गिद्धलाई हुर्कन कठिन, बाँच्न झनै कठिन

 भदौ २२, २०८१ शनिबार १३:४८:३५ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – तीन वर्षअघि मुग्लिन पोखरा सडक विस्तारका क्रममा सानो खैरो गिद्धको गुँड रहेको रुख काटिएपछि त्यसको निकै विरोध भयो । यस वर्ष कञ्चनपुरमा डङ्गर गिद्धका एक सय १४ वटा गुँड भेटिएको खबर सबैजसो सञ्चारमाध्ययममा छाए ।

पन्छी संरक्षणकर्मीहरु गिद्धको गुँडलाई विशेष चासोका साथ हेर्छन् । यसैले गुँड भेटिएको, बचेरा हुर्काएको वा बचेरा हुर्काउन नसकेको कुरा पनि समाचारको रुपमा आइरहन्छ । यसको कारण चार दशकअघि झण्डै साढे १० लाखको सङ्ख्यामा रहेका गिद्ध अहिले २० हजार हाराहारीमा झर्नु र गिद्धलाई बचेरा हुर्काउन हुने कठिनाई हो । 

झण्डै साढे दुई महिना ओथारो

अरु चराको तुलनामा गिद्धलाई हुर्कन निकै कठिन हुन्छ । असोज महिनादेखि गुँड बनाउन शुरु गर्ने गिद्धलाई बचेरा हुर्काउन जेठसम्म पर्खनुपर्छ । ओथारो बस्नुपर्ने समय नै ५० देखि ७० दिनको हुन्छ । बच्चा कोरलेको झण्डै तीन महिनामा मात्रै उड्न सक्ने हुन्छ । 

यस्तै धेरैजसो प्रजातीका गिद्धले एक सिजनमा एउटा मात्रै अण्डा पार्ने भएकोले गिद्धको बचेरा हुर्कन कठिन रहेको नेपाल पन्छी संरक्षण सङ्घ अन्तर्गत गिद्ध संरक्षण कार्यक्रम प्रवन्धक अंकित बिलास जोशी बताउनुहुन्छ ।

औषतमा ३५ देखि ४० वर्षको आयु हुने गिद्ध झण्डै चार वर्षको उमेरमा प्रजनयोग्य हुन्छन् । चार वर्षको उमेरमा बनाएको जोडी छुट्टिँदैन । उनीहरुले गुँड पनि प्रायः एकै ठाउँमा बनाउँछन् । सरभर एक पटक बनाएको गुँड अर्को वर्ष पनि मर्मत गरेर प्रयोग गर्छन् । तर बच्चा हुर्काउन सकेन भने अर्को वर्ष त्यो गुँड छाड्छन् । बच्चा हुर्काउनका लागि गुँड बनाउनदेखि ओथारो बस्न समेत भालेपोथी दुवै खटिने जोशी बताउनुहुन्छ । 

नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये ६ प्रजातिले मात्रै यहाँ गुँड बनाएर बच्चा हुर्काउँछन् । तीन प्रजाति प्रजनन बाहेकको समयमा बसाइँसराइ गरेर आउने हुन् । गुँड बनाउने ६ प्रजातिमध्ये हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउँछ । डङ्गर, सानो खैरो र सुन गिद्धले रुामा गुँड बनाउँछ । रुखमा गुँड बनाउनेले सिमल, साज, साल, पिपल, सल्लासहितका १३ प्रजातिका रुखमा गुँड लगाएको पाइएको छ ।

गिद्धले गुँड बनाउँदा २–३ फिट लामा हाँगाहरु प्रयोग गरेको पाइन्छ । अण्डादेखि बच्चासम्म गुँडमै लामो समय रहने भएकोले हावाहुरी, चट्याङ, असिना लगायतको जोखिम धेरै हुने नेपाल पन्छी संरक्षण सङ्घ अन्तर्गत गिद्ध संरक्षण कार्यक्रम प्रवन्धक अंकित बिलास जोशी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘झण्डै ७५ दिन त अण्डा कोरल्नै लाग्छ, बच्चा हुर्केपछि झण्डै तीन महिना गुँडमै बस्नुपर्छ ।

यही बीचमा हावाहुरी, चट्याङ र असिना पर्ने समय भएकोले जोगाउन कठिन छ ।’ अण्डा पारेदेखि बच्चा उड्ने नहुञ्जेल भाले र पोथीमध्ये एउटाले गुँड छाड्दैनन् । यसको अर्थ त्यहाँ जोखिम धेरै भएकोले उनीहरुले सुरक्षा दिएका हुन् ।  गिद्धको सफल रुपमा बच्चा हुर्काउने दर औषतमा ७० प्रतिशत छ । बच्चा उडेपछि केही समय भाले पोथीले निगरानी गर्छन् । त्यसपछि बच्चा स्वतन्त्र हुन्छन् । बच्चालाई उड्न सिकाउन पनि गिद्धले धेरै मेहनत गर्छन् ।

उड्न थालेपछि दुर्घटनाको जोखिम 
कतिपय बच्चा उड्न थालेपछि पनि विद्युत प्रशारण लाइन लगायतमा ठोक्किएर मरेका उदाहरण धेरै रहेका गिद्ध संरक्षणकर्मी एवम् पृथ्वीनारायण क्याम्पस पोखराको प्राणीशास्त्र विभागका प्राध्यापक हेमन्त ढकाल बताउनुहुन्छ । 
ढकाल भन्नुहुन्छ ‘विशेषगरी प्रशारण लाइन बनाउँदा गिद्धको वासस्थानबारे ख्याल नगरिँदा भर्खर उडेका बचेराहरु ठोक्किएर मरेका धेरै उदाहरण छन् ।’

कठिनसँग हुर्किएका गिद्ध सानो असावधानीले एकैपटक ठूलो सङ्ख्यामा मर्न सक्छन् । विष मिसाएको सिनो खाएर वा डाइक्लोफेनेक लगायतका औषधि खुवाएका पशुको सिनो खाएर एकैपटक ठूलो सङ्ख्यामा गिद्ध मरेका उदाहरण धेरै छन् । यस्तै गिद्धको गुँड रहेको रुख काट्ने घटनाहरु पनि बढिरहेका भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । 

गिद्ध अपमानित तर महत्त्वपूर्ण 
चराहरूलाई प्रायः सुन्दर शरीर वा सुमधुर आवाजका लागि चिनिने गरिन्छ । तर नाङ्गो तथा लामो गर्धन, भद्दा जिउडाल र चुच्चो भएको गिद्ध सिनो र फोहोरको डङ्गुरमा भेटिन्छ । अशुभ सङ्केतका रूपमा समेत चित्रित गर्ने भएकोले धेरैले गिद्धलाई मन पराउँदैनन् । ‘गिद्ध दृष्टि’, ‘गिद्ध संस्कृति’ जस्ता अपशब्दले पनि गिद्ध प्रति नकरात्मक धारणा रहेको बुझाउँछ । तर वातारणलाई सफा राख्न गिद्धले महत्त्वपूर्ण भूमिका खेलिरहेको गिद्ध संरक्षणकर्मी ढकाल बताउनुहुन्छ । 


अन्य मांसाहारी जीवले जम्मा ३६ प्रतिशत मात्र सडेगलेका मासु र कङ्काल खान्छन् । तर, त्योभन्दा धेरै गिद्धले सडेगलेका मासु र कङ्काल खाएर वातावरणलाई प्रदूषणमुक्त गर्न मद्दत गर्छ । यस्तै गिद्धले महामारी फैलाउन सहयोग गर्ने जङ्गली कुकुर र स्याललाई सिनोसम्म पुग्न रोक्ने काम पनि गर्छ । तर गिद्धको सङ्ख्या घटिरहेको छ ।

नेपालमा सन् १९९० भन्दा अघिसम्म गिद्ध समस्यामा पर्नुमा पशुचौपायलाई खुवाउने डाइक्लोफेनाक औषधि मानिन्थ्यो । सन् २००६ पछि त्यो औषधि प्रतिबन्धित छ । तर यो जस्तै अरु औषधि बजारमा छन् । 


यस्तै सिनोमा विषादी मिसाउने कुराले पनि गिद्ध सङ्कटमा छन् । यसमा चितुवा, बाघ, स्याल लगायतका वन्जयन्तु र मानिसबीचको द्वन्द्वको चपेटामा गिद्ध परेको देखिन्छ । प्रकृतिको कुचिकार भनिने गिद्ध संरक्षणमा औषधि र विषादीसँगै प्राकृतिक वासस्थान, आहारमा कमी र मानवनिर्मित विद्युतीय तारबार लगायत समस्या हुन् । मानिसलाई कुनै हानी नगर्ने तर सिनो खाएर वातावरणलाई सफा राख्ने प्रकृतिको कुचिकार गिद्धलाई जोगाउन सबै सचेत हुनु आवश्यक छ । 

(तस्बिर : गिद्ध संरक्षण कार्यक्रम प्रवन्धक अंकित बिलास जोशी)

अन्तिम अपडेट: असोज २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया