेर खुल्ने बित्तिक्कै चढ्न आउँछु’, उहाँले भन्नुभयो, ‘धेरै वर्ष अगाडि पुरानो धरहरा पनि चढेको थिएँ, त्यति बेलाको धरहरा कस्तो थियो भन्ने बिर्सिसकेँ तर अहिलेको जस्तो आकर्षक चाहिँ थिएन । अहिले बाहिरी संरचना एकदम राम्रो बनेको छ ।’
धरहरा नजिकै भेटिनुभएका ओखलढुङ्गाका अबिन घिमिरेलाई धरहरा चढ्न नपाइने हो कि भन्ने चिन्ता छ । ‘नयाँ धरहरामा लिफ्ट हालेको छ भन्ने सुनेको छु, लिफ्टबाट त अवश्य चढ्न सक्छु’, घिमिरेले भन्नुभयो, ‘पहिलेको र अहिलेको धरहराको डिजाइन हेर्दा एउटै छ । पहिलेको धरहरा हाम्रा पुर्खाले बनाएकाले उत्सुकता हुन्थ्यो तर अहिले त्यो जति महत्त्व नहोला कि भन्ने लाग्छ ।’
गएको साउन १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा छिटो सञ्चालन गर्न कर्मचारीहरूलाई निर्देशन दिएपछि अहिले धरहराको चर्चा यसैगरी बढ्न थालेको छ । धरहरा वरपर पुग्नेहरू कोही फोटो र भिडियोमा रमाइरहेका हुन्छन् भने कोही कहिलेदेखि चढ्न पाइन्छ भनेर सोधीखोजी गरिरहेका भेटिन्छन् ।
धरहरामा अब के–के काम बाँकी छ ?
धरहराको मुख्य संरचना अर्थात् टावर ठड्याउने काम तीन वर्षअघि २०७८ सालको वैशाख ११ गते नै सकिएर उद्घाटन भएको हो । तर नयाँ धरहरामा टावरबाहेक पनि बगैँचा, पानीको फोहोरा, पार्किङ, मौलिकता झल्किने खालका प्रतिक्षालय, सङ्ग्रहालय लगायतका संरचना हुनेछन् । अहिले टावरभित्र बिजुली जोड्नेसँगै अरू संरचनाको काम भइरहेको छ ।
अहिलेसम्म धरहरामा ढलान र भुइँ सम्याउने काम सकिएको छ । धरहरा चढ्नका लागि बनाइएको विद्युतीय स्वचालित भर्याङ अर्थात् स्कालेटरको परीक्षण लगायतका काम भइरहेको छ । धरहरा छेउमै बनिरहेको सङ्ग्रालयमा भुइँ सम्याउने अर्थात् फ्लोरिङ र सजावटको काम चल्दैछ । बगैँचा, स्वचालित पानीको फोहोरा निस्कने फाउन्टेनको निर्माण सकिएको छ भने फाउन्टेनमा पानी हाल्न मात्र बाँकी छ ।
यस्तै धरहरा वरपर बुट्टा कुँदिएको मौलिकता झल्काउने प्रतिक्षालय पनि बनेका छन् । अहिले त्यसमा भुइँको काम हुँदैछ । पहिले धरहरा वरपर पार्किङको समस्या हुन्थ्यो तर अहिले तीन तलाको पार्किङ बनेको छ । त्यहाँ अहिले बिजुली नहुँदा पनि उज्यालो बनाउने र ताजा हावा प्रवाह गर्न मिल्ने उपकरण जडानको काम भइरहेको छ ।
पहिलेकोभन्दा अहिलेको धरहरा नयाँ प्रविधिबाट बनाइएको छ । धरहराको जमिनको सतहभन्दा तल दुई तला रहेको छ । त्यो व्यावसायिक परियोजनका लागि प्रयोग हुनेछ ।
जमिनको सतहभन्दा मुनि दुई तलामा ओहोरदोहोर गर्नका लागि विद्युतीय स्वचालित भर्याङ राखिएको छ । स्वचालित भर्याङबाट तल गएपछि धरहराको जमिनभन्दा दुई तलामुनि पुगिन्छ । त्यसपछि बल्ल शुरु हुन्छ धरहरा चढ्ने भर्याङ । भुइँतलाबाटै लिफ्टको पनि सुविधा छ । अहिले लिफ्टलाई बिजुली जाँदा पनि स्वचालित तरिकाले चलाउन मिल्ने गरी जेनेरेटर जडानको काम हुँदैछ । बाहिरबाट देखिने धेरै संरचना बने पनि भित्री काम जस्तै– बिजुली, सजावट, प्रयोग हुने सामाग्रीको सुरक्षा लगायतका काम भइरहेको छ ।
'जमिनमुनि गर्नुपर्ने काम धेरै थियो, अहिले त्यो काम सकिएको छ,' शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) प्रमुख कोषनाथ अधिकारीले भन्नुभयो, 'काम सकिएपछि पनि धरहरा कसको मातहत सञ्चालन हुने भन्ने स्पष्ट भइसकेको छैन ।'
पहिले धरहरा पाँच रोपनी जग्गामा मात्रै फैलिएको थियो । अहिले ४२ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । धरहरा निर्माण कार्यको अन्तिम म्याद असोज मसान्तसम्म छ । धरहरा निर्माणमा अब म्याद थप्ने प्रावधान नभएकाले निर्माण व्यवसायीले जसरी पनि काम समयमा नै सक्नुपर्छ । असोज मसान्तमा काम सकियो भने त्यसपछि धरहरा सञ्चालनको औपचारिक मिति तय हुनेछ ।
नयाँ धरहरा निर्माण सकिनै लागे पनि २०७२ सालको भूकम्पले ढलेको पुरानो धरहराको संरक्षणका काम र सुन्धारा पुनर्निर्माण अझै शुरू भएको छैन । भत्किएको पुरानो धरहराको बाँकी भागलाई त्रिपालले छोपेर राखिएको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइले पुरातत्त्व विभागलाई पुरानो धरहरालाई कसरी संरक्षण र सुन्धारा पुनर्निर्माण गर्ने भनेर डिजाइनसहितको प्रस्ताव माग गरेको छ । पुरातत्त्व विभागले प्रस्ताव पठाउन बाँकी छ ।
नयाँ धरहराको विशेषता
धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र समग्रमा २५ तलाको छ । जमिनमुनि दुई तलाको भूमिगत संरचना बनेको छ । जमिन माथिबाट गजुरसहित धरहराको उचाइ ८३ दशमलव ८५ मिटर छ । भूमिगत तलासहित ९२ दशमलव २५ मिटर हुन्छ । धरहराभित्र दुई वटा लिफ्ट राखिएको छ । लिफ्टमा एकपटकमा १० जनाले यात्रा गर्न सक्छन् । हिँडेरै जानेहरूका लागि भर्याङसमेत छ ।
धरहराबाट उपत्यकाको मनोरम दृश्य हेर्नका लागि २०औं तलाबाहिर २ दशमलव ५ मिटर चौडाइको बार्दली बनाइएको छ । २२औं तलामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुई तले भूमिगत संरचनामा दुई वटा विद्युतीय स्वचालित भर्याङबाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विकाश चापागाईँ उज्यालाेमा कार्यरत हुनुहुन्छ।